आयुर्वेद चिकित्सामा पोषणको महत्व

परिचय

आयुर्वेद केवल रोगको उपचार गर्ने पद्धति मात्र नभएर यो मानव जीवनको समग्र स्वास्थ्य र जीवनशैलीको विज्ञान हो । यसको मुख्य सिद्धान्त “स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रशमनम्” अर्थात् स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र बिरामीको रोग निको पार्नु हो । यस उद्देश्य प्राप्तिका लागि आयुर्वेदले आहार (पोषण), विहार (जीवनशैली) र औषधिको त्रिकोणात्मक समन्वयलाई आधार मान्दछ, जसमा पोषणलाई सबैभन्दा उच्च स्थान दिइएको छ ।

आहार: “महाभैषज्य” (सबैभन्दा ठूलो औषधि)

आयुर्वेदमा आहारलाई “महाभैषज्य” अर्थात् सबैभन्दा ठूलो औषधिको रूपमा स्वीकार गरिएको छ । चरक संहितामा उल्लेख भएअनुसार

“हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितम्।
मानं च तच्च यत्रोक्तमायुर्वेदः स उच्यते॥”

उचित र हितकर भोजनले शरीरलाई दीर्घायु, शक्ति, वर्ण, ओज र मानसिक स्थिरता प्रदान गर्दछ । आयुर्वेदको मान्यता छ कि यदि व्यक्तिको खानपान सही छ भने उसलाई औषधिको आवश्यकता पर्दैन, र यदि खानपान गलत छ भने औषधीले मात्र काम गर्न सक्दैन । भोजनले शरीरका दोष (वात, पित्त, कफ), धातु र मलको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

पोषण र अग्निको सम्बन्ध

आयुर्वेदमा ‘अग्नि’ (पाचन शक्ति) लाई स्वास्थ्यको केन्द्र मानिन्छ । यदि अग्नि सन्तुलित छ भने खाएको भोजन राम्रोसँग पचेर शरीरले उचित पोषण प्राप्त गर्दछ । तर यदि अग्नि मन्द भयो भने शरीरमा ‘आम’ (अपचका कारण जम्मा हुने विषालु तत्व) उत्पन्न हुन्छ, जसले विभिन्न रोगहरू निम्त्याउँछ । त्यसैले आयुर्वेदले ताजा, सात्त्विक भोजन, नियमित समयमा भोजन, र आफ्नो पाचन शक्ति अनुसारको मात्रा निर्धारण गर्न जोड दिन्छ ।

षडरस (छ वटा रस) र सन्तुलित पोषण

आयुर्वेदिक पोषणमा छ प्रकारका रसहरूको विशेष महत्व छ, यसले शरीरको सन्तुलन कायम राख्छन्:

  • मधुर रस (गुलियो): ऊर्जा र वृद्धिको लागि ।
  • अम्ल रस (अमिलो): पाचन सुधार गर्न ।
  • लवण रस (नुनिलो): रुचि बढाउन र पाचनका लागि ।
  • कटु रस (पिरो): चयापचय बढाउन ।
  • तिक्त रस (तितो): रगत शुद्धीकरण र विषहरणका लागि ।
  • कषाय रस (टर्रो): शरीरको स्राव रोक्न र निको पार्न ।

ऋतु अनुसारको आहार (ऋतुचर्या)

मौसम अनुसार शरीरको आवश्यकता परिवर्तन हुने भएकाले आयुर्वेदले फरक-फरक ऋतुमा फरक आहारको सुझाव दिएको  पाईन्छ :

ऋतु हितकर आहार (खानुपर्ने) अहितकर आहार (बार्नुपर्ने)
हेमन्त र शिशिर (जाडो) दूध, घ्यू, नयाँ अन्न, मासु, तातो पानी । सुख्खा र हल्का आहार, चिसो पानी ।
वसन्त (चैत-वैशाख) जौ, गहुँ, पुरानो अन्न, अदुवा-मह पानी । नयाँ अन्न, चिसो, गुलियो र चिल्लो पदार्थ ।
ग्रीष्म (जेठ-असार) हल्का सुपाच्य आहार, शीतल जल, फलफूलको रस । पिरो, नुनिलो, अमिलो र तारेको भारी आहार ।
वर्षा (साउन-भदौ) पुरानो अन्न, गेडागुडीको झोल, उमालेको पानी । दिउँसो सुत्ने, सुख्खा खाना ।
शरद (असोज-कात्तिक) गुलियो, तितो, टर्रो र सुपाच्य आहार । पिरो, अमिलो, नुनिलो, दही र मदिरापान ।

त्रिदोष अनुसार व्यक्तिगत पोषण प्रत्येक व्यक्तिको प्रकृति अनुसार आहार फरक हुनुपर्छ:

  • वात प्रकृति: तातो, चिल्लो (स्निग्ध) र पोषक भोजन जस्तै घ्यू र दूध ।
  • पित्त प्रकृति: शीतल, मधुर र तितो आहार, जस्तै फलफूल र हरियो तरकारी ।
  • कफ प्रकृति: हल्का, तातो र मसलेदार भोजन, जस्तै जौ र कोदो ।

भान्सामा पाइने औषधीय जडीबुटी र पोषण

 हाम्रो घर वरिपरि पाइने धेरै वस्तुहरूले पोषण र औषधि दुवैको काम गर्छन्:

  • बेसार: एलर्गी, प्रमेह र रगत विकारमा उपयोगी ।
  • अमला: भिटामिन सी को स्रोत, मधुमेह र खोकीमा लाभदायक ।
  • तुलसी: दम, उच्च रक्तचाप र ब्रोन्काइटिसमा उपयोगी ।
  • अदुवा/सुठो: पाचन सुधार, बाथरोग र अरुचिमा प्रयोग गरिने ।
  • मेथी: शारीरिक दुर्बलता कम गर्न र स्तनपान गराउने आमाका लागि दूधवर्धक ।
  • लसुन: हृदय रोग, उच्च कोलेस्टेरोल र बाथरोगमा लाभकारी ।

स्वस्थ जीवनशैली र खानपानका नियमहरु :

 पोषणलाई पूर्ण रूपमा ग्रहण गर्न आयुर्वेदले केही नियमहरू तोकेको छ:

  • बिहान ब्रह्ममुहूर्त (सूर्योदय भन्दा करिब ९६ मिनेट अगाडि) उठ्ने ।
  • उठेपछि मनतातो पानी पिउने र नियमित व्यायाम/योगाभ्यास गर्ने ।
  • खाना खानुअघि शरीरमा तेलले मालिस गर्ने ।
  • खानामा दैनिक ५ ग्राम भन्दा बढी नुन प्रयोग नगर्ने र ८०० ग्राम फलफूल तथा सलाद समावेश गर्ने ।
  • बजारमा पाइने जङ्क फुड, फास्ट फुड र सफ्ट ड्रिङ्क्सको पूर्ण त्याग गर्ने ।
  • भोजन गर्दा स्थिर चित्त भई राम्ररी चपाएर खाने र आफ्नो शारीरिक अवस्था तथा ऋतु अनुसार मात्र खाने ।

रोग व्यवस्थापन र प्रतिरक्षामा पोषण

आयुर्वेदले मधुमेहका लागि जौ र करेला, मोटोपनका लागि मह र तातोपानी, तथा मानसिक स्वास्थ्यका लागि सात्त्विक आहार (दूध, घ्यू) को सिफारिस गर्छ । रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउन ‘ओज’ को विकास आवश्यक हुन्छ, जसका लागि च्यवनप्राश, अश्वगन्धा र गुडुची जस्ता पोषणयुक्त तत्वहरू महत्वपूर्ण मानिन्छन् ।

 निष्कर्ष

आयुर्वेद चिकित्सामा पोषण केवल पेट भर्ने माध्यम नभई स्वास्थ्यको आधारशिला हो । आधुनिक विज्ञानले पनि अहिले ‘पर्सनलाइज्ड न्युट्रिसन’ र ‘गट हेल्थ’ जस्ता विषयमा आयुर्वेदका प्राचीन सिद्धान्तहरूलाई पछ्याइरहेको छ । स्थानीय, मौसमी र प्राकृतिक भोजनलाई प्राथमिकता दिँदै संयमित जीवनशैली अपनाउन सकेमा जनस्वास्थ्यमा ठूलो सुधार ल्याउन सकिन्छ । अतः आयुर्वेदले सिकाएको पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्नु नै आजको नसर्ने रोगहरूको महामारीबाट बच्ने उत्तम उपाय हो ।

(लेखक प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँका बरिष्ठ कविराज निरीक्षक हुन्)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker