सुन्तलका बोट मरेपछि नयाँ क्षेत्र विस्तार
भञ्ज्याङ न्यूज

सुन्तला पकेट क्षेत्रका रूपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ। उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान परिषद -नार्क) लुम्लेबाट आएको प्राविधिक टोलीले सुन्तला बोटको पिसिआर परीक्षण गर्दा भाइरस देखिएपछि नयाँ स्थानमा क्षेत्र विस्तार कार्य अघि बढाइएको हो।
भाइरस देखिएका सुन्तलाका बिरुवा हटाएर स्वस्थ बोट मात्रै राखिएको कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिए । उक्त क्षेत्रमा लगाइएका सुन्तलामा दाना ठूला र रसिला हुने गरे पनि रोगले आक्रमण गर्न थालेपछि हटाउन लागिएको हो।
सुन्तलाका बोट मर्दै गएपछि त्यस क्षेत्रका किसान चिन्तित भएका छन् । जिल्लाको अन्य पालिकाका सम्भावित स्थानमा क्षेत्र विस्तारको काम भइरहेको उहाँले बताउनुभयो। कार्यालयले यस वर्षऋषिङ गाउँपालिकाको दुबुङ र अर्चलादी र देवघाटको वडा नं ३ र ४ मा सुन्तला खेती थप गरेको छ ।
जिल्लाको व्यासनगरपालिका-१३ को बेनीकोट, शुक्ला-११ को नाम्सीकोट, म्याग्देको वडा नं १, २ र ३ सहित उमाचोक, आँबुखैरेनी-२ को बरादीमा सुन्तला ब्लक कार्यक्रम भइरहेको छ । कार्यक्रमअर्न्तगत बर्सेनि ब्लकले सुन्तलाका बिरुवा उत्पादन सहित क्षेत्र विस्तार गरी लगाएको हुनुपर्छ । उहाँले भन्नुभयो, “सुन्तलाको खेती विस्ताका लागि यस वर्षरु १२ लाख ५० हजार बजेट विनियोजन भएको छ ।”
सहकारी तथा समूहले प्रस्ताव पेस गरेपछि ब्लकलाई आवश्यक पर्ने रोग नियन्त्रणका लागि औषधि, सिँचाइ, तालिम, आवश्यक कृषि औजार लगायतका सीप र सामग्री कृषि ज्ञान केन्द्र तनहुँले सहयोग गर्ने गर्दछ । एउटा सुन्तला ब्लकमा १०० देखि २५० सम्म सुन्तला किसानहरू आबद्ध रहेको कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।










