बन्दीपुरको पर्यटन र प्राकृतिक सौन्दर्य

के.बि. मसाल

नयाँ बर्षको बेला धेरैको सोच घुमफिर गर्नेमा हुन्छ । नयाँ बर्षले सबैलाई नयाँ उत्साह र उमंग थपेको हुन्छ । नयाँ ठाउँको घुमफिरको मज्जा छुट्टै हुन्छ । नयाँ वर्षमा पारिवारिक सदस्य तथा साथीभाईसँग घुमफिरमा गएर रमाइलो गर्ने प्रचलन बसेको छ । घुमफिरलाई खुल्ला विश्व विद्यालय पनि भनिन्छ । घुमफिरले मानिसहरुलाई धेरै ज्ञान प्राप्त हुन्छ । घुमफिरको लागि कहा जाने ? सबैलाई नयाँ ठाउको खोजी हुन्छ। नेपालमा घुमफिर गर्ने धेरै स्थान छन्। प्राकृतिक सम्पदा संग रमाउने की ? तीर्थाटन गर्ने की ? ऐतिहासिक सम्पदाको अवलोकन गर्ने ? त्यसको निर्णय घुमफिरमा निस्कन भन्दा पहिलानै गर्दा राम्रो हुन्छ । घुमफिरमा निस्कनु भन्दा पहिले आफु पुग्ने स्थानको बारेमा जानकारी लिदा यात्रामा सजिलो हुन्छ ।
पर्यटकहरुले रुचि, समय र घुमफिरको लागि हुने खर्चको लेखाजोखा गरी यात्राको प्याकेज बनाउदा एउटै यात्रामा धेरै ठाउँ पुग्न सकिन्छ । घुमफिरमा समूहमा जादा खर्च पनि कम लाग्ने र यात्रामा रमाइलो पनि हुन्छ । तपाईं बन्दीपुर पुग्नु भएको छ ? अथवा धेरै पटक पुग्नु भएको होला । तनहुँ जिल्ला हिमाली जिल्ला त होइन तर बन्दीपुर बजार छेवैको टुँडिखेल हिमाल हेर्ने राम्रो भ्यू प्वाइन्ट हो । टुँडिखेलबाट हिमालको लामो लर्कन देखिन्छ ।
बन्दीपुरको टुडीखेल अथवा अन्य कुनै स्थानबाट बिहानपख सुनजस्तै टल्किरहेको हिम श्रृंखला अवश्य देख्नु भएको होला ? अथवा नयाँ पर्यटकहरुले देख्नु हुनेछ । यसरी देखिने हिमश्रृंखलाको नाम हो मनास्लु । संसारकै आठौं अग्लो हिमाल मनास्लु ८ हजार १६३ मिटर सँगै काँधमा काँध मिलाएर लहरै उभिएको देखिन्छ न्यादी चुली, हिमालचुली र बौद्ध हिमाल । हेर्दा जति सुन्दर छ । आरोहणका लागि कठिन मानिन्छ मनास्लु हिमाल । आरोहणका क्रममा थुप्रै आरोहीले जीवन गुमाएकाले मनास्लु हिमाललाई किलर माउन्टेन पनि भन्ने गरिन्छ । जतिसुकै कठिन भए पनि मनास्लु हिमाल पनि मानव पाइतालाको स्पर्श पाउनबाट चुकेको छैन । सन् १९५६ मा जापानी आरोही तोसी ईमानासी र उनका शेर्पा सहयोगी ग्याल्जेन नोर्बुले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।
मनास्लु हिम श्रृंखलालाई बुढीगण्डकी र मस्र्याङदी नदीले छुटयाएको छ । यो हिम श्रृंखला पारि पनि नेपाल छ भन्दा तपाईं छक्क पर्नुहोला । हो त, मनास्लु हिमाल भन्दा पल्लोपट्टी दुई हिमाली उपत्यका छन् जहाँ झण्डै दुई दर्जन गाउँ पर्दछन् । ती गाउँ सबै गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पर्दछ । तिब्बती मुलका भोटे समुदायको बसोबास रहेका ती गाउँ ताप्ले, लाजुङ, लार्के लगायतका हिमाली भञ्ज्याङमार्फत् तिब्बतसँग जोडिन्छन् । वर्षमा ६ महिना मात्रै खुल्ला रहने यी नाकाहरु जाडो मौसममा भने हिउँ जमेर ठप्प हुन्छन् । यी गाउँका मानिस दक्षिणतिर जानप¥यो भने बुढीगण्डकीको तिरैतिर अर्थात खोचैखोच आरुघाट झर्नेे गर्छन् ।
मनास्लु हिमालको ठयाक्कै पछाडि समागाउँ, साम्दो लगायत एक दर्जन गाउँहरु पर्दछन् । पूर्वतर्फ रहेको बौद्ध हिमालको पछाडि भने चुम उपत्यका पर्दछ । तपाईंले नेपालको नक्सा हेर्दा गोर्खा जिल्लाको उत्तरी भागमा तिब्बततिर धकेलिएको भाग देख्नु हुन्छ नी ? हो त्यहीँ पर्दछ त्यो उपत्यका । छेकम्पार, निले, चुले लगायत एक दर्जन गाउँ रहेको त्यो ठाउँ रहस्यले भरिएको हिमाली उपत्यका हो । तर बन्दीपुरबाट देखिने सबै हिमालको नाम र त्यहाको भूगोलको बारेमा जान्नको लागि भने पर्यटन गाइड भयो भने राम्रो हुन्छ ।
बन्दीपुरमा चीनको जस्तै झल्को दिने गरी बन्दीपुर मिनी ग्रेटवाल अर्थात पदमार्गले पर्यटकहरुलाई आकर्षण गराएको छ । बन्दीपुर बजारबाट सुरु भई ग्रेटवाल पदमार्गले थानीमाई, समिभञ्ज्याङ हुँदै मुकुन्देश्वरी गढी जोडने योजना रहेको छ। थानीमाई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग निर्माण पछि आन्तरिक पर्यटक वृद्धि हुँदै गएको छ। पदमार्गमा अन्य दिनको तुलनामा शुक्रबार र शनिबारका दिन पर्यटकको बाक्लो भीड लाग्ने गर्दछ । बन्दीपुरमा पर्यटकहरुका लागि बास बस्न होटलहरु धेरै छन् । पर्यटकहरुलाई बास बस्न बन्दीपुरमा पाँच सयदेखि चार हजार रुपैयाँसम्मका होटलमा कोठा पाइन्छ । बन्दीपुरमा हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँघर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिजेललगायत सानाठूला गरी ५७ होटल तथा २२ घरबास सञ्चालनमा छन । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० सम्म पर्यटकले रात बिताउन सक्दछन । बन्दीपुर बजार आसपासका क्षेत्रमा नेवार, क्षत्री, सुनार, मगर र कपालीका घरमा होमस्टेको सेवा छ ।
बन्दीपुरमा मुख्य बजार क्षेत्र ६ सय मिटर लम्बाइमा फैलिएको छ । मुख्य बजारको क्षेत्रमा सवारी साधन निषेध गरिएको छ । सडक बीचमा ढुँगा छापिएको दायाँ–बायाँ इँटा, माटो, काठ र टायलले बनेका मौलिक सस्कृतिका घरहरु छन । घरहरु कलात्मक झ्याल ढोकाबाट निर्माण भएका छन् । बन्दीपुर बजारका प्रायः घरमा होटल÷रेस्टुरेन्ट रहेका छन। तिनका आँगनमा बसेर पर्यटकहरुले खान पिन गर्न सक्दछन् । बन्दीपुरमा नेवार समुदायको बसोबास हुनुअघि बजारमा मगर जातीको बस्ती थियो । अहिले बन्दीपुरमा जातीय विविधता देखिन्छ । गुरुङ, मगर, नेवार, क्षत्री, बाहुन मिलेर बसेको रंगिन फूलबारीजस्तै भएको छ बन्दीपुर । बन्दीपुरबाट तल मस्र्याङ्दी भ्याली आकर्षक देखिन्छ । बिहान सेतो कुहिरोले ढपक्कै ढाक्दा सेतो तलाउझैँ पर्यटकहरुले अनुभव गर्न सक्दछन् । दिउँसो मौसम खुलेपछि तल–तलका बस्ती, खेतबारी र नागवेली आकारमा बग्ने मस्र्याङदीको सौन्दर्यले पर्यटकहरु रमाउछन् ।
बन्दीपुर बजारमाथि डाँडामा एउटा गुम्बा छ । गुम्बाभित्र शाक्यमुनि बुद्धका मूर्ति रहेको छ । डाँडामा एउटा शहीद स्मारक छ । वि.सं. २००७ को जनक्रान्तिका बेला तनहुँका सात जना शहीद भएका थिए । पुलिम¥याङका धर्मध्वज थापा, तनहुँसुरका उत्तमकुमार श्रेष्ठ, धर्मराज श्रेष्ठ र सन्तबहादुर रानामगर, सिम्पानीका चन्द्रबहादुर सार्की तथा वसन्तपुरका खडगबहादुर गोदार । पर्यटकहरुले त्यहाँ पुगेर उनीहरुप्रति श्रद्धाको मनफूल चढाउन सक्दछन् । अर्को तर्फ पदयात्रामा रमाउने पर्यटकहरुले बन्दीपुर पुगेपछि बजारबाट गुरुङचेडाँडा, बाहुनभञ्ज्याङ, झारागाउँ हँुदै ताकमारेको डाँडा, छिम्केश्वरी, रामकोट, हिलेखर्क, बाघथला हाइकिङ गर्न सकिन्छ। नजिकैको गुरुङचेडाँडा सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक पुग्ने गर्दछन् । सिद्धगुफाः बजारबाट डेढ घण्टा तल पर्दछ । सिद्धगुफा भित्र कतै साँघुरो गल्छी छ भने कतै फुटबल खेल्न मिल्ने फराकिलो चौर । साथै, विभिन्न देवदेवीका आकृति झल्काउने चित्राकृति पनि पर्यटकले देख्न सक्दछन् । गुफा पूरै घुम्न तीन घण्टा लाग्दछ । गुफामा गाइडबिना घुम्न सकिँदैन । टिकट काउन्टरमा गाइड सुविधा पाइन्छ ।
पर्यटनको लोकप्रिय गन्तव्यका रुपमा बन्दीपुर सूचीकृत भइसकेको छ । त्यसैले त पहाडकी रानी उपमा पाएको बन्दीपुरमा विदेशीभन्दा नेपालीहरु धेरै पुग्दछन् । बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ। नेवार जातीको रहनसहन, सस्कृति र प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन्। बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पनि पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको अर्को विशेषता हो। बजारबाट दश मिनेटको दुरीमा रहेको टुँडिखेलबाट हिमाल मात्र होइन फराकिलो क्षितिजमा फैलिएका तनहुँ, लमजुङ र गोरखा जिल्लाका फाँट, पहाड र गाउँ पनि देखिन्छन्। हिमाल र मस्र्याङदी नदीले बनाएका उपत्यका हेर्दा बन्दीपुर पुग्ने जो कोहि पर्यटक आनन्द महसुस गर्दछ । बन्दीपुरलाई मौलिकताको नमुना सहर भनिन्छ । बन्दीपुरमा रहेका परम्परागत घरका कारण बन्दीपुरको पर्यटनमा टेवा मिलेको छ । काठका बुट्टा कँुदिएका झयाल तथा ढोकाहरु, प्यागोडाशैलीका घर पर्यटनका लागि बन्दीपुरको मुख्य आकर्षण हुन । कतिपय पर्यटकहरु तिनै घरहरुको फोटो लिने गर्दछन् ।
बन्दीपुर डुम्रे बजारबाट दक्षिणमा झण्डै चार हजार पाचँसय फिटको उचाईमा पर्दछ । बन्दीपुर प्रकृति र संस्कृति दुवै रुपमा जीवन्त धरोहर बनेर उभिएको छ। बन्दीपुरको इतिहास लामो छ। पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि ब्यापारको नयाँ सम्भावना खोज्ने क्रममा भक्तपुरका नेवारहरुले वन्दीपुरलाई उत्तरी पहाड र दक्षिणी मदेश जोडने ब्यापारी नाकाको रुपमा विकास गरेका हुन। आफ्नो शिप र उद्यमशिलताको ब्यापारको शिलशिलामा भक्तपुरबाट नेवारहरु बन्दीपुरमा बसाई सरेका हुन । भक्तपुरे नेवारहरुले उपत्यकाको परिस्कृत संस्कृतिको नमुना झल्काउने वन्दीपुरमा बिकास गरे। बन्दीपुरमा भक्तपुरबाट नेवार सम्प्रदाय मात्र आएनन् । उनिहरुले आफ्नो कला, सँस्कृति, ब्यापारी शिप, भवन शैली, कालीगढ पनि साथै ल्याएर बन्दीपुरलाई आकर्षक स्थल बनाएका हुन । बन्दीपुरमा नेवारले बनाएका भक्तपुरे शैलीमा निर्माण भएका घरहरुले पर्यटकहरुलाई लोभ्याउछ । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ ।
पर्यटकहरुका लागि बन्दीपुरले सुन्दर गन्तव्य बोकेको छ । प्राकृतिक सौन्दर्यको ताज सिउरेर बन्दीपुर बसेको छ। प्राकृतिक सम्पदा र ऐतिहासिक धरोहरको जिउँदो सभ्यताको रुपमा बन्दीपुरको आकर्षण आज पनि उत्तिकै ताजा छ । पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो । मंसिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दीपुरमा सुन्तलाको स्वाद लिन पाउनुहुन्छ । जेठदेखि असारसम्म बन्दीपुर पुग्नेलाई बाटैभरि चौबीस जातिका सुनगाभा फुलले स्वागत गर्दछ । २०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सरेपछि बन्दीपुरको चहल पहल बिस्तारै हराउदै गयो । धेरै घर परिवारले विस्तारै बन्दीपुरलाई छाडदै गए। तर पनि बन्दीपुरलाई प्रकृतिले भने कहिल्यै साथ छाडेन । बन्दीपुर छाडेर अन्यत्र बसाइँसराइ गरेकाहरुले बन्दीपुरलाई पर्यटन मार्फत उकास्ने अठोट लिए । बिस्तापित बन्दीपुरे क्रमशः आफ्नो थलो फर्किए । बन्दीपुरमा विस्तारै होटल खुल्ने क्रम तीव्र भयो ।
अहिले बन्दीपुर पर्यटकका लागि स्वर्ग जस्तै ठाउँ बनेको छ। बन्दीपुरले अहिले काँचुली फेरेको छ । कोलाहल, धूँवा–धुलोबाट केही टाढा घुम्न जाने सोच बनाएका पर्यटकहरुलाई अहिले बन्दीपुर उत्कृष्ट गन्तव्य भएको छ । बन्दीपुर पुग्ने पर्यटकहरु यहाँको हावापानी, संस्कृति, रितिरिवाज देखेर आकर्षित हुने गर्दछन । एक दिन मात्रै बस्ने सोचमा पुगेका पर्यटक पनि बन्दीपुर पुगे पछि थप केही दिन नबसी फर्किंदैनन् । बन्दीपुरको आकर्षक बस्ती देखेर बन्दीपुर जानेहरु रमाउने गरेका छन । परम्परागत नेवारी संस्कृतिमा आधारित घरहरुले पर्यटकको आकर्षण बढेको छ ।
बन्दीपुरमा पिक्निकका लागि समेत विभिन्न जिल्लाबाट विद्यार्थी जाने गर्दछन । पृथ्वी राजमार्ग बनेपछि सदर मुकाम दमौलीमा सर्नु र ब्यापारीक केन्द्रपनि दमौली, डुम्रे, विमल नगर, खैरेनी, भन्सार, आदि स्थानमा विकास हुदै जाँदा बन्दीपुरे विस्तारै ब्यापारको खोजिमा विस्थापीत हुन पुगे । तर आज भोली वन्दिपुरको रनकै अर्कै छ । विस्थापीत बन्दीपुरे क्रमस पुन बन्दीपुरमा फकर्ने क्रम बढन थालेको छ ।
बन्दीपुरमा जाने पर्यटकहरुको लागि ऐतिहासिक धार्मीक स्थलहरु आकर्षण केन्द्र बनेको छ । बन्दीपुरमा १८औं शताब्दीमा स्थापित खडक देवीको मन्दीर विन्दवासिनी, थानिदेवी, नारायण, पारपानी महादेव, तिनधारा महादेव, मुकुन्देश्वरी, बन्दीपुरमाका मुख्य धार्मीकस्थल मानिन्छन । अर्को तर्फ नेवारी सस्कृतिका गाईजात्रा, विस्केत जात्रा, वाघजात्रा, लाखे र पाउदुरी जात्राले पनि बन्दीपुर पुग्ने पर्यटकहरुलाई छुट्टै आनन्द दिलाउछ । बन्दीपुरको रानीवन सामुदायिक वनको काखमा रहेको तिनधारामा आजभोली पिकनिक स्पोट भएको छ। बन्दीपुरबाट सुकौरा केशवटार, गुदी पोखरी भञ्ज्याङ हुदै सदरमुकाम दमौली पुग्ने मोटर मार्ग पनि छ । बन्दीपुर नामका बारेमा अनेकौ किम्वदन्दी छन । तर विश्वास लाग्ने केही कुरा यस्ता रहेका छन । गण्डकी क्षेत्रका अधिकास ठाउका नाम डी बाट उच्चारण हुन्छन् । जस्तै, राम्डी, माडी, मस्र्याङदी, चुँदी, दरौदी आदि.. । मगर भाषामा डि को अर्थ हुन्छ पानी । बन्दीपुर वर पर मगर जातिको बस्ति भएको र परापूर्व कालमा वनको पानी खानपर्ने भएकोले ठाउको नाम बन डी अर्थात वनको पानीबाट बन्दीपुर भएको भन्ने भनाई छ ।
आजभोली बन्दीपुरमा पर्यटकलाई थप सहज रुपमा यात्रा गर्न डुम्रे बजार नजिक रहेको ठुलो ढुङ्गोबाट बन्दीपुर जोडने केवलकार सञ्चालन गरिएको छ । केवुलकार सञ्चालन भए देखि बन्दीपुरमा पर्यटकहरुको चहल पहल धेरै हुने गरेको छ । पृथ्वी राजमार्गमा पर्ने बिमल नगर र डुम्रे बिचमा पर्ने ठूलढुङ्गामा तल्लो स्टेसन र बन्दीपुरको बरालथोक उपल्लो स्टेशन भएको बन्दीपुर केबलकार तनहुँको पहिलो र गण्डकी प्रदेशको तेस्रो केवुलकार हो । बन्दीपुर केवुलकारको दुरी एक हजार सात सय मिटर रहेको छ । पर्यटकहरुले केबुलकारको यात्रामा एसियाकै ठूलो मानिएको सिद्धगुफा र हरियाली डाँडाकाडाको मनोरम दृश्य अवलोकन गर्दै बन्दीपुर पुग्दछन ।
बन्दीपुरमा बाह्य पर्यटकमा अमेरिका, थाइल्याण्ड, चीन, भारत र कोरियाका बढी हुन्छन । बन्दीपुरमा ढुङ्गाले छापेको बाटोमा सवारीसाधन गुडाउन निषेध गरिएको छ । पुराना घर भएकाले पनि बाह्य पर्यटक आकर्षित हुने गरेका छन । परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको छ । काठका बुट्टा कँुदिएका झयाल तथा ढोका, इँट्टाबाहिर देखिने प्यागोडा शैलीका घर पर्यटनका लागि बन्दीपुरको मुख्य आकर्षणको रुपमा रहेका छन ।

कसरी पुग्ने ?

काठमाण्डौबाट १४३ कि मी र पोखरा बाट ७३ कि मी दूरीमा रहेको डुम्रे बजारबाट ८ किलोमिटर उकालो यात्रामा बन्दीपुर पुग्न सकिन्छ । डुम्रेबाट तनहुँको सदरमुकाम दमौली १८ किलोमिटर पर्दछ । पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ बन्दीपुर ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker