सन्दर्भ ४८औं पुष्पलाल स्मृति : पुष्पलाललाई मेरो चिठी !

विश्वबन्धु भण्डारी

आदर्णीय कमरेड माहिल्दाई (पी.एल)
लाल सलाम !
तपाई यस धर्तीबाट बिदा भएको पनि ४८ वर्ष बितेको छ । ०३५ साल श्रावण ७ गते तपाईको निधन भएको थियो । तपाईले अल्पायुमै यस धर्तिबाट भौतिक रुपमा विदा हुनु परेको कारण समयमा राम्रो उपचार नपाएर हो भन्ने विषयमा तत्कालीन समयमा तपाईका शुभेछुकहरुमा राम्रो जानकारी थियो। आज आएर मूलकको राष्ट्रिय राजनीतिको सत्ताको शक्तिअभ्यासमा पुगेका कम्युनिष्ट र त्यसका नेताहरु सामान्य टाउको दुखदा र ज्वरो आउँदा पनि हाम्रै मूलुकको उत्पादन सिटामल र यहाँका सरकारी अस्पतालमा उपचार गराउदैनन् आकाश मार्गबाट सिङ्गापुर युरोप र अमेरिका पुगिहाल्छन् । तसर्थ एउटा लामो काल खण्ड पार गदै गर्दा नेपाली राष्ट्रिय राजनीति र विश्व परिवेश अकलपनीय रुपमा परिवर्तन भई सकेको छ त्यती बेला र अहिलेको परिस्थितिको तुलना हुनै सक्दैन।
यो ४८ वर्षको अवधिमा मुलुकको राष्ट्रिय राजनीतिक र सामाजिक र आर्थिक परिवेशमा निकै ठुलो उथलपुथल आएको छ । गाउँ बस्ती उजाडिएका छन् युवा पिढी विदेश पलायन भई रहेका छन् । जतिबेला तपाईले नेपाली जनताको मुक्तिको अगुवा दस्ता एक मात्र कम्युनिष्ट पार्टीको परिकल्पना गरेर २००६ सालमा अरु ४ जना निरञ्जन गोविन्द वैद्य, नर बहादुर कर्मचार्य, मोती देवी श्रेष्ठ, नारायण विलास जोशी सहयोगीका साथ भारतको कलकतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । त्यति बेला दोस्रो विश्व युद्ध भर्खरै समाप्त भएको थियो एशिया, अफ्रिका, ल्याटिन अमेरिका लगायत नवस्वाधिन राष्ट्रिहरुको उदय र स्वाधिनताको लडाई अत्यन्त गतिवान रुपमा अगाडी बढ्दै थियो ।
यता नेपालमा कम्युनिष्ट पार्टीे स्थापनाको शैसव अवस्थामै राणाशाही विरुद्धको संघर्षमा नेपाल कम्युनिष्ट पार्टीले समाहित हुने अवसर प्राप्त भयो । यस्तो संस्थागत अभिभारा पूरा गर्ने प्रमुख भूमिका खेल्ने अवसर प्राप्त गर्ने प्रगतिशील नेपालीहरुले तपाईको योगदानलाई भूरि भूरि प्रशंसा मात्र होइन् इतिहासमा स्रोणाक्षरमा लेखि सकेको छ । दुरभाग्य २०१५ सालको आम चुनाबमा पुग्दा नपुग्दै पार्टी भित्र दक्षिण पन्थि अवसरवादले २०१४ सालको द्धितीय माधिवेसनबाट दक्षिण पन्थि राजावादी (डा. केशरजङ्ग रायमाझी) नेतृत्व कब्जा गरेको इतिहास साक्षी छ ।
मूलुका राजनीतिक दलहरुको परस्पर अविश्वास आपसी स्वार्थ र राजा महेन्द्रको शासन आफ्नै हातमा लिने दाउपेचबाट मूलुकमा प्रजातन्त्रको घाटी निमोठियो । २०१७ साल पौष १ गतेको फौजी काण्ड पश्चात् तपाई लगायत सयौँ र हजारौँको संख्यामा राजनीतिक दलका नेताहरु जेलको काल कोठरी र भारत निर्वासीत हुनुको विकल्प थिएन् । त्यही विकल्परहीत बाटो अवलम्बन गदै तपाईले भारतको बनारसमा निवासित जीवन बिताउनुभो । कतिले आत्मसम्रर्पण गरे । तपाई र तुलसीलाल अमात्य लगायत मिलेरे २०१९ सालमा तेस्रा ऐतिहासिक महाधिवेसन समपन्न गर्नुभो तर तपाई र तुलसीलाल अमात्यसँगै हिड्न सक्नुभएन। फेरि २०२५ सालमा ऐतिहासिक गोरखपूर सम्मेलन मार्फत पार्टी पुरै गठन भयो तर कारण के थियो ? मनमोहन अधिकारी, मोहन विक्रम सिं निर्मल लामाहरु तपाईको साथमा हिड्न सकेनन्  । अन्तत तपाईले मौखिक र दस्तावेजमै पार्टीको १८ वर्षीय सिहावलोकनमै उल्लेख भएको ‘पूर्व कोशी गुट पनि तपाईको आलोचक बनेर बस्यो तपाईकै भनाईमा (कोशी गुटका नेता मनमोहन अधिकारी र भरत मोहन अधिकारी) ।
अन्तत त्यही पूर्व कोशी गुटको समर्थन र उक्साहटमा पूर्वी नेपालको झापामा नकसलवादी प्रभावमा झापाली क्रान्तिकारीहरुको उदय हुन पुग्यो । २०३५ साल श्रावण ७ गते तपाईको भारतको डिल्लीमा उपचारकाक्रममा निधन भयो। तत्कालीन शाही सरकारले अन्तेष्टीका लागि नेपाल ल्याउने अनुमती दिएन । तपाईको अस्तु (खरानी) बनारसबाट रामचन्द्र चापागाई, राम बहादुर भण्डारी र पक्तिकारले नेपाल ल्याउने काम गरेको थियो। तपाईको निधनको ५ महिना पुग्दा नपुग्दै २०३५ साल पौष १० गते झापालीहरुको अगुवाइमा (सिपी मैनालीहरु) नेकपा मालेको स्थापना भयो । माले स्थापना हुँदा यस अगाडिका सबै कम्युनिष्ट पार्टीहरु दक्षिण पन्थी संशोधनवादी भएको आरोप सहित नेकपा माले नामको पहिलो कम्युनिष्ट पार्टी गठन भएको घोषणा गरिएको थियो । यस अगाडि २०३१ सालमा मोहन विक्रम र निर्मल लामाको नेतृत्वमा नेकपा मसाल नामाकरण सहित चौथो महाधिवेसनबाट दोस्रो पार्टी गठन भई सकेको थियो । (यसले पुष्पालाल र तुलसीलालको नेतृत्वमा सम्पन्न तेस्रो महाधिवेशनलाई मान्यता दिने काम गर्यो)
तर नेकपा मालेले आफुहरु नै पहिलो कम्युनिष्ट पार्टी भएको दावी गर्दै अगाडी आयो। यी दुवै पार्टीहरु गठन हुनु अगाबै मोहन विक्रम सिंबाट गद्दार पुष्पलाल नामक पुस्तक सार्वजनिक भई सकेको थियो । यता झापाली मालेले नेपालमा वास्तविक क्रान्तिकारी कम्युनिष्ट पार्टी नामाकरण गर्दै अगाडि आउनुले तपाईका प्रति उनीहरुको धारणा कस्तो थियो भन्ने विषयमा प्रस्ट नै छ ।
तपाईले शाही पञ्चायती व्यवस्थाको विरुद्धमा संयुक्त जनआनदोलन भन्दै आउनुभयो । कम्युनिष्ट र कांग्रेस एउटै मोर्चामा उभिएर मात्र प्रजातन्त्र पूनःस्थापना समभव छ भन्नुभएको थियो । अन्ततः निरङ्कुस पञ्चायती व्यवस्था विरुद्धको संयुक्त जनआन्दोलनका लागि २०४६ सालमा ७ बामको संयुक्त बाममोर्चा अध्यक्ष तपाईको धर्मपत्नी सहाना प्रधान यता नेपाली कांग्रेसका नेता गणेशमान सिंको प्रस्तावमा संयुक्त आन्दोलनबाट नै निरङ्कुस पञ्चायती व्यवस्था समाप्त भई संसदीय प्रजातन्त्र पुर्नस्थापना भयो । संसदीय प्रजातन्त्र पुनःस्थापना पछि नेपालका सबै बामपन्थीहरुले तपाईलाई संस्थापक नेता मान्दै आ–आफना दशतावेजमा आरोप फिर्ता लिन सुरु भयो । यति बेलासम्म नेपालमा कम्युनिष्ट पार्टीको संख्या दर्जन नाघिसकेको थियो । अन्तत प्रजातन्त्र पुर्नस्थापना भएको ५ वर्ष नपुग्दै ०५२ फागुनबाट नेकपा माववादीको शस्त्र द्वन्द्व सुरु भयो द्वन्द्वमा १७ हजार नेपालीले ज्यान गुमाए । १० वर्षको अन्तराल पछि २०६२/०६३ को जन आन्दोलनका उपलब्धी पछि तपाईका सहधर्मि एवं एक समयका कट्टर आलोचकहरु मनमोहन अधिकारी २०५१ मा नै अल्पमतको सरकारको नेतृत्व गर्ने अवसर पाए र यो ९ महिनाको कार्यकाल सफल पनि थियो ।
त्यसपछि पुष्प कमल दाहाल, प्रचण्ड, माधव नेपाल झलनाथ खनाल, डा. वावुराम भट्टराई, केपी शर्मा ओली लगायत ५ जना प्रधानमन्त्रीको कुर्चीमा बिराजमान हुने अवसर पाइसके । त्यो अवसरमा सयौँ संख्यामा मन्त्री हजारौको संख्यामा सांसद लगायतका सरकारी ओहदाका पद पाइसक्दा तपाईले स्थापना गरेको कम्युनिष्ट पार्टी र त्यसका नेताहरु भ्रष्टचार र सत्तादोहनको आरोपमा व्यापक आलोचित थिए । पार्टी भित्र हुनेखाने र हुँदा खानेको जमात सृजना भयो । अन्तत लोक रिजाइमा सत्तामा पुगेकाहरुले फाइल खोल्दै आरोपित गर्दै कठघरामा उभ्याउन थालेका छन्। आफनो प्रतिष्ठा जोगाउन धेरै नेताहरुको निदहराम भएको छ । कमरेड कतिले बदमासी गरे कतिलाई अरुले फसाए । यति बेला कुनै लेखजोखा छैन् ।
२०४८ यता पालैपालो सत्तामा पुगेका कम्युनिष्ट कांग्रेसका नेताहरुको मीलिभग्तमा विदेशी दाताहरुले सहयोग स्वरुप खोलिएका सरकारी संस्थान र उद्योग कलकारखानाहरु १) बासबारी छाला तथा जुत्ता करखाना २) हरि सिद्ध इट्टटायल कारखाना ३) सिमेन्ट उद्योगहरु ४) कृषि औजार कारखाना ५) जनकपुर चुरोट कारखाना ६) भृकुटि गौंडाकोट कागज कारखाना जस्ता दर्जनौ उद्योग धन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बिक्री वितरण गर्ने काम भयो । त्यसै बेला भारतसँग विवाददित महाकाली संधी पनि सम्पन्न भयो। शिक्षा स्वास्थ्य जस्ता जनताका आधारभूत सेवाक्षेत्र नेताहरुको व्यक्तिगत लगानीमा सञ्चालित छन् ।
भ्रष्टचार र कुसाशनको कारण २०८२ भाद्र २३ को जेन्जी पुस्ताको विद्रोह भाद्र २४ को विधंशको जगमा ०८२ फागुन २१ गते संसदीय निर्वाचनबाट नेपाली कांग्रेस ३८ सिट, नेकपा एमाले २५ सिट, नेपाली कम्युनिष्ट पार्टी १७ सिटमा खुसम्चन पुगेका छन्। नयाँ उदायको राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिट सहित सरकार संचालनमा छ। नेपाली प्रजातान्त्रीक आन्दोलनको संर्घषमा लामो यात्रा पार गरेका कम्युनिष्ट कांग्रेसका नेताहरु निर्वाचनबाट साँधुरो घेरामा खुम्चिन पुगेका छन् । यस्तो विषमपरिस्थीतिमा मुलुकको लोकतान्त्रिक भविष्य कतै दुर्घटनामा पर्ने हो कि यति बेला गहिरो चिन्ता र चासोको विषय पनि बनेको छ । मुलुकमा बितेको ३५ वर्षको अवधीमा भष्ट्रचारका काण्डहरु वाइटबडी जहाज, बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणआर्थी काण्ड, ओमनी, गिरीबन्धु टि स्टेट, दर्जनौ काण्डहरु छन् । जनता रमिते बनेर हेरिरहेका छन्।
सन् १९९० को दशकमा पूर्वी युरोपको रोमानीयाका निकोलाई चाउसेसको बिरोधमा उठेको जनलहरको भडकाबले पूर्वी युरोपका तत्कालिन इगोस्लाभिया, चेकोस्लाबाकिया, पोलेण्ड, पूर्वी जर्मन, रोमानिया, हग्री लगायत आठ देशका कम्यूनिष्ट शासन ढल्दै गर्दा तत्कालीन सोभियत संघका मिखायल गोबाचोकको गालस्नोस्त (खुलापन) प्रेस त्रोइका -प्रजातान्त्रिककरणको) जस्ता सुधारको हावाले सोभियत संघ विघटन भयो । यता नेपालमा भने कम्युनिष्टहरुको लागि मलिलो भूमि बन्दै गयो । जनता कम्युनिष्टहरु प्रति निकै आशावादी थिए । त्यो हावा भारत हुँदै नेपाल प्रवेश गर्ने ३५ वर्ष लाग्यो । नेताहरु जसरी पनि चुनाव जित्ने सत्तामा जाने जस्तो गठबन्धनलाई पनि पवित्र ठान्ने सत्ता आफ्नै पेवा सम्झने प्रवित्तिले २०८२ साल फागुन २१ को संस्दीय निर्वाचनमा धेरै कम्युनिष्ट नेताहरुले धुलो चाटे । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी अहिले आएर संघीय संसदमा निकै साघुरो अवस्थामा खुम्चिन पुगेका छन् । भ्रष्टचारका काण्डहरु एक पछि अर्को उछालेर अहिलेका सत्ताधारीहरुले सबैलाई आछु आछु पारेका छन्। जनता जर्नादन नेपथ्यबाट मुकदर्शक पो भएका छन् । कमरेड बेथितिको पराकास्ट कहाँ पुग्ने हो सत्ताको हालिमुहालिमा रमाएकाहरु यति बेला पानी बिनाको माछा जस्तो भएका छन् ।
माथि उल्लेखित केही प्रतिनिधि उदाहरण मात्र प्रस्तुत गर्ने जमरको गरे, ४८औं स्मृतिमा कमरेड पुष्पलाललाई शब्द श्रद्धाञ्जली !

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker