गण्डकी प्रदेशसभा : आर्थिक विधेयकमाथि छलफल
भञ्ज्याङ समाचारदाता/पोखरा

गण्डकी प्रदेशसभाको विहीबारको बैठकमा आर्थिक विधेयक-२०८० माथि छलफल भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदेशसभामा विधेयकका सम्बन्धनमा छलफलका लागि प्रस्ताव गर्नुभएको थियो ।
उक्त विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, सीताकुमारी सुन्दासलगायतले भाग लिनुभएको थियो । छलफलका क्रममा सदस्यहरुबाट उठेका प्रश्नको आर्थिक मामिलामन्त्री आलेमगरले जवाफ दिनुभएको थियो ।
मन्त्री आलेमगरले आन्तरिक राजस्व वृद्धि गर्ने गरी विधेयक ल्याइएको बताउनुभयो । “राजस्व वृद्धि नगरिकन केन्द्रीय अनुदानमा मात्र भर पर्दा प्रदेशलाई स्थायीत्व दिन गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “राजस्व बढाउने नाममा जनजीविकामा नै असर पुग्ने गरी कर लगाउनु पनि हुँदैन ।”
मन्त्री आलेमगरले गैरकानूनी रुपमा सञ्चालनमा रहेका गिट्टीबालुवा प्रशोधन उद्योग दर्ताका लागि विशेष छुटको व्यवस्था गरिएको बताउनुभयो । उहाँले एक सय ५० सिसीसम्मको अपाङ्गतामैत्री स्कुटरमा कर निःशुल्क गरिएको उल्लेख गर्नुभयो।
आर्थिक विधेयकमाथिको छलफल सकिएपछि आगामी आव २०८०/८१ को बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्नेछ । प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।










