स्थानीय निर्वाचन : पालिकै पिच्छे कांग्रेसका दर्जन बढी आकांक्षी
भञ्ज्याङ समाचारदाता/दमौली
स्थानीय तहको निर्वाचन नजिकिएसंगै अहिले दलहरु वडा र पालिकाको आकांक्षी उम्मेदवारहरुको नामावली संकलनमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरु अहिले आकांक्षी उम्मेदवारहरुको नामावली संकलन तथा संकलित नामावलीहरु मध्येबाट सर्वसम्मत रुपमा उम्मदेवारी चयानका लागि कसरत गरिरहेका छन् ।
विशेष गरी सत्तारुढ दल नेपाली कांग्रेस तनहुँलाई अहिले स्थानीय पालिकाको उम्मेदवारी टुंग्याउन निकै सकस पर्न थालेको छ । नेपाली कांग्रेस तनहुँले जिल्लाका १० वटै पालिकामा प्रमुख/ उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा वडाध्यक्ष र सदस्य पदका आकांक्षीहरुको नामावाली संकलन गरेको छ । पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेद्वार छनोटका लागि आकांक्षीहरुको नामावाली संकलन सुरु गरेसंगै आवेदन दिनेहरुको होडबाजीनै चलेको छ ।
कांग्रेस व्यास नगर समितिले बुधबार आकांक्षीहरुको आवेदन संकलन गरेकामा व्यासको प्रमुख पदको दावा गर्दै १५ जनाले आवेदन दर्ता गराएका छन् ।
आवेदन दर्ता गराउनेमा वर्तमान नगर प्रमुख वैकुण्ठ न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, पार्टीका पूर्व सभापति रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, दिपकराज जोशी, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, पूर्व सचिव विश्व बाँस्तोला, अशोककुमार श्रेष्ठ, समुन्द्र गोदार, डम्बरबहादुर अधिकारी, शेषरमण न्यौपाने, हरिदत्त पौडेल, शंकर पौडेल, विद्या खनाल, वृषराज श्रेष्ठले नगरप्रमुख पद दाबी गर्दै आवेदन दर्ता गराएका छन् ।
यस्तै, नगर उपप्रमुख पदका लागि सात जनाको आवेदन परेको छ । हालका उपप्रमुख मिरा जोशी, नारायणी अधिकारी, कल्पना पोख्रेल, इन्दिरा दरै, नोमा थापा, मुन्नि शाही ठकुरी, वीणा कैनीले आवदेन दर्ता गराएका छन् ।
यस्तै, भानु नगरपालिकाको मेयरका लागि १५ जनाले आकांक्षा देखाउँदै नगरसमितिमा आवेदन दर्ता गराएका छन् । हालका नगरप्रमुख उदयराज गौलीले पुनः नगरप्रमुखका लागि इच्छा नदेखाएपनि वडा सदस्यमा आवेदन दिएको चर्चा चलेको छ ।
नगरप्रमुखको पद दाबा गर्दै वर्तमान उपप्रमुख आशा थापा, क्षेत्रीय सभापति श्याम मौराती, पूर्व सचिव लक्ष्मी आचार्य, चिनु पोख्रेल, आनन्दराज त्रिपाठी, टेकबहादुर गुरुङ, राजन श्रेष्ठ, विश्वेश्वर खनाल, दिपेन्द्र अधिकारी, कमल पण्डित, सहदेव अधिकारी, गोविन्दराज सिलवाल, उत्तमप्रसाद लोहनी, छत्रराज भण्डारी र अर्जुन अधिकारीले आवेदन दर्ता गराएका छन् ।
यस्तै, भनुको उपप्रमुखको पद दाबी गर्दै रामकुमार श्रेष्ठ, उर्मिला पन्त केसी, विष्णु भण्डारी, दुर्गा भण्डारी, सविता उप्रेती र संगिता जिसीले आवेदन दर्ता गराएको बताइएको छ । यता, शुक्लागण्डकी नगरपालिकाको प्रमुख बन्नलाई १० जनाले आकांक्षा देखाउँदै आवेदन दर्ता गराएका छन् । नगर समितिले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा वर्तमान प्रमुख किसान गुरुङ सहित १० जनाले प्रमुख पद दाबी गरेका छन् ।
शुक्लागण्डकीको प्रमुख पद दाबा गर्दै व्यवसायी कृष्णराज पण्डित, प्राध्यापक डा. कृष्णप्रसाद गौतम, महेश्वर भट्टराइ, भक्तबहादुर श्रेष्ठ, सन्तोष घिमिरे, खेमराज अधिकारी, श्रीराम सुवेदी, हरि वाग्ले र माधव भट्टराइले आवेदन दर्ता गराएका छन् ।
यस्तै, उपप्रमुखको पद दाबा गर्दै आठ जनाले पार्टीमा आवेदन दिएका छन् । तारा अधिकारी, चन्द्रकला भट्टराइ, टिकामाया पौडेल, पम्फा थापा, प्रकाश विक, कृष्णप्रसाद रेग्मी, रेशमलाल पौडेल र विना खनालले उपप्रमुखमा आकांक्षा व्यक्त गर्दै आवेदन दर्ता गराएका छन् ।
ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि १३ जनाले आकांक्ष व्यक्त गरेका छन् । कांग्रेसको राम्रो पकड रहेको यो पालिकामा अध्यक्ष पद दाबी गर्दै संविधानसभा सदस्य झुलबहादुर आले, वर्तमान अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, मोहन गिरी, पर्शुराम गिरी, इन्द्र आले, तिलबहादुर थापा, दुर्गाबहादुर राना, श्रीराम आले, लालबहादुर थापा, मथुराकृष्ण श्रेष्ठ, महेन्द्र अधिकारी र अशोक गिरीले आवेदन दर्ता गराएका छन् । गाउँपालिकाको उपाध्यक्षका लागि हालकी उपाध्यक्ष गिनुमाया थापा, सविना राना, पार्वती गिरी, लक्ष्मी मल्ल र इन्द्र आलेले आकांक्षा व्यक्त गरेका छन् ।
अन्य पालिकामा पनि कांग्रेसले आकांक्षी उम्मेदवारीहरुको आवेदन संकलन गर्ने कार्य गरिरहेको जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए । वडा र पालिकाबाट संकलित नामावलीहरु चैत्र २५ गतेसम्म क्षेत्रीय समितिमा आउने र क्षेत्रीय समितिले टुंग्याउन नसके चैत्र २८ गतेसम्म जिल्ला कार्य समितिमा नामावली आएपछि उम्मेदवारीको नामावली टुंग्याइने सचिव खनालले बताए ।
स्थानीय चुनावलाई केन्द्रित गरी कांग्रेस तनहुँले गत फागुन २८ गतेदेखि ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरिरहेको र त्यसले पार्टी संगठनमा सकारात्मक ऊर्जा थपेको कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए ।
‘अभियानसंगै पार्टीभित्र उम्मेदवार छनोटका सम्बन्धमा पनि छलफल तथा आकांक्षी उम्मेद्वारहरुको नामावली संकलन भइरहेको छ’, उनले भने, ‘गठबन्धन दलका बीचमा निर्वाचनमा मिलेर जाने विषयमा एक चरणको प्रारम्भिक छलफल भएको र पुनः चैत्र २७ गते गठबन्धनका साथीहरु बीच छलफल गरी चुनावी तालमेलका विषयमा कार्यादल निर्माण तथा के कसरी जाने र कुन पालिकामा कुन उम्मेद्वार उठाउने भन्ने विषयमा निर्णय लिन्छौ ।’










