गण्डकी प्रदेशसभा बैठक : शून्य समय

भञ्ज्याङ समाचारदाता/गण्डकी

गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवं प्राकृतिक प्रकोपका असर लगायतमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराइएको छ । शून्य समयमा प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले मध्यपहाडी लोकमार्ग अन्तर्गत अक्षेते घोडाघोडी खण्डमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभा सदस्य देवका पहारी त्रिपाठीले माघ १ गतेको जहाज दुर्घटनाले पोखराको पर्यटनमा असर पारेको बताउँदै यसले हवाई उडानमा मनोवैज्ञानिक असर परेको बताउनुभयो । पर्यटक आगमनलाई बढाउन अन्तरप्रदेश पर्यटन प्रवर्द्धनात्मक कामलाई अघि बढाउनु आवश्यक देखिएको बताउँदै उहाँले छिमेकी मुलुक भारत, चीन र बङ्गलादेशमा राष्ट्रियस्तरको प्रवर्द्धनात्मक कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य नन्दकला दमै नेपालीले पोखरा महानगरपालिका-२६ पैतेडाँडाको सुकुम्वासी बस्तीमा बर्सेनि बाढीले असर गरिरहेको बताउँदै त्यहाँको बस्ती सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य निर्मला थापाले बढ्दो आर्थिक मन्दीको समस्यामा गरिबीको रेखामुनि रहेको वर्गलाई उद्यमशीलताका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले नवलपुरको नारायणी तट क्षेत्रमा माझी, बोटे मुसहरको मुख्य पेसा माछा मार्ने रहे पनि राष्ट्रिय निकुञ्जका कारण माछा मार्न रोक लगाउँदा उनीहरू समस्यामा परेको बताउनुभयो ।

प्रदेशसभा सदस्य विकल शेरचनले मुस्ताङमा आगलागीजन्य घटनामा दमकलसमेत नभएको बताउँदै जोखिमपूर्ण विद्युत्का पुराना वायरिङ हटाएर नयाँ वायरिङ गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिन सभाको ध्याकर्षण गराउनुभयो । अर्का सदस्य भोजराज अर्यालले गण्डकी प्रदेशका ३६ निर्वाचन क्षेत्रमध्ये स्वास्थ्योपचार सेवा नभएका क्षेत्रमा न्यूनतम ५० शय्यासम्मका विशेषज्ञ सहितको अस्पतालबाट सेवा दिने गरी कार्ययोजना ल्याउन आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य महेश भट्टराइले गल्याङ नगरपालिका-३ का ललेङ गाउँका ६० घर तल काली नदी र माथि नहरको बीचमा रहँदा बाढी पहिराको जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । मित्रलाल बस्यालले पर्वतको फलेवास-लुङ्खु-पैयूँ सडकको बीचमा पहिराले बाटो बिगारेको भए पनि निर्माण व्यवसायीले त्यसलाई अलपत्र छाड्दा समस्या परेको बताउनुभयो ।

प्रदेशसभा सदस्य यशोदा रिमालले लम्जुङ जिल्ला अस्पताल २०७९ कात्तिक ३ गतेदेखि प्रदेश सरकार मातहत सञ्चालनमा आएकामा हाल एक्स-रे मेसिन, अक्सिजन प्लान्ट आदि ब्रि्रनुका साथै उपचारसेवा पनि गुणस्तरीय नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य लक्ष्मणबहादुर पाण्डेले नवलपुर २ मा नारायणी नदीसँगै अरुण खोला र विनय खेालाले बर्सेनि जमिन कटान गरिरहेको भन्दै त्यसको नियन्त्रणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशमा एकीकृत नमुना बस्ती विकासका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रदेशसभा सदस्य सरस्वती गुरुङले मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि गण्डकी प्रदेशभित्र सञ्चालित अस्पताललाई विशिष्टीकृत बनाउनुपर्ने बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker