दाताले दिएको जग्गामा टोल तथा आमा समूहको भवन

दमौली : तनहुँको व्यास नगरपालिका–१ गल्भुवेसीमा दाताले दान दिएको जग्गामा स्थानीय नवआदर्श टोल विकास संस्था र नवआदर्श आमा समूहको भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको बुधबार जग्गादाता गंगाकुमारी हड्खलेले उदघाटन गरेकी छन् ।
विसं २०५५ सालमा स्थापित आमा समूह तथा २०६३ सालमा स्थापित टोल विकास संस्थाको भवनकी लागि हडखले तथा छोरा हरि हड्खलेले आमा समूहलाई करिब २५ लाख रुपैयाँ बराबरको जग्गा दान दिएका थिए ।
सो जग्गामा हाल २२ लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको छ । भवन निर्माणका लागि व्यास नगरपालिकाबाट चार लाख ६३ हजार रुपैयाँ, सांसद डा. स्वर्णिम वाग्लेबाट एक लाख रुपैयाँ, टोल विकास संस्थाबाट तीन लाख रुपैयाँ सहयोग भएको थियो ।
बाँकी रकम आमा समुहको कोष, विभिन्न व्यक्तिबाट सहयोग जुटाइएको आमा समुहका कानुनी सल्लाहकार अधिवक्ता डम्बरदेव हडखलेले जानकारी दिए । आमा समूहका अध्यक्ष सीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माणमा जग्गा, नगद सहयोग गर्ने सहयोगदाताहरुलाइ सम्मान गरिएको थियो ।










