तनहुँको म्याग्दे गाउँपालिकाको कोरोना कोषमा २० लाख सहयोग
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाको कोरोना कोषमा २० लाख आर्थिक सहयोग गरिएको छ । सूर्य नेपाल प्रालिले कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापन कोषमा उक्त रकम सहयोग गरेको हो । शुक्लागण्डकी नगरपालिका-७ शेरामा रहेको सूर्य नेपालका कारखाना व्यवस्थापक बाबुराम कार्की, मानव संशाधन विभाग प्रमुख अन्जन दुवाडी र सुरक्षा प्रमुख होमनाथ अर्यालले उक्त रकमको चेक गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनीले कोरोना रोकथामका लागि सहयोग गरेको कार्कीले बताए । काम्पनीले सामाजिक उत्तरदायित्व वहन अन्तरगत गाउँपालिकालाई यस अगाडि एक थान एम्बुलेन्स पनि सहयोग गरेको थियो ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष रानाले कोरोना रोकथाम र परीक्षणका लागि प्राप्त सहयोगले ठूलो सहयोग गर्ने बताइन् । गाउँपालिकाका उपाध्यक्ष घिमिरेले स्रोत साधानमा कमी भइरहेको अवस्थामा सूर्य नेपालले गरेको सहयोग उदाहरणीय रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले कोरोना रोकथामका लागि गाउँपालिका क्रियाशिल रहेको बताउँदै सहयोगप्रति सूर्य नेपाललाई धन्यवाद दिए । कार्यक्रममा गाउँपालिकाको उद्योग शाखा प्रमुख प्रदीप न्यौपाने, योजना शाखा प्रमुख श्रीराम खनाल लगायत सहभागि थिए । यस्तै, सूर्य नेपालले शुक्लागण्डकी नगरपालिकालाई पनि एक थान एम्बुलेन्स सहयोग गरेको थियो ।