बन्दिपुर गाउँपालिका : पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न चन्द्रकोट गढीमा कार्यपालिका बैठक
भञ्ज्याङ न्यूज

पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दिपुरलाई थप व्यवस्थित र आकर्षक गन्तव्यका रुपमा विकास गर्न गाउँपालिका लागि परेको छ । बन्दिपुर बजार क्षेत्र क्षेत्रमा सिमिति रहेको पर्यटकीय गतिविधिलाई गाउँपालिकाका अन्य क्षेत्रमा समेत पुर्याउने गरी कार्यक्रमहरु अगाडि बढाइएको छ ।
गाउँपालिकाले पर्यटकीय सम्भावना बोकेका गन्तव्यको पहिचान तथा प्रवर्द्धनका लागि गाउँकार्यपालिकाको बैठक समेत गर्न थालेको छ । बाइस्से चौबिस्से राज्यको गढीको प्रवर्द्धन गर्नका लागि गाउँपालिकाले सोमबार वडा नं. ५ स्थित चन्द्रकोटमा ९०औं कार्यपालिका बैठक बसेको छ ।
ऐतिहासिक पर्यटकीय हिसावले आकर्षक गन्तव्य भएपनि प्रचारप्रसार प्रवर्द्धन नहुँदा ओझेलमा परेको चन्द्रकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ कार्यपालिका बैठक गरिएको अध्यक्ष पूर्णसिं थापाले बताए । ‘गाउँपालिकाले पाँच लाख रुपैयाँका लागतमा चन्द्रकोटको गढी पुनःनिर्माण गरी त्यसको उद्घाटन पनि गरिएको हो’, अध्यक्ष थापाले भने, ‘सबै कार्यपालिकाका सदस्यहरुलाई पर्यटकीय सम्भावना बोकेका स्थलहरु चिनाउने, पर्यटन प्रवर्द्धन गर्ने, पर्यटन सम्भावनायुक्त गन्तव्यको खोजी गर्ने बैठकको मुख्य उद्देश्य हो ।’

पुनःनिर्मित गढीको उद्घाटन गर्दै अध्यक्ष थापाले गढीको पुरातात्वीक महत्व रहेको बताए । ऐतिहासिक महत्व बोकेको यो गढी भग्नावेशेष भएपछि गाउँपालिकाले पुनःनिर्माण गरी संरक्षण गरिएको र यसको प्रवर्द्धन तथा संरक्षण गरी पर्यटकलाई आकर्षित गर्न अब स्थानीय बासिन्दाले पनि भूमिका खेल्न अध्यक्ष थापाले आग्रह गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा गरुङले गाउँपालिका क्षेत्रको विकास गर्न लागिपरेको बताइन् । ‘गाउँपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक, कृषि, पशुपालन लगायत विविध आयमले भरिपूर्ण रहेको र यी क्षेत्रलाई पर्यटनसंग जोड्न आवश्यक छ’, उपाध्यक्ष गुरुङले भनिन्, ‘स्थानीय भाषा संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटकीय गतिविधि मार्फ आर्थिक उपार्जनको माध्यम बन्नउन हामी सबै हातेमालो गरी अगाडि बढ्नुको विकल्प छैन ।’
गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत महेश सुवेदीले चन्द्रकोट गढीको इतिहासको खोजी गरी पर्यटकीय स्थलको रुपमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताए । उनले गाउँपालिकाले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको र गाउँपालिका क्षेत्र भित्र रहेको पर्यटकीय सम्भावना बोकेका स्थानको खोजी, प्रवर्द्धन तथा प्रचार प्रसार गर्न स्थानीय बासिन्दाको भूमिका महत्वपूर्ण हुने बताए ।
यस्तै, कार्यक्रममा वडा नं. १ का अध्यक्ष भानुभक्त पोख्रेलले चन्द्रकोट गढी संरक्षणमा गाउँपालिका सफल भएको बताउँदै चन्द्रकोट गढी विश्वमाझ चिनाउन आवश्यक रहेको चर्चा गरे ।
वडा नं. ५ का अध्यक्ष ध्रुव प्रसाद लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. २ का अध्यक्ष कृष्ण प्रसाद लामिछाने, वडा नं. ३ का अध्यक्ष हस्तबहादुर जिसि, वडा नं. ४ का वडा अध्यक्ष दान बहादुर थापा, वडा नं. ६ का अध्यक्ष सन्त बहादुर गरुङ, गढी पुनःनिर्माण समितका अध्यक्ष मन बहादुर गरुङ, वडासदस्य ठाकुर सिं थापा, स्थानीय पुरन बहादुर गुरुङ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

उक्त गढीमा ढाल, खुडा, तरबार रहेपनि संरक्षणको अभावका कारण ती हातहतियार अहिले हराएका छन्। पुरानो गाह्रोलाई आधार मानेर गढी पुनःनिर्माण गरीको र यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सम्बन्धित क्षेत्रले प्रचार प्रसार गरिदिनुपर्ने स्थानीय मिन बहादुर गुरुङले बताए ।
वडा नं. ५ को चन्द्रकोट गढीमा आयोजित कार्यपालिका बैठकले चालु आवाको योजना कार्यान्वयनका लागि उपभोक्ता समिति अभिमुखिकरण तथा सम्झौता, घाट ठेक्काको लागि बोलपत्र आव्हान गर्ने, डुम्रेका सटर तथा बसपार्क भाडामा लगाउन न्यूनतम मासिक भाडा निर्धारण, निकासी करको ठेक्काको लागि न्यूनतम शूल्क निर्धारण, ल्याण्ड फिल्ड साइटको आर्ईई/डिपिआर लगायतका विषयमा छलफल एवं निर्णयहरु भएको गाउँपालिकाले जनाएको छ ।
बैठकले २०७७/०७८ मा विपद् प्रभावितको लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई घर पुनःनिर्माणका लागि ५ लाख २० हजार उपलब्ध गराउने, विपद् प्रभावित क्षेत्रमा साना सिंचाई कार्यक्रम सञ्चालन गर्ने, पकेट क्षेत्रको निरन्तरता, व्यवसायिक सुन्तला पकेट क्षेत्र स्थापना, रैथाने बाली प्रवर्द्धन अन्तरगत मकै मिसन कार्यक्रम, तरकारी, खाद्यान्न, बाली मुल वीउ विरुवामा अनुदान कार्यक्रम, आलुको लागि माग संकलन गर्ने विषयमा समेत छलफल गरिएको बताइएको छ ।

यस्तै, पशु सेवा कार्यक्रम तर्फ हिउँदे तथा वर्षो घाँसको विरुवा वितरण कार्यक्रम अन्तरगत हिउँदे घाँस (जौ) को कार्यक्रम, भेटेरिनरी औषधी खरिद, बाख्रा पकेट क्षेत्रको निरन्तरता र सञ्चालन तथा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रका कार्यक्रमका विषयमा समेत छलफल गरिएको छ।










