नायक पल शाहलाई १२ दिन थुनामा राख्न आदेश
भञ्ज्याङ समाचारदाता/दमौली

जबर्जस्ती करणी अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको थुनामा रहेका नायक पल शाहविरुद्ध १२ दिनको म्याद थप गरिएको छ । प्रहरीले शाहलाई आइतबार अदालत उपस्थित गराएकामा तनहुँ अदालतले १२ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको हो ।
यसअघि फागुन १५ गते शाहविरुद्ध सात दिनको म्याद थप गरिएको थियो । अनुसन्धान प्रक्रिया नसकिएकाले प्रहरीले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्ने बताएको छ ।
शाह प्रहरी हिरासतमा रहेदेखि नै शाहका पक्षमा जिल्ला प्रहरी कार्यालय अगाडि नाराजुलुस भएको थियो । काठमाडौँबाट आएका केही युट्युवरहरुले नारा लगाउँदै शाहका पक्षमा माहोल बनाएका थिए । गृह मन्त्रालय र प्रेस काउन्सिल नेपालले भ्रम फैलाएको भन्दै कारवाही गर्न सिफारिस गरेपछि भने उनीहरुले दमौली छाडेका थिए ।
सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको अभियोगमा पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाइ जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेका छन् ।
त्यस्तै वि.सं. २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ । जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।










