बन्दिपुरका दुध उत्पादक कृषकलाई १९ लाख ६२ हजार अनुदान वितरण
भञ्ज्याङ समाचारदाता/बन्दिपुर
तनहुँको बन्दिपुर गाउँपालिकाले कृषि उपजलाई वृद्धि गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको यो कार्यक्रमबाट कृषकहरु समेत लाभान्वित हुन थालेका छन् । गाउँपालिकाले दुइ वटा दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रहि दुध उत्पादन गरी बिक्रीवितरण गर्दै आएका किसानलाई अनुदान वितरण गरेको छ । प्रतिलिटर एक रुपैयाँका दरले अनुदान रकम वितरण गर्ने कार्यक्रम अन्तर्गत गाउँपालिकाले वडा नं. १ को सूर्योदय दुग्ध उत्पादक सहकारी संस्था र वडा नं. ५ को याम्पा दुग्ध उत्पादक सहकारीमा आवद्ध भई दुध उत्पादन तथा बिक्री वितरण गर्ने कृषकलाई १९ लाख ६२ हजार रुपैयाँ अनुदान रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी गराए ।
गाउँपालिकाको वाषिर्क नीति, कार्यक्रम तथा बजेटमै व्यवस्था गरी गतवर्षदेखि सञ्चालन गरेको यो कार्यक्रमबाट कृषकहरुले लाभ लिन थालेको अध्यक्ष थापाले बताए । उनले भने, ‘उत्पादनमा आधारित अनुदान कार्यक्रमले दुध उत्पादनमा समेत वृद्धि भएको छ ।’
गाउँपालिकाले सहकारीमा आवद्ध भई दुध उत्पादन गर्ने कृषकलाई अनुदान वितरण गर्दै आएको र प्रदेश सरकारबाट कम्तिमा तीन रोपनी क्षेत्रफलमा तरकारी खेती गर्ने कृषकहरुलाई प्रति रोपनी ५ हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउँदै आएको अध्यक्ष थापाले बताए । यस्तै गाउँपालिकाले बाख्राको पकेट क्षेत्रका रुपमा विकास गर्दै गएको हुँदा आगामि दिनमा मासुमा पनि अनुदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
वडा नं. ५ याम्पाफाँटका दुग्ध उत्पादक किसानलाई सोमबार गाउँपालिका र प्रदेश सरबारबाट अनुदान वितरण गरिएको छ । प्रति लिटर १ रुपैंयाका दरले ९ लाख ५२ हजार रुपैयाँ अनुदान रकम वितरण गरिएको वडाध्यक्ष ध्रुव प्रसाद लामिछानेले जानकारी गराए । गण्डकी प्रदेश सरकारको तर्फबाट प्रति लिटर २ रुपैंया ५० पैसाका दरले ७ लाख ७५ प्राप्त भएको थियो । ब्यावसायीक रुपमा गाईभैंसी पालन गरी स्थानीय याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने किसानका लागि अनुदान उपलब्ध गर्राईएको वडाअध्यक्ष लामिछानेले बताए ।

सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा करिब १३ लाख लिटर दुध उत्पादन गरी बिक्री वितरण गरेको थियो । हाल दैनिक करिब ५ हजार तीन सय लिटर दुध सहकारी मार्फत बिक्री हुने गरेको छ ।
अनुदान वितरण कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य हेमराज लामिछाने छितिजले किसानका हरेक मुद्दामा सरकार जानकार भई विशेष गरी स्थानीय सरकारले कृषकको उत्पादनलाई बजारीकरणका साथै आवश्यक सहयोग उपलब्ध गराउन विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । वडा नं. ५ का वडाअध्यक्ष ध्रुब प्रसाद लामिछानेले किसानलाई पेन्सनको ब्यवस्था गर्न राज्यले नीति ल्याउनु पर्नेमा जोड ।
संस्थाका सचिब रमेश ढकालले किसानलाई राज्यले उपेक्षा गरेको, कोरोना विरुद्धको खोप लगाउन समेत कन्जुस्याइँ गरेकोले तत्काल खोप उपलब्ध गराउन माग गरे । नमुना गाई फर्मका सञ्चालक पुष्पराज पौडेलले किसानले भोग्नु परेको समस्या बारे जानकारी दिंदै कोरोनाका कारण पशुपालन ब्यवसायनै धरापमा परेको भन्दै बिगत लामो समयको बिक्री गरिएको दुधको पैसा प्राप्त गर्न नसकिएको गुनासो गरे ।
यस्तै, गाउँपालिकाले यस अगाडि सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध ६१ जना कृषकलाई १ लाख ६२ हजार रुपैयाँ अनुदान रकम वितरण गरिएको वडा नं. १ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी गराए । दुग्ध उत्पादक किसान मध्ये सबै भन्दा बढी दुध उत्पादन गर्ने नमुना गाई फार्मका पुष्प गैह्रेले एक लाख बीस हजार रुपैयाँ अनुदान रकम प्राप्त गरेका छन् । याम्पामा दैनिक आठ/नौ हजार लिटर दुध उत्पादन हुने गरेपनि सबै किसानले सहकारी मार्फत नभई आफुखुशी पनि खुला बिक्री गर्ने गरेकाले सबैलाई अनुदान कार्यक्रममा समेटन नसकिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।
प्रदेश सरकारले गाउँपालिकाका तरकारी उत्पादन किसानहरुलाई अनुदान दिन थालेपछि किसानहरु उत्साहित भएर उत्पादन गर्न लागेका छन् । गाउँपालिकाका पशुपालन किसानहरुको समुह गठन गरी सहकारी मार्फत बिक्री गर्ने किसानहरुलाई अनुदान दिने कार्यक्रम ल्याउन लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले उत्पादनमा आधारित भएर अनुदान दिने कार्यक्रम ल्याएपनि कृषकहरुले लाभ लिन थालेका छन् भने उत्पादनमा समेत वृद्धि हुँदै गएको गाउँपालिका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले बताए । गाउँपालिकाले दुध, मासु र तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई बिशेष प्राथामिकतामा राखेर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।










