तनहुँको व्यासले सञ्चालनमा ल्यायो पिसिआर प्रयोगशाला

भञ्ज्याङ न्यूज

जिल्लामै पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । व्यास नगरपालिका-१० दुम्सीबजारस्थित आधारभुत स्वास्थ्य कार्यालयको भवनमा बिहीबारबाट पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

उक्त प्रयोगशालाको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले एक कार्यक्रमका बिच उद्घाटन गर्दै स्वास्थ्य क्षेत्र आफैमा संवेलदनशील रहेको र स्थानीय तहको यो कदम सकारात्मक रहेको बताइन् । उनले भनिन्, ‘प्रयोगशाला स्थापनासंगै अब जिल्लाबासीले सहज रुपमा परीक्षण गर्न पाउने छन् । आवश्यक अन्य सहयोगका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।’

कोरोना भाइरस संक्रमणको उच्च जोखिमको समयमा पिसिआर रिपोर्ट आउन लामो समय लाग्ने भएपछि जिल्लामै पिसिआर प्रयोगशाला निर्माण गर्नका लागि नगरपालिका अघि बढेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । ‘कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएकाको स्वाब संकल गरी परीक्षणका लागि पठाएको लामो समयसम्म पनि रिपोर्ट नआउँदा उनीहरुलाई उपचारको दायरामा ल्याउन गाह्रो भयो’, उनले भने, ‘अब रिपोर्ट पनि समयमै आउछ र पोजेटिभ देखिए समयमै उपचारको दायरामा पनि ल्याउन सहज हुन्छ ।’

गत वर्षम्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाको अध्यक्षतामा बसेको अन्तरपालिका समन्वय वैठकले पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला भएकाले तनहुँमानै उक्त परीक्षण ल्याब पालिकाहरुको सहभागितामा सञ्चालन गर्ने निर्णय भएको थियो। पछि पोखराबाट २/३ दिनमा रिपोर्ट आउन थालेपछि तत्काल उक्त प्रकृयालाई स्थगन गरी पालिकाहरुको सहभागितामा जि.पि कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र दुलेगौडामा कोभिड-१९ अस्पताल निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

संघीय सरकार, प्रदेश सरकार, विभिन्न संघसंस्थाको सहयोगमा उक्त प्रयोगशाला निर्माण गरिएको हो । पिसिआर प्रयोगशाला स्थापनार्थ एक करोड ७ लाख ७६ हजार र पिसिआर प्रयोगशाला सञ्चालनका लागि एक करोड ३२ लाख १५ हजार २६८ रुपैयाँ खर्च भएको छ । प्रयोगशालामा २ जना विएमएलटि र ३ जना सिएमएलटिका स्वास्थ्यकर्मी नियुक्त गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए।

उनका अनुसार एक पटकमा ९६ वटा नमुना परीक्षण गर्न सकिने ठुलो मेशिन प्रयोग गरिएको छ । उनले भने, ‘रोटरी क्लब अन्तर्राष्ट्रिय डिस्टि्रक ३२९२ बाट गत असोज २४ गते प्राप्त पोटेवल मेशिनलाई अहिले प्रयोगमा ल्याइएको छैन ।’

‘भर्खरै परीक्षण सुरु गरिएकोले यो महिना निशुल्क परीक्षण गरिन्छ’, उनले भने, ‘पछिका दिनमा जिल्लाका अन्य पालिकाले पनि आर्थिक सहयोग गरे भने निशुल्क नै गरिने छ, तर यस्तो नभए पिसिआर परीक्षणका लागि न्युनतम शुल्क उठाउने सोच बनाइएको छ ।’

यस्तै, प्रयोगशाला उद्घाटनका अवसरमा प्रयोगशालालाई उद्योग वाणिज्य संघ तनहुँबाट ३ लाख १ हजार १५६ रुपैयाँ, व्यवसायी देव कुमार श्रेष्ठबाट ५५ हजार ५५५ रुपैयाँ, दुम्सी दुग्ध सहकारीबाट २५ हजार रुपैयाँ र स्थानीय ऋषिराम ढुङ्गानाबाट ११ हजार १११ सहयोग उपलब्ध भएको नगरपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker