नगरकै बजेटबाट शुक्लागण्डकीको बाङ्गे खोलामा पुल निर्माण

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले आफ्नै बजेटमा पुल निर्माण गरेको छ । पुल निर्माणसंगै नागरिकको बर्षाैदेखिको प्रतिक्षा पुरा भएको छ ।
शुक्लागण्डकीको वडा नं. ८ र १० को सिमाना रहेको बाङ्गे खोलामा वर्षेनी बढेर आउने बाढीका कारण खोला तरेर विद्यालय जान नपाएका विद्यार्थी र विरामी हुँदा समेत जोखिम मोलेर तर्नुपर्ने बाध्यता पुल निर्माणसंगै अन्त्य भएको छ ।
‘अब हाम्रो बच्चाहरु खोला बढ्दा पनि स्कुल जान पाउने भए’, स्थानीय दिप नेपालीले भने, ‘विरामी हुँदा चाँडै अस्पताल जान नपाउने अवस्था थियो त्यो पनि सहज भयो । वडा र नगरपालिकाका प्रतिनिधीलाई पुलकै अभावमा आफुहरुले भोगेको समस्या बारम्बार जानकारी गराएपछि समाधान भएको छ ।’
पुल निर्माणपछि शुक्लागण्डकी–१० को कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मिनामखानी लगायतका गाउँका बासिन्दाले सहज सुविधा प्राप्त गर्ने वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले बताए । उनले भने, ‘वडाको सबैभन्दा महत्वपूर्ण योजना पुरा भएको छ, पुल निर्माणसंगै यस क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।’
नागरिकको समस्यालाई सम्बोधन गर्न तदारुकता देखाएको नगरपालिकाले छोटो समयमा नै पुल निर्माण गरिदिएको भन्दै स्थानीय हिमा भुजेलले खुशी ब्यक्त गरे । पुल निर्माणका लागि शिलान्यास भएको दुई महिना नबित्दै निर्माण भएको उनले सुनाए ।
बाङ्गे खोलामा निर्माण भएको पुलको निरिक्षण गर्न पुगेका शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नागरिकको चाहाना र आवश्यकताको आधारमा पूर्वाधार विकास गरिएको बताए ।
निर्वाचनको बेलामा जनतासँग गरेको प्रतिवद्धताहरुलाई क्रमैसँग पुरा गर्ने अभियानमा रहेको बताउँदै उनले भने, ‘विकासको मुलप्रवाहबाट पछि परेका नगरबासीको आवश्यकतालाई प्राथमिकता दिएर काम काम आगाडि बढाएका छौ ।’










