बन्दिपुरका असहाय तीन परिवारलाई घर हस्तान्तरण

भञ्ज्याङ समाचारदाता (डुम्रे)

जिल्लाको बन्दीपुर गाउँपालिकाको सहकार्य तथा कर्मफ्लाइट्सको भूकम्परहित घरबास निर्माण परियोजनाको आर्थिक सहयोगमा बन्दीपुर-२ का तीन घरपरिवारलाई घर हस्तान्तरण गरिएको छ। गरिब तथा असहाय परिवारलाई घर निर्माण गरी परियोजनाको तर्फबाट प्रेमबहादुर कुँवर, कृष्ण पाण्डे र गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले संयुक्तरूपमा घरको चाबी हस्तान्तरण गर्नुभएको हो । स्थानीय मनमाया भुजेल, मङ्गल विक र गोरे विकका परिवारलाई घर हस्तान्तरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

भुजेलको ऐलानी र विकद्वयको जग्गाधनी प्रमाणपत्र भएको जग्गा व्यवस्था गरी परियोजनाको सहयोगमा घर निर्माण गरिएको उहाँले बताउनुभयो । सोही वडास्थित बगैँचाभित्र बसोबास गर्दै आएका विकका दुइ घरपरिवारलाई बगैँचाबाट बाहिर बस्नका लागि विसं २०७२ मा ब्लकमा परेको जग्गाको पुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

बगैँचाको संरक्षण गर्नुपर्छ भनेर बगैँचाभित्र रहेका घरलाई बाहिर बस्नका लागि पुर्जा दिलाएको स्थानमा घर निर्माण गरिएको हो । उहाँले भन्नुभयो, “उक्त पुर्जा भएको स्थानमा विकका दुइ घर र भुजेलको ऐलानी जग्गामा घर निर्माण गरिएको हो ।” विगत लामो समयदेखि भुजेल परिवार सोही स्थानमा बस्दै आएकाले सोही स्थानलाई कायम गरी घर निर्माण गरिदिएको गाउँपालिकाले जनाएको छ ।

दशैँअघि घर निर्माण थालिए पनि काम गर्ने जनशक्ति अभावमा ढिलाइ हुन गएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । तीनवटै घरपरिवारलाई करिब चार आनाका दरले जग्गा उपलब्ध गराइएको उहाँले बताउनुभयो । पक्की घर पाएपछि असहाय गरिब परिवार मक्ख छन् । उहाँले भन्नुभयो, “हावाहुरी आउँदा र पानी पर्दाको समयमा सुरक्षित भएर बस्न पाउने भएपछि खुशी भएका छन् ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker