पिक आवरमा मालबाहक सवारी साधानलाई दमौलीमा रोक

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको दमौली बजारमा पिक आवरमा अब मालबाहक सवारी साधान भित्रन नदिइने भएको छ। विहान ९ देखि साढे १० बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मालवाहक सवारी साधान दमौली बजार क्षेत्रमा प्रवेश गर्न रोक लगाइने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिले मंगलबार गरेको एक कार्यक्रमका सहभागिहरु बीच भएको छलफलमा उक्त निर्णय गरिएको हो । यस अघि पनि मालवाहक सवारीलाई बजार प्रवेशको सीमा तोकिएको भए पनि कोरोना संक्रमणका कारण लकडाउन खुलेयता आवतजावतमा कुनै सीमा तोकिएको थिएन ।
इकाई समितिका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले यातायात पिक आवरका समयमा आवातजावत बढ्दै गएपछि यो निर्णय गरिएको बताए । उनले बजारको आगमनमा समस्या नपर्ने गरी समय तोक्न सहमति बनेको बताएका छन् ।
कार्यक्रममा सहभागी प्रहरी तथा ट्राफिक अधिकारीले व्यवसायी आफैंले सहमति गरेर समय दिनु उपयुक्त भएको बताएका छन् । कार्यक्रमका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले बजारको व्यवसाय र मानिसको आवतजावत दुबैलाई सम्बोधन गरेर समय निर्धारण गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा व्यास-२ का वडाध्यक्ष काशिराम श्रेष्ठ, प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेना, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, महासचिव इमकुमार मल्ल, एकाई उपसभापति शुकनारायण मल्ल, सचिव दधिराज घिमिरे, अधिकृत विक्रेता संघका प्रतिनिधि लगायतले यस विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए । ट्राफिक प्रमुख रेशम रानाभाटले व्यवसायीको सहयोग भए पछि नियम लागु गर्न सहजता हुने विश्वास व्यक्त गरेका छन् ।










