रवि लामिछानेलाई सरकारले ज्यादती गरिरहेको छ : वर्षमान पुन

आँवुखैरेनी : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले ज्यादती गरेको टिप्पणी गरेका छन् । पार्टीको तनहुँस्थित आँखुबैरेनी गाउँपालिकाको दोश्रो अधिवेशन उदघाटन तथा खबरदारीसभामा मंगलबार बोल्दै पुनले विभिन्न जिल्लामा घुमाएर सरकारले रास्वपासहित अरु दललाई तर्साउन लामिछानेलाई एकपछि अर्को जिल्लामा घुमाइरहेको बताए । पुनले लामिछानेलाई मध्यरातमा उठाएर चितवनबाट पोखरा लैजानुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताए ।
‘रवि लामिछानेमाथि छानबिन गर्ने कुरामा हाम्रो भन्नु केही छैन । तर, कहिले पोखरा, कहिले भैरहवा, कहिले काठमाडौं, चितवन र कहिले पर्सा हिंडाएको हिँडायै किन गरिएको छ? के अरु प्रतिपक्षी दललाई पनि तर्साउन खोजिएको हो ?’, उनले भने, ‘राज्यको नियन्त्रणमा रहेको व्यक्तिबाट सरकारले के खतरा देख्यो मध्यरातमा उठाएर मौलिक अधिकार, मानव अधिकार, र सामान्य प्रक्रिया पनि पुरा नगरी किन चितवनबाट पोखरा लगियो ?’ सहकारीका बचत हिनामिना भएका पीडितको रकम फिर्ता गराउन भन्दा पनि सरकार लामिछानेप्रति प्रतिशोध साँध्न तल्लीन रहेको पुनले बताए । सहकारी ठगी छानबिन गर्न गठित संसदीय समितिले दोषी औंल्याएका काँग्रेसका वरिष्ठ नेता र एमालेका सांसदलाई छानबिनको दायराबाहिर राखिएकामा पनि उनले प्रश्न गरे ।
सत्ता गठबन्धनका दल र आफू निकटका व्यक्तिहरु विभिन्न काण्डमा मुछिँदा उनीहरुलाई छानबिनबाहिर राख्ने तथा विपक्षी दल वा सामान्य मानिसहरुमाथि मात्र कारबाही अघि बढाउने सरकारको नियतले कानून सबैका लागि खराबर हुनुपर्ने सिद्धान्त खण्डित भएको उल्लेख गरे । ‘विपक्षी दलका नेतामाथि प्रशन उठ्नेवित्तिकै छानबिन गर्ने । अनि आफ्ना नेता र निकट मान्छेमाथि प्रश्न उठ्दा केही पनि गर्नुनपर्ने । के यही हो लोकतन्त्र, यही हो यो सरकारको सुशासनको मोडेल ?’, पुनले प्रश्न गरे ।
पुनले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लीलाबल्लब अधिकारीले मानव तस्करसँग मिलेर युवाहरुलाई विदेश लगेको खुलेपछि जापानको अध्यागमनले फिर्ता पठाएको प्रसंगको चर्चा गर्दै प्रहरीले १२ जनामाथि मुद्धा चलाउन सिफारिस गरेकामा अधिकारीबाहेक ११ जनालाई मात्र मुद्दा चलाइनुले सरकारको नियत स्पष्ट हुने बताए ।
‘जसले मान्छे लगेको छ, प्रधानमन्त्रीको दलको सांसद र नेता भएकाले उसलाई कुनै छानबिन र कारबाही गर्नुनपर्ने, जो गएको छ उसमाथि चाहिं कारबाही गर्ने यो कून प्रकारको कानूनी शासन हो ?’, पुनले भने । पुनले प्रधानमन्त्री केपी ओलीले बायाँबायाँ भ्रष्ट र अनियमितताका विभिन्न काण्डमा मुछिएका मन्त्रीलाई दायाँबायाँ राखेर सुशासनको भाषण गर्न नसुहाउने टिप्पणी गरे । ‘एकातिर स्काउटको जग्गा भाडामा लिएर पैसा नतिर्ने मन्त्री छन् । अर्कातिर नक्कली भुटानी शरणार्थीदेखि अनियमितताका विभिन्न काण्डमा मुछिएकाहरु बसेका छन्’, पुनले भने, ‘बीचमा बसेर प्रधानमन्त्री भन्नुहुन्छ भ्रष्टाचार गर्दिन र गर्न दिन्न। भ्रष्टाचारीको मुख पनि हेर्दिन ।’

उनले वर्तमान सरकार स्वार्थ समूह र बिचौलियाले बनाएको र उसैले चलाइरहेको आफूहरुको आरोप सरकारका एकपछि अर्को व्यवहारहरुले पुष्टि गर्दै गएको बताए। सुशासन र भ्रष्टाचार निययन्त्रण तथा राज्य दोहनमा संलग्नमाथि कारबाही अघि बढिरहेका बेला नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित एक व्यक्ति पक्राउ परेपछि छानबिनको सुई आफूहरुतिर सोझिने डरका कारण काँग्रेस–एमाले रातारात मिलेर सरकार बनाएको आरोप पुनले लगाए । ‘स्वार्थ समुह र विचौलियाको स्वार्थ टकराएका कारण हामी सरकारबाट बाहिरिन पुग्यौं। त्यतिेबला यो कुरा हामीले भन्दा माओवादीले सरकार छाड्दाका पीडा व्यक्त गरेको भनियो। आज सरकारका गतिविधि र तथ्यहरुले नै भनिरहेको छ कि हामीले त्यतिबेला भनेका कुरा सही थिए’, पुनले भने ।
पुनले नक्कली भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु टी स्टेट प्रकरण, बाँसबारीको सरकारी जग्गा हडपिएको जस्ता प्रकरण छानबिनका लागि तत्कालीन सरकारको पालामा खोलिएको फाइल ओली सरकारले बन्द गरेको आरोप लगाए । ‘ती प्रकरणहरुमा अघि बढेको छानबिन कहाँ पुगेको छ ?’, उनले भने । फरक प्रसंगमा उनले प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रहरी र राज्यका अरु निकायलाई आफू र आफ्नो दलका कोही नेता कुनै पनि अनियमितामा मुछिएको भए स्वतन्त्रतापूर्वक छानबिन गर्न सार्वजनिक रुपमै अपिल गरेको भन्दै वर्तमान प्रधानमन्त्री ओलीको त्यस्तो प्रतिबद्धता कतै सुन्न नपाइएको टिप्पणी गरे ।
ओलीमाथि कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौं लगानी गरेको आरोप लागे पनि कुनै जवाफ नआएको उनको भनाइ थियो । ‘सार्वजनिक जीवनमा भएका मान्छेमाथि सार्वजनिक रुपमा टिप्पणीहरु हुन्छन्। प्रधानमन्त्रीले कम्बोडियामा लगानी गरेको आरोप लाग्यो । तर, त्यसबारे प्रधानमन्त्री स्वयं, उहाँको दल र सरकारका तर्फबाट पष्टीकरण दिनुपर्छ कि पर्दैन?’, पुनले प्रश्न गरे ।
फरक प्रसंगमा पुनले सरकारमा जाने विषयमा आफूहरुले ध्यान नदिएको भन्दै संसदको यो कार्यकाल भरि मिलेर सरकार चलाउन काँग्रेस–एमालेलाई आग्रह गरे । सरकारले राम्रो काम गर्दा आफूहरुको साथ रहने भन्दै उनले अहिलेकै कार्यशैलीलाई निरन्तरता दिए जनतामा गएर फण्डाफोर गर्ने बताए । ‘हामीलाई सरकार बाहिर भएर केही छटपटी भएको छैन । काँग्रेस र एमालेले ०८४ सम्मै सरकार चलाओस्। हामी प्रतिपक्षमा बसेर सकरारलाई खबरदारी गर्छौं । राम्रो कामका लागि शुभेच्छा भए पनि सरकारले रामो काम गरेको छैन । आवश्यक पर्दा सडकमा गएर सरकारसँग जवाफ माग्छौं । विकृति र कूकृत्यहरुको भण्डाफोर गर्छौं’, पुनले भने ।
उनले जनमत सधैं एकै दलको नहुने कुराको संकेत हालै सम्पन्न स्थानीय निर्वाचनबाट प्रशन भएको भन्दै आगामी निर्वाचनमा आफ्नो दलतर्फ मतदाता आकर्षित हुने दाबी गरे । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र उदयपुरको बेलाका नगरपालिकाको एउटा वडामा गत निर्वाचनमा चौथो भएको आफ्नो दलका उम्मेदवार हालै सम्पन्न उपनिर्वाचनमा विजयी भएबाटै उक्त कुरा पुष्टि हुने तर्क पुनले गरे ।
उनले श्रीलंकाको उदहरण पनि प्रस्तुत गरे। ‘श्रीलंकामा पाँच वर्षअघिको चुनावमा अहिलेका राष्ट्रपतिको जम्मा ३ प्रतिशत मत आएको थियो । पाँच वर्षमा ५४ प्रतिशत पुग्यो । संसदमा तीन सिट मात्र भएको दलले दुई तिहाई बहुमत ल्यायो । बंगलादेशमा १५÷२० वर्ष शासनमा बसेका राष्ट्रपति अलोकप्रिय भएर देशै छाडेर भाग्नुप¥यो’, पुनले भने, ‘दुई ठूला दल मिलेर सबैलाई शासन गर्छौं भन्नेहरुको घमण्ड धेरै दिन टिक्नेवाला छैन । तत्कालको अंकगणित मात्र सबैथोक हुन सक्दैन।’
अध्यक्षमा गौली चयन
यस्तै, दोस्रो आँबुखैरेनी गाउँ अधिवेशनबाट अध्यक्ष खगराज गौली चयन भएको छन भने उपाध्यक्षहरू गङ्गाराम कोइराला, अंग्रेजी श्रेष्ठ, किसान थापा, सचिवमा विष्णु श्रेष्ठ, सहसचिव कमला पन्त र कोषाध्यक्ष गङ्गा बिक गरी ४५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।










