असार १५ मा मनाइयो राष्ट्रिय धान दिवस, खाइयो दही च्यूरा

भञ्ज्याङ समाचारदाता/तनहुँ

असार १५ कृषकहरुको लागि निकै महत्वपूर्ण दिन हो । असार महिना र असार १५ कृषकहरुले मानो रोपेर मुरी उब्जाउने महिनाका दिनेमा स्मरण गर्छन । यसै दिन कृषकहरुले दही च्यूरा खाएर मनाउने सांस्कृतिक परम्परा पनि छ र खेतमा रोपाइँ गरी दही च्यूरा खाने प्रचलन छ । दही च्यूरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ शुरु हुन थालेपछिदेखि नै मनाउन थालिएको हो । असार मुठी रोपेर मुरी उमार्ने महिनाका रुपमा सदियौँदेखि लिइँदै आएको महिना हो । विसं २०६२ देखि भने यो दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउन थालिएको छ । तनहुँका कृषक तथा सरोकारवाला निकायले कोभिड संक्रमण जोखिमका बीच पनि रोपाई कार्यक्रमहरु आयोजना गरी मनाएका छन् ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महीनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । यस दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिएको छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेती पाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाएका छन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । परम्परादेखि असार धान रोप्ने महीनाका रुपमा परिचित हुँदै आएको हो ।

यस्तै, यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाइएको छ । धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तसम्म नभइ नहुने बाली हो । जीवन धान्ने आधार पनि धान नै हो । त्यसैले नेपाल मात्रै होइन दक्षिण एसियाली मुलुकमै धानको महत्व बढीछ । कोभिड-१९ संक्रमणका कारण पछिल्लो दुइ वर्षदेखि भने यो दिन निकै खल्लो रूपमा बितिरहेको छ । निजी क्षेत्रबाट र किसानले आफ्नै तरिकाले स्वतःफूर्त रूपमा हिलो खेलेर छिटफुट रूपमा मनाए पनि सरकारीस्तरबाट हुने कार्यक्रम भने औपचारिकतामा मात्रै सिमित छ । गत वर्षपनि सांकेतिक रूपमा मनाइएको यो यसपटक पनि त्यसैगरी मनाइएको छ ।

कृषि कर्मलाई नियमित राख्न नसके निकट भविश्यमा खाद्य तथा पोषण असुरक्षा हुने भएकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ कृषिका गतिविधि नियमित गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘गत वर्षको तुलनामा यस वर्ष कम रोपाइ भएको छ, अहिलेसम्म जिल्लामा करिब ४० प्रतिशतको हाराहारीमा मात्र रोपाइ भएको छ’, उनले भने, ‘गत वर्ष लकडाउनका कारण युवाहरु गाउँघरमै बसेका थिए, कोरोनाका कारण खाद्य संकट आउँछ कि भन्ने त्रास पनि बढेको थियो र समयमै रोपाई पनि गरियो तर, अन्तिम समयमा आएर बाढीपहिरोले धेरै धानखेतीमा क्षति पनि पुर्‍याएका कारण यस वर्षकृषकहरुले रोपाईमा हतार नगरी अघिल्लो वर्षहरुकै जस्तै गरी रोपाई गर्न थाल्नु भएको छ ।’

तनहुँमा ४० प्रतिशत रोपाई, नेपालमा वार्षिक ४० अर्ब बढीको चामल आयात

तनहुँको कुल क्षेत्रफल मध्ये ६५ हजार ६१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ । यसमा ७९.१७ प्रतिशत अर्थात ५१ हजार ५१० हेक्टरमा अहिले खेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ । २ हजार २१७ हेक्टर क्षेत्रफल जमिन प्लटिङ गरेर राखिएको छ भने ११ हजार ३३४ हेक्टर क्षेत्रफल जमिन बाँझो अवस्थामा रहेको छ । ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा १२ महिना सिंचाई सुविधा उपलब्ध छ भने ७ हजार २३६ हेक्टर जमिनमा मौसमी सिंचाई हुने र ३७ हजार ९२७ हेक्टर क्षेत्रफल जमिन आसिंचित रहेको ज्ञाने केन्द्रले जनाएको छ ।

नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ । प्राप्त विवरणअनुसार अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।

मुलुकमा अहिले एक करोड १६ लाख मेटि्रक टन खाद्यान्न उत्पादन हुन्छ । नेपामला ९६ लाख खाद्यान्न भयो भने पुग्छ तर वार्षिक ४० अर्ब बढीको चामल आयात भइरहेको छ । मानिसको खाने संस्कृति परिवर्तन भएकाले यस्तो भएको कृषि विज्ञको भनाइ छ । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, जन्मनु अघिदेखि मृत्युपर्यन्तसम्म धानको प्रयोग हुने मुलुकमा अनुसन्धान गरी नयाँ हाइब्रिड धानको विकास जरुरी रहेको औल्याउँछन् । उनले जलवायु परिवर्तन भइरहेकाले त्यसको प्रभावको आधारमा जातको विकास गरी अर्गानिक उत्पादनलाई समेत प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा प्रेमप्रसाद दङ्गाल खाद्य संस्ककृति परिवर्तत र मानिसमा भात खाने प्रवृत्तिका कारण मुलुकको उत्पादन भन्दा मसिनो र वास्मतीको रोजाइ बढेको बताउँछन् । प्रविधिलाई किसानको घरघरमा पुर्‍याउन नसके धान उत्पादन वृद्धि हुन नसक्ने उनले बताए । नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारी मसिनो धानको आयात वृद्धि भइरहेको अवस्थामा त्यसलाई रोक्नका लागि हाईब्रिड जातको विकास जरुरी रहेको र परिषद् त्यसतर्फ अघि बढिरहेको बताए । हालैमात्र हर्दिनाथ हाइब्रिड निकालेकाले त्यो धान लगाउन किसानलाई सुझावसमेत दिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker