भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा यहाँ आउने पर्यटकलाई बाघ देखाइने

चितवन : भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा यहाँ आउने पर्यटकलाई बाघ देखाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका बाघलाई प्रत्यक्षरुपमा पर्यटकलाई देखाउने तयारी गरिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षमा आउने पर्यटकका लागि प्रत्यक्षरुपमा बाघ देखाउन आवश्यक गृहकार्यका लागि निकुञ्जलाई आग्रह गरिसक्नुभएको छ । निकुञ्जमा पाटेबाघ पाइन्छ । प्रमुख दाहालले आमनागरिकले सहजैरुपमा बाघ देख्न नपाउने भएकाले भ्रमण वर्षमा आउने पर्यटकका लागि बाघ देखाउने योजना बनाइएको बताउनुभयो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भ्रमण वर्षमा बाघ देखाउन सकिने बताउनुभयो । हाल निकुञ्जको मुख्यालय कसरामा तीन बाघ खोरमा रहेका छन् । सौराहा क्षेत्रमा थप दुई खोरमै राखिएका छन् । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले निकुञ्जभित्र राखिएका ती बाघलाई निकुञ्जभित्र वा बाहिर वन्यजन्तु उद्धार केन्द्र देवनगरमा खोरको व्यवस्था गरी देखाउन सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “महानगर प्रमुखको अनुरोधअनुसार बाघ देखाउन सकिन्छ, तर कुन ठाउँमा राखेर देखाउने भन्ने अन्तिम टुङ्गो लागिसकेको छैन ।”
कसरामा रहेका तीन बाघमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो भाले बाघ अन्दाजी १० वर्षको हो । गत वर्ष चितवनकै माडीमा मानिसलाई आक्रमण गरी मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्काे देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।
तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा रहेका दुई बाघमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त भाले बाघ अन्दाजी चार वर्षको हो । अर्काे गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले नियन्त्रणमा लिएर राखिएका बाघलाई पालेर राख्नु मात्रैभन्दा पर्यटकीय गतिविधिसँग जोड्दा पर्यटक र आम्दानी दुवै बढ्ने बताउनुभयो । सरकारी तवरबाट कानुन निर्माण गरी उद्धार गरिएका वन्यजन्तुलाई पर्या–पर्यटनमा जोड्नुपर्ने उहाँको भनाइ थियो ।
सन् २०२४ लाई महानगरपालिकाले भ्रमण वर्षका रुपमा मनाउन लागेको छ । भरतपुर नेपालकै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण महानगर हो । राप्ती र नारायणी नदी बीचमा रहेको भरतपुरको धेरै महानगरको सीमा क्षेत्रले निकुञ्जलाई छोएको छ । चितवन आउने पर्यटकको पहिलो रोजाइ निकुञ्ज हो भने देवघाट, नारायणी ‘सी बीच मोडल’, चौकीडाँडा, बीस हजारी ताल, गोलाघाट जस्ता पर्यटकीय गन्तव्य यहाँ रहेका छन् ।
निकुञ्ज घुम्न आउने पर्यटकमध्ये खर्चिला पर्यटक महानगरभित्रकै मेघौली, पटिहानी, जगतपुर क्षेत्रमा बस्ने गर्दछन् । निकुञ्जको यसै क्षेत्रमा बढीमात्रामा एकसिङ्गे गैँडा, बाघलगायतका वन्यजन्तु पाइन्छन् । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker