पृथ्वीराजमार्गको दुलेगौंडा-कोत्रे खण्डको दयनीय अवस्था

राजकुमार आले/दुलेगौंडा

सडकमा बग्ने पानीको व्यवस्थापन गर्न नसक्दा सडकमा खाल्टैखाल्टा, यात्रुले सास्ति झेल्दै

केही बर्षदेखि एउटै नियति भोग्दै आएको पृथ्वीराजमार्ग अन्तरगत तनहुँको कोत्रे-दुलेगौँडा खण्ड अस्तव्यस्त छ । बर्षाको पानीले राजमार्गको करिब ४ किलोमिटर दुरीमा तीनसय बढी खाल्डाखुल्टी परेका छन् भने दैनिक दुर्घट्नाको जोखिम बढेको छ । यो सडक खण्डमा यात्रा गर्न निकै नै जोखिमपूर्ण बन्दै गएको छ । शुक्लागण्डकी-७ की सुनिता गुरुङ पोखराबाट खैरेनीटार फिर्किदै थिइन् । देशको मुख्य राजमार्गको यो हालत देख्दा तीन छक्क परिन् । हलेदीको खाल्डाखुल्टीमा कहाँबाट स्कुटर लैजाने भनेर केही बेर अलमलमा परिन् । दोहोरो गाडीको आवतजावत अलि कम भएपछि दुइ खुट्टाले टेक्दै अगाडी बढेकी सुनिताले ज्यानको बाजी राखेर यात्रा गर्नु परेको दुखेसो पोखिन् ।

‘बाटो यस्तो छ, दुबै साइडबाट गाडी आएको बेलामा त मन हक्कानिन्छ, दुर्घटनामा परि ज्यानै जाने अवस्था छ । यो बाटो हेर्ने कल्ले हो ? त्यो त हामीलाई थाहा छैन, उहाँहरुले देख्नु त भएको छ होला ? कि देखेर पनि नदेखेको जस्तो गर्नु भएको हो कि ?’, उनले भनिन्, ‘बाटोको अवस्था देख्दा नेपालमा जे गरे नि चल्छ भनेर बस्नु भएको हो की ? हामी सर्वसाधरण जनतालाई त, गाह्रो छ नि । त्यहि भएर ठुला नेता र हाकिमहरुले आफ्नो परिवार जस्तो, जनता पनि त्यस्तै हो भनेर सोचिदिनुपर्‍यो ।’

त्यस्तै, यहि मार्ग हुँदै दैनिक मुग्लिन-पोखरा आवात जावत गर्ने मिनिबस चालक सोमबहादुर रसाइलीले दुलेगौडादेखि कोत्रेसम्मको बाटो निकै कष्टपूर्ण रहेको बताए । खाल्डाखुल्टीले गर्दा गाडीका इन्जिन बेला बेलामा बिग्री रहन्छन् । उनले भने, ‘सडक मर्मतका लागि सम्बन्धित निकायलाई ध्यान दिनुपर्छ । यो बाटो खास कहिले बन्नेे हो ? के बाटो सधै यस्तो नै हुने हो र ? सम्बन्धित निकायले चाँडै मर्मत गरिदिनुपर्‍यो ।’

कोत्रेका राजु नेपाली कामको लागि दैनिक यही सडकमा ओहोरदोहोर गर्छन् । हिड्नै पर्ने बाध्यताले जोखिमयुक्त यात्रा गर्नुपरेको उनको भनाई छ । उनले भने ‘बाटोको स्थिति निकै दर्दनाक छ, केही समय अगाडी बाटोमा टालटुल गर्ने कार्य भएको थियो, फेरि अहिले उहि अवस्थामा पुगेको छ । बाटोको गुणस्तरीयता नाप्ने इन्जिनियरले कसरी पास गरेको छ ? कस्तो इन्जिनरले पास गरेको हो ? हरेक बर्ष यो दयनीय अवस्था हुँदापनि सम्बन्धित निकाय मुकदर्शक मात्र बनेका छन् ।’

सागर थापा हलेदीका स्थायी बासिन्दा हुन् । यो सडक खण्डमा हुने प्रायःघट्ना दुर्घटनाको प्रत्यक्षदर्शी समेत हुन् । बर्षोनी बजेट हाल्दै काम भएपनि बर्षदन नपुग्दै उहि अवस्था आउँदा उनी वाक्कदिक्क छन् । सागर भन्छन्, ‘यो अवस्था आएको तीन चार महिना भयो । आँखै अगाडी यहाँ दैनिक ४/५ वटा साना सवारी साधान दुर्घटनामा पर्छन । सडकको कारण हुने दुर्घट्नाको जिम्मा कस्ले लिने हो ?’ राजमार्ग छेउ घर भएका थापा पानीपर्दा हिलो र घाम लाग्दा धुलोबाट पीडित छन् । शुक्लागण्डकी नगरिक समाजका अध्यक्ष खेमराज खनालले दुलेगौडादेखि कोत्रेसम्मको राजमार्गको सडक खण्ड बर्षैपिच्छे क्षतबिच्छेद हुने गरेको बताउछन् । यस क्षेत्रमा धेरै क्रसर उद्योगहरु पनि रहेका र ठूला सवारी साधन चल्ने भएकाले सडक चाडै ब्रि्रने गरेको उनि बताउँछन् ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले कोत्रे दुलेगौँडा खण्ड अत्यन्तै नाजुक रहेको आफुले जानकारी पाएको बताए । सडकको मर्मत सम्भारका लागि आफुले सडक डिभिजन कार्यालयका प्रमुखसंग छलफल गरी तत्काल मर्मत कार्य अगाडी बढाउन निर्देशन दिएको बताए ।

‘बर्षात्को पानीले तनहुँ जिल्लाका विभिन्न भागहरु क्षतविच्छेद बनाएको छ, पृथ्वीराजमार्ग पनि अत्यन्त नाजुक बनेको छ । राजमार्गको विषयमा धेरै गुनासोहरु पनि आएका छन् । यसरी मुख्य राजमार्ग धेरैबेर अवरुद्ध हुने गरी राख्नुहुन्न भनेर सडकका प्रमुखलाई तुरुन्तै काम गर्न भनेको छु’, प्रमुख वाग्लेले भने, ‘आज र भोलि (साउन ५ र ६ गते)सम्म केही सुधार हुन्छ । राजमार्गमा हुने कालोपत्रेको दीगोपनका विषयमा पनि चासो राखिने र कोत्रे हलेदी क्षेत्रमा रहेका क्रसर उद्योगबाट पानी चुहाउँदै गुड्ने टि्रपरहरुको न्रि्रानीका लागि प्रहरी प्रशासनलाई निर्देशन दिएका छौ ।’

यता, सडक डिभिजन कार्यालय दमौलीका प्रमुख अमितकुमार श्रेष्ठले पानीको उचित निकास हुन नसक्दा कोत्रेदेखि दुलेगौँडासम्मको सडक खण्ड ब्रि्रने गरेको बताउँछन् । अहिले कालोपत्रे गर्नका लागि मौसम अनुकुल नभएकाले तत्काललाई आवतजावत गर्न सहज बनाउने गरी दुइदिन भित्र (साउन ५ र ६ गते)मा मर्मत सुधार गर्ने प्रतिवद्धता जनाए। उनले भने ‘पानीलाई व्यवस्थित रुपमा कटाउन तलतिरै पठाउनुपर्छ, तर सडकको तल्लो भागमा बस्ती र क्रसर रहेकाले स्थानीयवासीले तल पानी कटाउन नदिदा समस्या आएको छ । अहिले बर्खायामको समय भएकाले नयाँ कालोपत्रे गर्ने अवस्था र मौसम पनि छैन । हामीले आजैदेखि तत्कालै पानीलाई कटाउने, ग्राबेलहरु भरेर खाल्टाखुल्टी हटाउने काम गरेका छौ ।’

यस्तै, पृथ्वीराजमार्गलाई छिट्टै चार लेनको बनाउन एडीबीले ठेक्का सम्झौताको काम अगाडी बढाइसकेकाले अब दीर्घकालिन रुपमा राजमार्गको समस्या समाधान हुने प्रमुख श्रेष्ठले विश्वास व्यक्त गरे । श्रेष्ठका अनुसार खाल्डाखुल्टी पुर्ने काम भए पनि एकदुइ दिनमा फेरि उहि समस्या दोहोरिने देखिन्छ । खाल्टो पुरेपछि सडक झनै हिलाम्मे भएको छ भने साना सवारी साधनहरु गड्न थालेका छन् । यस मार्गलाई दीगो रुपमा व्यवस्थित गराउन सबैभन्दा पहिले नालाको उचित व्यवस्थान गर्नुपर्ने देखिन्छ । यसका लागि सडक डिभिजनको सक्रियता, स्थानीयवासीको सहयोग तथा ठेकेदार र इन्जिनियरले इमान्दारीताको साथ काम गर्नुपर्ने हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker