सुशासनको जगमा उभिएर नेपालीको शिर उठाउने गरी काम गर्छौ : डा. वाग्ले

दमौली : प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुईवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गणलाई भत्काउँदै रास्वपाका उम्मेदवार भारि मतान्तरले विजयी हुन सफल भएका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्ले विजयी भएका छन् । शनिबार सम्पन्न मतगणनाअनुसार ३८ हजार ४० मत प्राप्त गरी वाग्ले विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले डा. वाग्ले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

डा. वाग्लेका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का भगवती न्यौपानेले ५ हजार ८३० मत र नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले २ हजार ३९३ मत प्राप्त गरेका छन् ।

१ लाख २६ हजार ८८२ मतदाता रहेको तनहुँ–१ मा ६६ हजार ६९८ मत खसेको थियो । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बाहेक अन्य उम्मेदवारले आफ्नो जमानतसम्म जोगाउन सकेनन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै डा. वाग्लेले मुलुकको ठूलो जिम्मेवारी काँधमा आएको महसुस भएको बताए । उनले भने, ‘रास्वपाको पक्षमा यो तरङ्ग आउनुको पछाडि मुलुकले जे देखिरहेको छ त्यो पछाडि आउने शान्तिपूर्ण क्रान्ति नै हो ।’

यस्तै, मुलुकलाई सही ट्रयाकबाट माथि उठाउने जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको बताउँदै डा. वाग्लेले भने, ‘उपनिर्वाचनमा निर्वाचित हुँदा सीमित अधिकारका बीच इमानदारीपूर्वक काम गरेको थिए र अहिले पुनः ठूलो जिम्मेवारी पाएको छु सबै मतदातालाई धन्यवाद ।’

चौथो आकारको दलको एकजना सांसद मात्रै नभईकन झन्डै झन्डै दुईतिहाइ उन्मुख संघीय सांसद र त्यो संघीय संसदले बनाउने संघीय सरकारको नेतृत्व गर्ने पार्टीको उपसभापतिको हैसियतले र सामयिक रूपमा देश बनाउने यो क्रममा मतदाताले साथ दिनुभएको उनले बताए।

सुशासन कायम होस् रोजगारीका अवसरहरू र सबैभन्दा महत्त्वपूर्ण जेन्जी आन्दोलनको जगमा जुन परिवर्तन भएको छ त्यो आक्रोशको सम्बोधन आंशिक रुपमा मात्रै सम्बोधन गर्न सकियो भने युवाहरुले आशा गर्न लाएकको मुलुक बनाउने भन्ने लक्ष्य छ, त्यसलाई न्याय हुने गरी अगाडि बढ्ने उनले प्रतिवद्धता जनाए ।

‘अबको कार्यभार आर्थिक क्षेत्र, सामाजिक सशक्तिकरणका मुद्दाहरूमा, सन्तुलित र सम्मानजनक राष्ट्रसम्बन्ध कायम गर्दै भौतिक पूर्वाधारमाथि नेपाली जनताको जुन चाहना छ यी सबै पूरा गर्ने असल शासकका रुपमा छिटोछिटो विकास गरेर देखाएर आशा जगाउने काम गर्न लागि पर्छौ’, डा. वाग्लेले भने, ‘यही मुलुकमा जीवन बिताउने आम जनताको चाहना छ, यसलाई सम्बोधन गर्दै सुशासनको जगमा आत्मसम्मान भएको नेपाल र नेपालीहरूले शिर उठाउन सक्ने गरी काम गर्नेछौं ।’

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले पछि पार्दै तनहुँ–१ बाट दोस्रोपटक संसदीय यात्रा तय गरेका डा. वाग्लेले २०८० को उपनिर्वाचनमा ३४ हजार ९१९ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९७ मतान्तरले पराजित गरेका थिए । उक्त उपनिर्वाचनमा ६३ हजार ७५७ मत खस्दा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेका थिए ।

को हुन् वाग्ले ?

वि.स. २०३१ जेठ १६ गते जन्मेका डा. स्वर्णिम वाग्ले गण्डकी प्रदेशको गोरखा जिल्लाको शहिद लखन गाउँपालिका–८ मा जन्मेका हुन् । बुबा जीवनराज वाग्ले र आमा स्वा. मञ्जु वाग्लेको कोखबाट जन्मेका वाग्लेको श्रीमती र एक छोरा छन् ।

डा. वाग्लेले उच्च माध्यमिक तहसम्मको अध्ययन बूढानीलकण्ठ स्कूलमा गरेका थिए । वि.स. २०४६ को एस.एल.सी. परीक्षामा उनी नेपालभर दोस्रो (बोर्ड सेकन्ड) भएका थिए । वाग्लेले अष्ट्रेलियन नेशनल युनिर्भसिटि, अष्ट्रेलियाबाट बिकास अर्थशास्त्रमा विद्यावारिधि हाँसिल गरेका छन् । यसैगरी, युनिर्भसिटि अफ क्यामब्रिज, बेलायतबाट अर्थशास्त्रमा एमफिल, हार्डवर्ड युनिर्भसिटि, अमेरिकाबाट अन्तर्राष्ट्रिय विकास÷सार्वजनिक नीतिमा स्नाकोत्तर र युनिर्भसिटि अफ दिल्ली, भारतबाट अर्थशास्त्रमा स्नातक अध्ययन गरेका छन्। यस कारण डा. वाग्लेलाई नेपालका उच्च शिक्षित अर्थशास्त्री राजनीतिज्ञमध्ये एकका रूपमा चिनिन्छन् ।

डा. वाग्ले अन्तर्राष्ट्रिय विकास अर्थशास्त्री हुन् । विगत २५ वर्षदेखि नेपालभित्र र बाहिर सक्रिय डा. वाग्ले वि.स. २०७७ देखि २०७९ सम्म राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए । त्यसअघि तीन वर्ष राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष पनि थिए । नेपाल फर्कनुअघि विश्व बैंक र यूएनडीपीमा वरिष्ठ अर्थशास्त्री रहिसकेका वाग्ले हाल काठमाडौं विश्वविद्यालयको सेनेट सदस्य एवं सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइ.आइ.डी.एस.) का अध्यक्ष छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा वि.स. २०२७ देखिनै उनको परिवारको संलग्नता छ। वि.स. २०४२ को सत्याग्रहदेखि राजनीतिक रुपमा दीक्षित र २०४६ को जनआन्दोलनमा सहभागी भएका वाग्ले नेपाली कांग्रेसको पूर्वमहासमिति सदस्य हुन् । वि.स. २०७९ र २०७४ को आम निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्नेदेखि आर्थिक नीति र योजना, कार्यक्रम र वैचारिक विमर्शहरुमा उनको नेतृत्वदायी भूमिकामा रहेका थिए ।

वाग्लेको २०४६ सालदेखि राजनीतिमा लगाव रहेको थियो । लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध रहेका वाग्ले २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा सहभागि भई सांसद बने ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker