एमालेका उम्मेदवार तिम्सिना भन्छन् : “शुक्लागण्डकीलाई सम्वृद्ध बनाउँछु”
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार बनेका मुक्तिनाथ तिम्सिनाले शुक्लागण्डकीलाई सम्वृद्ध बनाउने बताएका छन् । चुनाव प्रसार अभियान र आफ्नो पक्षमा मत माग्दै नगरबासिको घरदैलोमा पुगेका उम्मेदवार तिम्सिनाले नगरबासीको आधारभूत आवश्यकतालाई सहज बनाउँदै आर्थिक सुशासन कायम गर्दै सवल र सक्षम नगरपालिका बनाउने प्रतिवद्धता जनाएका छन् ।
आफु निर्वाचित भएपछि शुक्लागण्डकीको सामाजिक र आर्थिक रुपान्तरणमा जोड दिने बताउँदै उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारको विकासलाई पहिलो प्राथमिकता दिने बताए । ‘कृषिको आधुनिकीकरण गर्दै उत्पादनमा आत्मानिर्भर बनाउने योजना छ’, उनले भने, ‘पशुपंक्षी पालनसँगै मौरी पालान र माछा पालन व्यवसायलाई प्रबर्द्धन गर्ने योजनाका साथ अगाडि बढ्छु ।’
‘कृषियोग्य भूमिमा सिंचाई सुविधा पुर्याउनेछौं’, उम्मेदवार तिम्सिनाले भने, ‘सम्बृद्धीको आधार नै उत्पादन हो । हाम्रो मुख्य जोडबल कृषि उत्पादनसँगै बजारीकरणमा हुनेछ । किसानलाई कृषि कर्ममा लाग्न प्रेरित गर्नेछौं । कृषि कर्ममा लागेका किसानको सम्मान हुने वातावरण बनाउनेछौं ।’
‘पाँच वर्ष भित्रमा शुक्लागण्डकी नगरपालिकामा सडक विस्तार र स्तरोन्नती गर्दै कालोपत्र गर्ने योजना बनाएका छौं’, उनले भने, ‘नगर वस संचालन गर्नेदेखि पर्यटन प्रबर्द्धन गर्न नगर क्षेत्रका ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरुको संरक्षण, साहसिक पर्यटन र ट्रेकिङ रुटहरु खोल्ने, होमस्टेलाई प्रबर्द्धन गर्ने योजनाका साथ हामी अगाडि बढ्छौं ।’
नगरलाई शिक्षा र स्वास्थ्यमा अब्बल बनाउने अठोटका साथ आफुले उम्मेद्वारी दिएको उनको भनाई छ । कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने, विद्यालय तथा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि छात्रवृतिको व्यवस्था गर्ने, समयसापेक्ष प्राविधिक शिक्षालाई जोड दिँदै भानुभक्त बहुमुखी वयाम्पसलाई गण्डकी विश्वविद्यालयसँगको समन्वयमा शिक्षण अस्पताल सञ्चालन गर्ने, निजी स्रोतका शिक्षकका लागि दरबन्दीको सृजना गर्ने प्रतिवद्धता तिम्सिनाले जनाएका छन्।
शुक्लागण्डकी नगरबासीको स्वास्थ्यको जिम्मा नगरपालिकाले लिने उनले बताए । नगरपालिकाले नगरवासीको स्वास्थ्य विमा लगायत गुणस्तरीय स्वास्थ्य उपचारको व्यवस्था गर्ने, गरिबीको रेखामुनी रहेका नगरवासीलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने उनले मतदातासंग प्रतिवद्धता जनाएका छन् ।
नेकपा एमालेले शुक्लागण्डकीमा विजयपश्चात युवाहरूलाई सिपमुलक तालिमको व्यवस्थापन गर्दै आत्मनिर्भर बनाउने उद्घोष गरिरहेको छ । मोबाईल मर्मत, हाउस वायरिङ, सिलाईकटाइ, प्लम्बिङ, कम्प्युटर लगायतका सिपमुलक तालिमको व्यवस्थापन गर्दै रोजगारीको सृजना गर्ने योजना एमालेका उम्मेदवारहरुले बनाएका छन् ।
यस्तै, नगरपालिकाको आन्तरिक आय वृद्धिका लागि स्थानीय स्रोत साधानलाई अधिक्तम परिचालन गरी नगरबासिको उन्नती र समृद्धिमा लगानि गर्ने एमालेका उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।









