संघ र प्रदेश सभा निर्वाचनका लागि तनहुँ कांग्रेसमा आकांक्षी उम्मेदवारको लर्को
भञ्ज्याङ न्यूज

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले आवेदन दर्ता गराएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले आकांक्षीहरूको आवेदन संकलन गरेकामा सोमबारसम्म तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि चार जनाले आवेदन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराइ र संविधानसभा सदस्य रामचन्द्र पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि आवेदन दर्ता गराएका छन् । वरिष्ठ नेता पौडेलले भतिज उद्धव पौडेलमार्फ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालयमा आवेदन दर्ता गराएका छन् ।
सुशासन, पारदर्शीता र गाउँको विकासलाई प्राथमिकता दिन आफू उम्मेदवार बन्न इच्छुक रहेको आवेदनमा उनले उल्लेख गरेका छन् । केही समय अगाडि गृह जिल्ला आउँदा पौडेलले आफू क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने बताएका थिए । केन्द्रीय सदस्य भण्डारीले जिल्ला सदस्य डम्बरबहादुर अधिकारीमार्फ आवेदन दर्ता गराएका छन् । भट्टर्राईले आइतबार आफैँ आवेदन दर्ता गराएका हुन् ।
त्यस्तै, तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि सोमबार कसैले आवेदन दर्ता नगरेको क्षेत्रीय सभापति चुडामणि खनालले जानकारी दिए । प्रदेशतर्फ भने प्रत्यक्ष र समानुपातिकका लागि आवेदन दर्ता गरिएको छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेस तनहुँले आकांक्षी उम्मेदवारको नामावली संकलन सुरु गरेको छ । तनहुँका दुइ प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फउम्मेदवार बन्न चाहने आकांक्षीको नामावली संकलन गरिएको हो ।
तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ भदौ १४ गते बेलुकासम्म आन्तरिक उम्मेदवारी दर्ता गर्न सकिने क्षेत्रीय सभापति श्यामकुमार मौरातीले बताए । प्रतिनिधिसभा समानुपातिकतर्फदलितमा यमुना खड्का विक र खुल्ला महिलामा मिरा जोशीले आवेदन दर्ता गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ प्रत्यक्षमा रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, दीपक भट्टर्राई, डोबाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शंकर पौडेलले आवेदन दर्ता गरेका छन् ।
समानुपातिकतर्फ कुलचन्द्र वाग्ले, कल्पना पोखरेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, सहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेल, कृष्ण रुचाल, उदयराज गौली, चिनु पोखरेल, ताराप्रसाद श्रेष्ठ, छत्रराज भण्डारी, विणा कैनी, वृषराज श्रेष्ठ, टेकबहादुर गुरुङ, समुन्द्र गोदार, नारायणी अधिकारी, श्यामकुमार मौराती र प्रताप गुरुङले आवेदन दर्ता गराएका छन् ।
प्रदेश (ख) तर्फ डम्बरबहादुर अधिकारी, दीपक भट्टराइ, रामचन्द्र अधिकारी, अर्जुन अधिकारीले आवेदन दर्ता गरेका छन् । समानुपातिकतर्फ रेशम गुरुङ, चिजा श्रेष्ठ, पुष्पादेवी श्रेष्ठ, प्रेमबहादुर गुरुङ, पवित्रा गौली, केशबहादुर सुनार, तमबहादुर दरै, विद्या खनाल नागिला, अमृतबहादुर नेपाली, बाबुराम श्रेष्ठ, राधादेवी खनालले आवेदन दर्ता गराएका छन् ।
क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता गराएकामध्ये प्रत्यक्षतर्फतीन जना र समानुपातिकतर्फएक महिलासहित दुइ जनाको नामावली सहमति भए सहमतिमा र नभए बहुमतीय आधारमा छनोट गरी जिल्ला कार्यसमितिमा सिफारिस गरिने क्षेत्रीय सभापति मौरातीले बताए ।
तनहुँ क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्यका लागि भदौ १६ गतेभित्र क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता गर्न आग्रह गरिएको क्षेत्रीय सभापति चुडामणि खनालले बताए । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले भदौ १९ गतेभित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउने तयारी गरेको छ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका उम्मेदवारको नामावली जिल्ला कार्यसमितिले भदौ १९ गतेभित्र केन्द्रीय समितिलाई पठाउने भएको हो ।
तनहुँका दुइ संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा आकांक्षीको नामावली संकलन गरी सम्बन्धित समितिबाट नामावली सिफारिस भई जिल्ला समितिमा आउने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।










