सडकले नास्यो गाउँको सौन्दर्य : सुविधा भन्दा सास्ती धेरै
ध्रुवसागर शर्मा/गलेश्वर

असार सुरु भएको छ । मनसुन सक्रिय नभएकाले पानी परेको छैन । पानी पर्न थालेपछि बाढी र पहिरोको जोखिम बढ्ने हुँदा आवागमनमा समस्या हुने गर्दछ ।
वर्षा सुरु नहुँदै यहाँका ग्रामीण सडकमा यातायातका साधन सञ्चालनमा सास्ती हुने गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही गाउँपालिका-५ मा पर्ने देविस्थान गाउँ जाने सडकमा यातायातका साधन नगुडेको डेढ महिना भयो ।
सामान्य वर्षा हुँदासमेत बाटो बिग्रिएपछि दरवाङबाट चारघण्टा पैदल हिँडेर स्थानीय जाउआउ गर्न बाध्य भएका देवीस्थानका प्रेम सिउथानी मगरले बताउनुभयो। गाउँपालिका तथा नगरपालिकाले बजेट पारेर निर्माण भएका धेरै सडकको अवस्था वर्षाको समयमा बिग्रिने गरेको दरवाङका व्यवसायी अमृत सापकोटाको भनाइ छ । उहाँले गाउँपालिकाले करोडौं बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी नचल्दा सास्ती खेप्नु परेको बताउनुभयो ।
उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएको हुँदा गाडी गुड्ने खालको नभएको सापकोटाको भनाइ छ । डेढदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा बेग्लै रौनक थियो । बस्ती मोटरबाटोले जोडिएका थिएनन् । सदरमुकाम बेनी बजारबाट गाउँ उक्लिन घोडा चढ्नुपथ्र्यो वा पैदलै हिँड्नुपथ्र्यो । भारी बोक्ने भरिया र घोडा खच्चडको बथानले बाटोको यात्रा रमाइलो हुन्थे ।
अहिले जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये ४४ वडाका प्रत्येक टोलटोलमा सडक पुगेको छ । धवलागिरि गाउँपालिका-१ गुर्जा बाहेक सबै वडाका बस्ती-बस्तीमा सडक पुगेको छ । स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा सडक परेको छ ।
पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय तहको बजेटबाट जिल्लाका छ स्थानीय तहमा ७४ ग्रामीण सडक निर्माण भएका पूर्वाधार कार्यालय एवं स्थानीय तहको तथ्याङकमा उल्लेख गरिएको छ । सडक विस्तार भएसँगै ग्रामीण जनजीवनमा परिवर्तन ल्याए पनि प्राकृतिक स्रोतको विनास उत्तिकै गरेको जानकार बताउँछन् ।
ग्रामीण सडकका कारण ऐतिहासिक र पुरातात्विक सम्पदा नासिँदा बर्खाको समय ती सडकमा ठूला-ठूला पहिरो जाँदा मानवीयसँगै भौतिक सम्पत्तिको ठूलो क्षति भइरहेको छ । बिना इन्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकरात्मक असर पुर्याइरहेको छ । सडकका कारण पछिल्लो समय पानीका मुहानसुक्ने, मौलिक सम्पदा मासिनुका साथै कतिपयलाई घरबारविहीन बनाएको स्थानीय बताउँछन् ।
ग्रामीण क्षेत्रका धेरैजसो सडकमा हिउँदमा गाडी गुडे पनि वषर्ा सुरु भएपछि गाडी चल्न सक्दैनन् । गाडी नगुड्दा स्थानीयवासी पहिलेकै जस्तै पैदलयात्रा गर्नुपर्छ भने दैनिक उपभोग्य सामान पनि बोकेरै ल्याउनुपर्ने बाध्यता छ ।
“जिल्ल्ाा सदरमुकाम बेनी बजार र नगरपालिका क्षेत्रमा मात्रै होइन, पाँचवर्षअघिसम्म निकै दुर्गम र अनकण्टार मानिने ठाउँमासमेत अहिले सडक पुगेको छ” बेनी बजारका नैनकुमार श्रेष्ठले भन्नुभयो, “सडकले गाउँका जनतालाई सुविधा पनि दिएको छ र सास्ती पनि । बर्खाको समयमा सडककै कारण बाढीपहिरोको जोखिम बढेको छ भने गाडी नचल्दा जोखिम मोलेर पैदलयात्रा गर्नुपर्ने बाध्यतामा नागरिक छन् ।”
मालिका गाउँपालिका-६ का ५१ वर्षिय टेकबहादुर विकले सडकले सुविधा भन्दा पनि प्राकृतिक स्रोतको विनाश र बाढी सास्ती दिएको बताउनुभयो । “गाउँमा खनिएका सडकको अवस्थ्ाा निकै कमजोर छन् । साँघुरा र जोखिमयुक्त सडक हुँदा गाडी चल्दैनन्, गाउँको तल्लो क्षेत्रसम्म गाडी आए पनि माथिल्लो क्षेत्रमा बर्खामास गाडी पुग्न सक्दैनन्” उहाँले भन्नुभयो “चाहिएको बेला गाडी चढ्न पाइँदैन । सडक बनाउने नाममा कैयौँले खेतबारी र घरसमेत गुमाउनु परेको छ ।”
रघुगङ्गा गाउँपालिका-६ का डेकबहादुर शेरपुंजाले सडकले गाउँलेलाई धेरै सुविधा दिएको बताउँदै गाउँका खेतबारी, मठ मन्दिर र चौतारी पोखरीको भने नाश भएकोमा आफूलाई चिन्ता लागेको बताउनुभयो ।
“सडकका कारण बजारको सेवा सुविधा गाउँमा आए पनि सडकले विकाससँगै विनाश पनि निम्त्याएको छ । अव्यवस्थित रुपमा निर्माण भएका सडकमा हिउँदमा गाडी गुडे पनि बर्खाको समय ठप्प हुन्छ”, उहाँले भन्नुभयो, “बाढी र पहिरोको जोखिम पनि उस्तै छ” स्थानीय शेरपुंजाले भन्नुभयो ।
आवश्यकता भन्दा बढी गाउँमा सडक खनिएपछि सडकभन्दा तलपट्टीका धेरै बस्ती बाढीपहिरोका जोखिममा परेका स्थानीयवासीको भनाइ छ । “सडक खनिनुभन्दा पहिला गाउँ निकै रमाइला र हराभरा थिए, अहिले सडकले गर्दा उराठिलो बनेका छन्” बेनी नगरपालिका-२ का नारायण शर्माले बताउनुभयो ।
म्याग्दीमा बेनी-जोमसोम-कोरला, बेनी-दरवाङ, बेनी-मालढुङ्गा र बेनी-बागलुङ सडक खण्डको स्तरोन्नतिको काम भइरहेको छ । बेनी-बगरफाँट-सुर्केमेला-बरंजा, बेनी-अर्थुङ्गे-घतानलगायत ग्रामीण सडकको स्तरोन्नति र कालोपत्रको काम पनि हुँदैछ । अधिकांश ग्रामीण सडक भने जीर्ण बन्दै गइरहेका स्थानीयको गुनासो छ ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजकुमार थापाले अव्यवस्थित रुपमा निर्माण भएका सडकले गाउँको सुन्दरता नासिँदै गएकोले अब ग्रामीण सडक निर्माणमा निश्चित मापदण्ड पूरा गरेर मात्र काम गर्न दिइने बताउनुभयो । अहिले सबै पालिकालाई सडक निर्माण गर्दा इन्जिनिरिङ गरेर मात्रै निर्माण गर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो । रासस










