प्रथम दमौली पाटन सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा
भञ्ज्याङ समाचारदाता/दमौली

मंसिर २४ देखि पुस ३ गतेसम्म संचालन हुने प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटकीय महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । महोत्सवका मुल संयोजक एवं पाटन युवा क्लबका सल्लाहकार पवन चुमी थापा मगरले महोत्सवको तयारी ९० प्रतिशत भन्दा बढी भएको बताए ।
महोत्सव स्थल झकीझकाउ पार्ने काम र मादी नदीमा बाँसको पुल निर्माण गर्ने काम भइरहेको उनले बताए । महोत्सव स्थल प्रवेश गर्ने मुख्य प्रवेशद्वार, स्टेज बनाउने, स्टलहरुमा कपडा राख्ने काम भइरहेको पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताए ।
महोत्सव स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका स्टलहरु राख्ने काम भइरहेको जानकारी उनले दिए । बोटे जातिको संस्कृति झल्कने घर, निर्माण गरिएको छ । महोत्सव स्थलमा व्यास र पराशरको ऐतिहासिक सामग्रीहरु समेत स्टलको रुपमा राखिने बताइएको छ । महोत्सव स्थल जान २ वटा बसको व्यवस्था गर्ने भनिए पनि घुमेर जानुपर्ने भएकाले पछि मादी नदीमा बाँसको अस्थायी पुल निर्माण गरिएको छ । सो महोत्सवको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले उद्घाटन गर्ने बताइएको छ ।










