भिमादको जनज्योति क्याम्पसमा नेविसंघको प्यानलै विजयी
भञ्ज्याङन्युज

तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा निवेसंघका प्यानले विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनमा १७८ मत प्राप्त गरी विनोद पराजुली विजयी भएका छन् ।
सभापतिका उम्मेदवार अनेरास्ववियुका निषा श्रेष्ठले ९७ मत प्राप्त गरिन् । स्ववियु सचिवमा कल्पना सुनार र कोषाध्यक्षमा अमृत परियार विजयी भएका छन् । सदस्यहरुमा निशा भुजेल, सविता माल, सचिन श्रेष्ठ, इन्द्रावती सार्की र काशिका राना विजयी भएका छन् ।
तनहुँका तीन वटा क्याम्पसमा स्ववियु निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ । सम्पन्न निर्वाचनबाट भिमादको जनज्योति, शुक्लागण्डकीको शहीदकृष्ण र आँवुखैरेनीको आँवुखैरेनी क्याम्पसमा स्ववियु नेतृत्व चयन गरिएको हो ।
यस्तै, त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त क्याम्पसहरुमा आइतबार स्ववियु निर्वाचनका लागि मतदान कार्यक्रम भएपनि तनहुँका पाँच मध्ये दुइ क्याम्पसमा निर्वाचन अनिश्चित बनेको छ ।
व्यास नगरपालिकास्थित आदिकवि भानुभक्त क्याम्पस र शुक्लागण्डकी नगरपालिकाको भानुभक्त बहुमुखी क्याम्पसमा भने निर्वाचन अनिश्चित बनेको हो ।
आदिकवि क्याम्पसले सूचना नै जारी गरी निर्वाचन स्थगित गरेको छ भने भानुभक्तमा नेविसंघ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि निर्वाचन प्रकृया सुरु हुन सकेको छैन ।










