गठबन्धन मुलुकको लागि अनिवार्य : उम्मेदवार भण्डारी
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर भण्डारीले गठबन्धन मुलुकको लागि अनिवार्य भएको बताएका छन् ।
क्षेत्र नं. २ अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा स्थापना गरिएको निर्वाचन सम्पर्क कार्यालयको मंगलबार उद्घाटन गर्दै भण्डारीले सो कुरा बताएका हुन् ।
लोकतन्त्रको स्थायित्वका लागि यो चुनावमा गठबन्धन गरिएको बताउँदै उम्मेदवार भण्डारीले स्थानीय तहको निर्वाचन गरिएको गठबन्धन जस्तै यो चुनावमा पनि अभिभारा पनि इमान्दारिताका साथ पालना गर्नु जरुरी रहेको बताए ।
विकासका हिसाबले पछाडि परेको क्षेत्र नं. २ को मुहार फेर्ने बताउँदै भण्डारीले क्षेत्र नं २ मा अझै पनि सडक, खानेपानी, विजुलीको समस्या रहेको हुँदा ति समस्यालाई समाधान गर्ने विषयमा विशेष ध्यान दिने प्रतिवद्धता जनाए ।

क्षेत्र नं २ धार्मिक, साँस्कृतिक र पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको क्षेत्र रहेको हुँदा यस क्षेत्रको पर्यटन विकासमा समेत विशेष पहल गर्ने बताउँदै उनले गण्डकी प्रदेशको राजधानीसंग जोडिएको भू-भाग भएको हुँदा यसलाई पोखरादेखि दमौलीसम्म जोड्न पहल गर्ने पहल गर्ने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले गठबन्धनको मर्म अनुरुप चुनावी प्रचारप्रसार अभियानमा लाग्नुपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोइरालाले संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य भएको बताइन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तनहुँका सभापति एवं क्षेत्र नं २(ख)का उम्मेदवार जीतप्रकाश आलेले जनतालाई मालिक बनाउने व्यवस्था लागि २०७४ को निर्वाचन पछि खतरा भएकोले यस पटक सत्तारुढ दलबीच गठबन्धन भएको बताए । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति चुडामणी खनाल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










