ओली पक्षको दमौलीमा कार्यकर्ता भेला : शीर्ष नेताहरुले पदको लोभ गर्दा आजको अवस्था आयो

भञ्ज्याङ न्यूज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी तनहुँले सोमबार दमौलीमा वृहत कार्यकर्ता भेला गरेको छ । उक्त भेलालाई सम्बोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्यहरुले शीर्ष नेतामा पदको लोभ जाग्दा आजको अवस्था सृजना भएको दाबी गरेका छन् ।

भेलालाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले संसद विघटन रहरले नभई बाध्यात्मक परिस्थितिमा भएको बताएका छन्। ‘सडकबाट संसद पुनःस्थापनाको माग गर्नु पश्चगामी सोच हो’, मन्त्री रायमाझीले भने, ‘पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पदको लोभका कारण आजको स्थिति पैदा भएको र पार्टीभित्रैबाट सरकारका विरुद्ध षड्यन्त्र गरिदा यो अवस्था आएको हो ।’

‘सरकारले गरेको राम्रा काम र प्रशंसा बढ्दै जाँदा केपी शर्मा ओलीले एकछत्र राज गर्ने सम्भावना भएका कारण पार्टी भित्रैका मान्छेहरुको निन्द्रा हराम भयो’, मन्त्री रायमाझीले भने, ‘राष्ट्रिय अडान र विकासवादी नेताको हिसाबले केपी शर्मा ओली एकछत्र नेता हुने भए भन्ने हुटहुटीका कारण पार्टीभित्रैबाट उहाँलाई असहयोग भएको र अब हामी हराएर जाने भयौ भन्ने चिन्ताले उहाँहरुले सरकार असफल बनाउने खेल खेल्नु भएको छ ।’

मध्यावधि निर्वाचन गर्ने निर्णय सरकारको अग्रगामी कदम भएको बताउँदै मन्त्री रायमाझीले पद्धति बचाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुपरेको बताएका छन् ।

त्यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताहरुको कारण संसद विघटन भएको दाबी गरेका छन् ।

‘नेकपालाई विभाजन गर्ने तथा पार्टीलाई फुटाएर जाने प्रचण्ड-माधव फुटबादी र विभाजनकारी हुन्’, मुख्यमन्त्री गुरुङले भने, ‘केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी संस्थापन पार्टी हो । यही पार्टी संस्थापन भएको र यही पार्टीले नै सूर्यचिन्ह लिन्छ र निर्वाचनमा जनमत पनि पाउँछ ।’

‘यही पार्टी संस्थापन हो, यही पार्टीले सूर्यचिन्ह लिन्छ, सूर्य त आयो आयो, जहाँ सूर्य त्यहाँ नेपाली जनताको अभिमत, जहाँ नेपाल कम्यूनिष्ट पार्टी -नेकपा) त्यहाँ नेपाली जनताको अभिमत, जुन पार्टी एकता र एकीकरणको पक्षमा त्यहाँ नेपाली जनताको र्समर्थन’, मुख्यमन्त्री गुरुङले भने, ‘जुन पार्टी फुट र विभाजनको पक्षमा त्यो पार्टीलाई जनताले तिरस्कार र घृण गरेको नेपाली इतिहास हो ।’

यस्तै, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्र नबुझेकाहरुले मध्यावधि निर्वाचनको विरोध गरिरहेको बताएका छन् ।

‘अबको फैसला फोहरी खेल खेल्ने जनप्रतिनिधिले होइन जनताले फैसला गर्छन र जनतामानै जानुपर्छ भनि मध्यवधि निर्वाचन घोषणा गरिएको छ’, उनले भने, ‘यो कुनै असंवैधानिक कुरा नभएको र चुनावमा भोटहाल्नु जनताले प्राप्त गरेको अधिकार हो। सन्सारका लोकतान्त्रिक नागरिकले कहिल्यै पनि भोटलाई, आफ्नो अधिकार प्रयोगगर्ने कुरालाई अस्वीकार गर्दैनन् ।’

विघटित प्रतिनिधि सभाका सदस्य एवं जिल्ला कमिटी तनहुँका अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा आयोजित भेलामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले भूगोल फर्काउने अभियानमा लागेकै कारण केपी ओलीमाथि षड्यन्त्र भएको बताएका छन् ।

‘माधव-प्रचण्डले कानुन, विधिको मूल्य र मान्यतामा रहेर केही पनि काम गरेनन्’, उनले भने, ‘उनिहरु नैतिकहिन, संविधानहिन, असंवैधानिक, गैरकानुनीकाम गर्ने हुल्याहरुको जमात हो ।’

कानुन मिच्ने, विधि मिच्नेले नै विधिको कुरा गर्ने दाहाल-नेपाल पक्ष विधि विपरित कानुन विपरित, संविधान विपरित हुल्याहरुको हुल्लरवादहरुको जमात भएको सदस्य अधिकारीले बताएका छन्।

अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेताहरुले संसद कुनै पनि हालतमा पुनःस्थापना नहुने र अब मध्यवधि निर्वाचनको विकल्प नभएकाले वडावडा र टोलटोलमा पुगेर चुनावी अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker