व्यासको अनुदान सम्बन्धी कार्यविधि पारित, फागुन २४ गते हाफ म्याराथन र २८ गते अल्ट्रा म्याराथन प्रतियोगिता
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले अनुदान वितरण सम्बन्धी कार्यविधि पारित एवं संशोधन गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले शैक्षिक वेरोजगार महिलालाई दिने अनुदान सम्बन्धी कार्यविधि, २०७८, वैदेशिक रोजगारबाट फिर्ता हुनेहरुलाई वितरण गरिने अनुदान वितरण सम्बन्धी कार्यविधि, २०७८ पारित गरेको हो । बैठकले कर्मचारी सेवा सुविधा मापदण्ड, २०७८ र नगरपालिकाबाट पुरस्कृत गर्ने सम्बन्धी कार्यविधि, २०७८ समेत संशोधन गरी पारित गरेको छ ।
यस्तै, अन्तर्राष्ट्रिय नारी दिवसका दिन सञ्चालन गरिदै आइएको महिला हाफ म्याराथन प्रतियोगिता फागुन २४ गते सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । महिला हाफ म्याराथन दमौलीदेखि तनहुँसुरसम्म सञ्चालन गरिने भएको छ ।
कोभिड-१९ को जोखिमका कारण स्थगित भएको व्यास नगर अल्ट्रा म्याराथन फागुन २८ गते सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । माघ १६ गते शहीद दिवसका दिन माघ १६ गते गर्दै आइएको व्यास नगर अल्ट्रा म्याराथन कोरोना कहरका स्थगित गरिएको हुँदा आगामि फागुन २८ गते गर्ने निर्णय गरिएको छ ।
कार्यपालिका बैठकले व्यास-५ मानुङदेखि व्यास-८ पुलिमराङसम्म म्याराथन गर्ने निर्ण्र्ाागरेको छ । म्याराथनलाई पर्यटन प्रबर्द्धनसँग जोड्न योजना नगरपालिकाले बनाउँदै आएको छ । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर प्रचारप्रसार गर्ने उद्देश्य राखिएको नगरप्रमुख न्यौपानेले बताए ।
व्यास नगरपालिका-५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका-८ पुलिमराङसम्म ४४ किमि दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे-चापाघाट-अनसन चौतारी-सफासडक-भोर्लेटार चोक-बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीवेशी-बगुवा रिस्ती-बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।
त्यस्तै, नगरपालिकाको चैत ३० गते स्थापना दिवस मनाउन नगरप्रमुखको अध्यक्षतामा मूल समारोह समिति, वडाध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा स्मारिका प्रकाशन समिति, वडाध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा पुरस्कार छनौट सिफारिस समिति गठन गरिएको छ । बैठकले फोहरमैला व्यवस्थापन लगायत विभिन्न विषयमा प्रत्येक वडा समितिको आयोजनामा टोल विकास संस्था र अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम एक महिनाभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ ।
कार्यपालिका बैठकले जथाभावी कुखुरा, अण्डा ओसारपसार कार्यले बर्डफ्लु आउन सक्ने हुँदा त्यसको निगरानी राख्न र समस्या देखिएमा तत्काल सूचना दिन सम्बन्धित सबैमा अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।










