तनहुँको भिमाद-३ स्थित बुडुवाखोलामा पक्की पुल निर्माण

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भिमाद नगरपालिका-३ स्थित बुडुवाखोलामा पक्की पुल निर्माण गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पक्की पुल निर्माण सम्पन्न भएको हो । विसं २०७७ पुस १३ गतेदेखि पुल निर्माणको काम सुरु भएको थियो ।

पुल निर्माणका लागि विसं २०७७ साउन २८ गते गणेश कुण्ड निर्माण सेवा नुवाकोटसँग सम्झौता भएको थियो । दुइ करोड पाँच लाख ५७ हजार १४४ रुपैयाँको लागतमा पुल निर्माणको काम सकिएको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले बताए । १९.८ मिटर लामो पुलको चौडाइ छ मिटर रहेको छ ।

उक्त ठाउँमा पुल नहुँदा वर्षायाममा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । पुल निर्माणपछि यस भेगका बासिन्दालाई वारपारमा सहयोग भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम ठकुरीले बताए । वर्षाका बेला यो खेला निकै ठूलो हुन्छ ।

खोला तर्न हालिएका फड्के पनि बगाउँदा स्थानीयवासी मर्कामा पर्दै आएका थिए । विद्यालय जाने विद्यार्थी, घाँस दाउरा र मेलामात गर्ने स्थानीयवासीलाई खोला तर्न समस्या हुँदै आएको थियो । वर्षौदेखि मोटरेबल पुल बनाउन आवाज उठाउँदै आएका यहाँ स्थानीयवासीको माग गण्डकी प्रदेश सरकारले सम्बोधन गरिदिएको छ ।

वडाध्यक्ष भूपेन्द्रराज मल्लले यहाँ बनेको पुलले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । बाटो बने पनि पुल नहुँदा सवारी आउजाउमा समस्या भइरहेको बताउँदै पुल बनेपछि विकास र स्थायित्वको आवश्यकता पुष्टि भएको उनले बताए ।

आँबुखैरेनी गाउँपालिका-२ को भवन निर्माण सुरु

यसैबीच तनहुँको आँबुखैरेनी गाउँपालिका-२ को भवन निर्माण सुरु भएको छ । जनप्रतिनिधिको कार्यकाल सकिने अन्तिम चरणमा रहेका बेला बल्ल वडा कार्यालय भवन निर्माण सुरु भएको हो । उक्त भवनको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले शिलान्यास गरेका छन् ।

सो अवसरमा थापाले वडा कार्यालयको भवन नहुँदा सेवा प्रवाहमा असहजता भइरहेपनि भवन निर्माणपछि सहज हुने बताए । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र अन्य वडा कार्यालयको भवन निर्माण सम्पन्न गरिसकिएको उनले बताए ।

रु एक करोड २२ लाख ६४ हजार ५५६ को लागतमा वडा कार्यालय भवन निर्माण हुन लागेको हो । विसं २०७९ फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने गरी भक्तपुरस्थित मायादेवी कन्स्ट्रक्शनले जिम्मा पाएको छ । दुइ तलाको भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने वडाध्यक्ष कटकहादुर थापाले बताए ।

सामुदायिक भवनमा सञ्चालित वडा कार्यालय साँघुरो हुँदा सर्वसाधारणलाई सेवा दिन कठिन भइरहेको थियो । “एकैचोटि धेरै सेवाग्राही आउँदा बस्ने ठाउँ पनि हुँदैनथ्यो, सेवा प्रवाह दिन कठिन भइरहेको छ, नयाँ भवन बनेपछि सहजरूपमा सेवा दिन सक्छौँ, उनले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा दुइवटा भवनको उद्घाटन गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले पूर्वाधारयुक्त बनाउने उद्देश्यसहित सबै वडाका भवन निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि वडा नं १, ४ र ५ को भवन निर्माण सम्पन्न भएको छ । वडा नं २ र ३ ले सामुदायिक भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

यद्यपि उक्त भवनको भाडा भने तिर्नुपर्दैन । वडा नं ६ को भवन पनि छिट्टै निर्माण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसमेत निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । रु तीन करोड ८ लाख ७७ हजार ४६६ को लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker