भूमिहिन र अव्यवस्थित बसोबासीलाई दशै अगावै लालपुर्जा दिने तयारी
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीका लागि लालपुर्जा दिने उदेश्यले बुधबारबाट नापी कार्य शुरु भएको छ ।
भानु नगरपालिकाले राष्ट्रिय भुमि आयोगको प्राबिधिक सहयोगमा जग्गाको नाप नक्शा तयारी कार्य वडा नं. १ को नयाँबस्तीबाट सुरु गरिएको हो । भानु-१ का वडाध्यक्ष कान्छिमाया तामाङ अध्यक्षतामा र राष्ट्रिय भुमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीको प्रमुख अतिथ्यतामा भएको एक कार्यक्रमबाट उक्त कार्यको सुरुवात गरिएको छ ।
सबैभन्दा बढि भुमिहिन भएको वडा नं १ को नयाँबस्ती क्षेत्रबाट शुरु भएर क्रमैसँग प्रत्येक वडामा नापनक्सा गर्न बढिमा २ महिना लाग्ने र १ महिना नक्सा तयारी गर्न समय लाग्ने नापी कार्यालयका फोकल पर्सन राजिब श्रेष्ठले जानकारी दिनुभयो। नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीका अनुसार भूमिहिनलाई आगामी दशैं अगावै हात-हातमा लालपुर्जा वितरण गर्ने लक्ष सहित कामलाई द्रुत गतिमा अगाडि बढाइने छ ।










