आयुर्वेद चिकित्सामा पोषणको महत्व

परिचय
आयुर्वेद केवल रोगको उपचार गर्ने पद्धति मात्र नभएर यो मानव जीवनको समग्र स्वास्थ्य र जीवनशैलीको विज्ञान हो । यसको मुख्य सिद्धान्त “स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रशमनम्” अर्थात् स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र बिरामीको रोग निको पार्नु हो । यस उद्देश्य प्राप्तिका लागि आयुर्वेदले आहार (पोषण), विहार (जीवनशैली) र औषधिको त्रिकोणात्मक समन्वयलाई आधार मान्दछ, जसमा पोषणलाई सबैभन्दा उच्च स्थान दिइएको छ ।
आहार: “महाभैषज्य” (सबैभन्दा ठूलो औषधि)
आयुर्वेदमा आहारलाई “महाभैषज्य” अर्थात् सबैभन्दा ठूलो औषधिको रूपमा स्वीकार गरिएको छ । चरक संहितामा उल्लेख भएअनुसार
“हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितम्।
मानं च तच्च यत्रोक्तमायुर्वेदः स उच्यते॥”
उचित र हितकर भोजनले शरीरलाई दीर्घायु, शक्ति, वर्ण, ओज र मानसिक स्थिरता प्रदान गर्दछ । आयुर्वेदको मान्यता छ कि यदि व्यक्तिको खानपान सही छ भने उसलाई औषधिको आवश्यकता पर्दैन, र यदि खानपान गलत छ भने औषधीले मात्र काम गर्न सक्दैन । भोजनले शरीरका दोष (वात, पित्त, कफ), धातु र मलको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
पोषण र अग्निको सम्बन्ध
आयुर्वेदमा ‘अग्नि’ (पाचन शक्ति) लाई स्वास्थ्यको केन्द्र मानिन्छ । यदि अग्नि सन्तुलित छ भने खाएको भोजन राम्रोसँग पचेर शरीरले उचित पोषण प्राप्त गर्दछ । तर यदि अग्नि मन्द भयो भने शरीरमा ‘आम’ (अपचका कारण जम्मा हुने विषालु तत्व) उत्पन्न हुन्छ, जसले विभिन्न रोगहरू निम्त्याउँछ । त्यसैले आयुर्वेदले ताजा, सात्त्विक भोजन, नियमित समयमा भोजन, र आफ्नो पाचन शक्ति अनुसारको मात्रा निर्धारण गर्न जोड दिन्छ ।
षडरस (छ वटा रस) र सन्तुलित पोषण
आयुर्वेदिक पोषणमा छ प्रकारका रसहरूको विशेष महत्व छ, यसले शरीरको सन्तुलन कायम राख्छन्:
- मधुर रस (गुलियो): ऊर्जा र वृद्धिको लागि ।
- अम्ल रस (अमिलो): पाचन सुधार गर्न ।
- लवण रस (नुनिलो): रुचि बढाउन र पाचनका लागि ।
- कटु रस (पिरो): चयापचय बढाउन ।
- तिक्त रस (तितो): रगत शुद्धीकरण र विषहरणका लागि ।
- कषाय रस (टर्रो): शरीरको स्राव रोक्न र निको पार्न ।
ऋतु अनुसारको आहार (ऋतुचर्या)
मौसम अनुसार शरीरको आवश्यकता परिवर्तन हुने भएकाले आयुर्वेदले फरक-फरक ऋतुमा फरक आहारको सुझाव दिएको पाईन्छ :
| ऋतु | हितकर आहार (खानुपर्ने) | अहितकर आहार (बार्नुपर्ने) |
| हेमन्त र शिशिर (जाडो) | दूध, घ्यू, नयाँ अन्न, मासु, तातो पानी । | सुख्खा र हल्का आहार, चिसो पानी । |
| वसन्त (चैत-वैशाख) | जौ, गहुँ, पुरानो अन्न, अदुवा-मह पानी । | नयाँ अन्न, चिसो, गुलियो र चिल्लो पदार्थ । |
| ग्रीष्म (जेठ-असार) | हल्का सुपाच्य आहार, शीतल जल, फलफूलको रस । | पिरो, नुनिलो, अमिलो र तारेको भारी आहार । |
| वर्षा (साउन-भदौ) | पुरानो अन्न, गेडागुडीको झोल, उमालेको पानी । | दिउँसो सुत्ने, सुख्खा खाना । |
| शरद (असोज-कात्तिक) | गुलियो, तितो, टर्रो र सुपाच्य आहार । | पिरो, अमिलो, नुनिलो, दही र मदिरापान । |
त्रिदोष अनुसार व्यक्तिगत पोषण प्रत्येक व्यक्तिको प्रकृति अनुसार आहार फरक हुनुपर्छ:
- वात प्रकृति: तातो, चिल्लो (स्निग्ध) र पोषक भोजन जस्तै घ्यू र दूध ।
- पित्त प्रकृति: शीतल, मधुर र तितो आहार, जस्तै फलफूल र हरियो तरकारी ।
- कफ प्रकृति: हल्का, तातो र मसलेदार भोजन, जस्तै जौ र कोदो ।

भान्सामा पाइने औषधीय जडीबुटी र पोषण
हाम्रो घर वरिपरि पाइने धेरै वस्तुहरूले पोषण र औषधि दुवैको काम गर्छन्:
- बेसार: एलर्गी, प्रमेह र रगत विकारमा उपयोगी ।
- अमला: भिटामिन सी को स्रोत, मधुमेह र खोकीमा लाभदायक ।
- तुलसी: दम, उच्च रक्तचाप र ब्रोन्काइटिसमा उपयोगी ।
- अदुवा/सुठो: पाचन सुधार, बाथरोग र अरुचिमा प्रयोग गरिने ।
- मेथी: शारीरिक दुर्बलता कम गर्न र स्तनपान गराउने आमाका लागि दूधवर्धक ।
- लसुन: हृदय रोग, उच्च कोलेस्टेरोल र बाथरोगमा लाभकारी ।
स्वस्थ जीवनशैली र खानपानका नियमहरु :
पोषणलाई पूर्ण रूपमा ग्रहण गर्न आयुर्वेदले केही नियमहरू तोकेको छ:
- बिहान ब्रह्ममुहूर्त (सूर्योदय भन्दा करिब ९६ मिनेट अगाडि) उठ्ने ।
- उठेपछि मनतातो पानी पिउने र नियमित व्यायाम/योगाभ्यास गर्ने ।
- खाना खानुअघि शरीरमा तेलले मालिस गर्ने ।
- खानामा दैनिक ५ ग्राम भन्दा बढी नुन प्रयोग नगर्ने र ८०० ग्राम फलफूल तथा सलाद समावेश गर्ने ।
- बजारमा पाइने जङ्क फुड, फास्ट फुड र सफ्ट ड्रिङ्क्सको पूर्ण त्याग गर्ने ।
- भोजन गर्दा स्थिर चित्त भई राम्ररी चपाएर खाने र आफ्नो शारीरिक अवस्था तथा ऋतु अनुसार मात्र खाने ।
रोग व्यवस्थापन र प्रतिरक्षामा पोषण
आयुर्वेदले मधुमेहका लागि जौ र करेला, मोटोपनका लागि मह र तातोपानी, तथा मानसिक स्वास्थ्यका लागि सात्त्विक आहार (दूध, घ्यू) को सिफारिस गर्छ । रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउन ‘ओज’ को विकास आवश्यक हुन्छ, जसका लागि च्यवनप्राश, अश्वगन्धा र गुडुची जस्ता पोषणयुक्त तत्वहरू महत्वपूर्ण मानिन्छन् ।
निष्कर्ष
आयुर्वेद चिकित्सामा पोषण केवल पेट भर्ने माध्यम नभई स्वास्थ्यको आधारशिला हो । आधुनिक विज्ञानले पनि अहिले ‘पर्सनलाइज्ड न्युट्रिसन’ र ‘गट हेल्थ’ जस्ता विषयमा आयुर्वेदका प्राचीन सिद्धान्तहरूलाई पछ्याइरहेको छ । स्थानीय, मौसमी र प्राकृतिक भोजनलाई प्राथमिकता दिँदै संयमित जीवनशैली अपनाउन सकेमा जनस्वास्थ्यमा ठूलो सुधार ल्याउन सकिन्छ । अतः आयुर्वेदले सिकाएको पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्नु नै आजको नसर्ने रोगहरूको महामारीबाट बच्ने उत्तम उपाय हो ।
(लेखक प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँका बरिष्ठ कविराज निरीक्षक हुन्)










