म्याग्देको सार्वजनिक सुनुवाइ : बिजुली, बत्ती, पानीका बारेमा नागरिकको चाँसो
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अन्तरगतको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । म्याग्देको बेलटारमा मंगलबार आयोजित र्सार्वजनिक सुनुवाइ कार्यक्रममा सर्वसाधारणले विभिन्न जिज्ञासा राखेका थिए । सहभागीहरूले बाटो, पानी, बिजुलीका पोल लगायतका विषयमा जिज्ञासा राखेको थिए ।
कार्यक्रममा सर्वसाधारणले उठाएका जिज्ञासाको सहजिकरण गर्दै गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले आँफुहरूको पालामा थुप्रै बिकास निर्माणका काम भएको दाबी गरेकी थिइन् । सबै बर्ग क्षेत्रमा समानतासँगै आवश्यकताका आधारमा बजेट विनियोजन गरेको उनले बताइन् । उनले भनिन्, ‘हामीले विभेद गरेका छैनौं, सबै वडाका जनता हाम्रो लागि बराबर हुनुहुन्छ ।’
यस्तै, सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले गाउँपालिकाको श्रोत र साधनले भ्याएसम्मको सेवा सुविधा गाउँपालिकाले दिँदै आएको बताए । सँगसँगै कानुनले दिएको अधिकार भित्र रहेर काम गर्नुपरेकाले जनताले ल्याएका सबै काम चाहेर पनि सबै पूरा हुन नसकेको अधिकारीले बताए।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले राज्यले कानुन त बनायो तर कानुनको कार्यान्वयन गर्ने निकाय कुन हो- भन्दै यसले काम गर्न अफ्ठ्यारो पारेको बताए । गाउँपालिकाले यस बर्ष३ करोड ८५ लाख राजश्व संकलन गरेको उपाध्यक्ष घिमिरेले जानकारी गराए ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यबिधि जटिल भएकोले त्यसलाई चिरेर सहज बनाइ कार्यक्रम अगाडि बढाउँदै गरेको जानकारी गराउँदै उपाध्यक्ष घिमिरेले सुरुमा समग्र म्याग्देको भुगोल मिलाउन र स्थापित गराउन समय लागेको भन्दै उनले विभेदकारी काम गाउँपालिकाले नगरेको बताए । कार्यक्रममा वडा नं. ६ का अध्यक्ष बसन्त थापा, वडा नं. ७ का अध्यक्ष पद्मराज पौडेल लगायतले र्सवसाधारणको जिज्ञासाको सहजिकरण गरेका थिए ।
यस्तै, वडा नम्बर ७ का अपांगता भएका व्यक्ति दिपक भण्डारीले कानुनले दिएको अधिकार जति पनि आँफुले सुविधा पाउन नसकेको दुखेसो सुनाएका थिए । तुरतुरे टोल विकास समितिका अध्यक्ष प्रकाश भण्डारीले सबै वडामा समान नजर नभएर होकि किन हो वडा कार्यलय कोही बनेर सरिसक्यो कोही निर्माण सम्पन्न भएको छैन भन्दै जिज्ञासा राखेको थिए ।










