तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थाले

भञ्ज्याङ समाचारदाता/दमौली

सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेका छन् । सम्बन्धित पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पालिकाले पोषणबापत भत्ता उपलब्ध गराउन थालेका हुन् ।

यसैक्रममा व्यास नगरपालिकाले गर्भवतीलाई पोषणबापत जनही रु पाँच हजारका दरले भत्ता वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ६२ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको जनाएको छ । गर्भवतीलाई समय-समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम प्रदान गरिएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो । नगरपालिकाले स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको प्रतिलिपिका आधारमा गर्भवतीलाई भत्ता वितरण गरेको उहाँको भनाइ छ ।

नगरपालिकाका गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकलअनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्भवती पोषण कार्यक्रम अन्तर्गत हातमै नगद रकम प्रदान गरिएको दरैले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिका क्षेत्रभित्र मातृ नवशिशु तथा नवशिशु स्वास्थ्य र पोषण प्रवर्द्धन एवं व्यवस्थापन गर्न कुपोषणमुक्त बालबालिकाको विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।”

दरैका अनुसार महिलासँग उपमेयर कार्यक्रममार्फत कार्यविधि बनाएर भत्ता वितरणको सुरुआत गरिएको हो । नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा प्रोटोकलअनुसार नियमित गर्भ जाँच गर्ने गर्भवतीलाई भत्ता वितरण गरिनेछ । नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) गर्भवती महिलालाई आठ महिनामा मातृ शिशुकार्ड र निजको निवेदनका आधारमा रु पाँच हजार वितरण गरिने महिला शाखा प्रमुख राधा आचार्यले जानकारी दिनुभयो ।

लक्षित वर्ग छनोटका लागि नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा लाभग्राही छनोट तथा कार्यान्वयन समिति बनाएको छ । यसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समितिका संयोजक, कार्यपालिका महिलासदस्यमध्येबाट कार्यपालिकाले तोकेको एक महिला सदस्य, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख रहने छन् । कार्यालयले लक्षित वर्गलाई कार्यक्रममा सहभागी भएको विस्तृत विवरण र स्वास्थ्य संस्थामा जाँच गरेको मातृ सेवा कार्डको प्रतिलिपिको आधारमा नगद भुक्तानी दिनेछ ।

नगरपालिकाले उपप्रमुखसँग महिला कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन गरेको छ । यो कार्यक्रममार्फत महिलालाई आर्थिक, स्वास्थ्य, तथा रोजगारी क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्य राखिएको छ । यस कार्यक्रम अन्तर्गत शैक्षिक बेरोजगार महिलालाई उद्यमशील बनाउने अभियानअन्तर्गत १२ कक्षा पास गरेका बेरोजगार महिलालाई रु ५० हजारका दरले अनुदान वितरण गरिनेछ ।

यसैगरी जिल्लाको म्याग्दे गाउँपालिकाले सुत्केरी आमा र बच्चालाई आवश्यक पर्ने पोषण आहारा खुवाउनका लागि सुत्केरी पोषण भत्ता उपलब्ध गराएको छ । गाउँपालिकाले ३८ जना सुत्केरी आमालाई जनही रु पाँच हजारका दरले पोषण भत्ता उपलब्ध गराएको हो ।

पोषणको अभावमा सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यमा समस्या नआओस् भनेर गाउँपालिकाले सुत्केरी आमालाई पोषण भत्ता दिने नीति ल्याएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समावेश गरेको थियो । अध्यक्षसँग सुत्केरी कार्यक्रमअन्तर्गत उक्त पोषणभत्ता उपलब्ध गराइएको श्रेष्ठले बताउनुभयो ।

थर्पु स्वास्थ्य चौकीमार्फत संस्थागत सुत्केरी सेवा लिएका २३ जना र जामुने स्वास्थ्यचौकीमा सुत्केरी गराएका १५ जना सुत्केरीलाई उक्त रकम उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker