वरिष्ठ नेता पौडेलको अभिव्यक्तिले दमौलीमा खानेपानी वितरणमा समस्या

भञ्ज्याङ समाचारदाता/तनहुँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दे गाउँपालिका-१ गुणादीबाट दमौलीमा ल्याएर वितरण गरिएको पानीका विषयमा दिएको अभिव्यक्तिले गर्दा दमौलीमा शनिबार साँझदेखि खानेपानी अवरुद्ध भएको छ । गुणादी मुलको पानी अवरुद्ध हुँदा दमौली बजारमा खानेपानीको समस्या देखिएको छ ।

दमौलीमा आयोजित पार्टीको एक कार्यक्रममा पौडेलले गुणादीको चुन्याहा (चुन मिसएको) पानी खाँदा विगतमा दमौलीवासी बिरामी पर्ने गरेको र अहिले मादीको पानी खाएपछि सबै निरोगी भएको भन्दै अभिव्यक्ति दिएका थिए ।

पौडेलको उक्त अभिव्यक्तिले गुणादीवासीको मनमा ठेस लागेको स्थानीय युवाले बताएका छन् । गुणादी टोल सुधारका अध्यक्ष रन्जित आलेले विगतमा जामुने क्षेत्र नम्बर २ मा हुँदा पौडेललाई पटक पटक भोट हालेर जिताएपनि आज क्षेत्र फरक पर्दा गुणादीलाई हेला गरिएको आरोप लगाएका छन् । उनले भने, ‘प्रधानमन्त्री हुन्छु भनेर हिँड्ने मान्छेले त्यस्तो बोल्नहुन्थेन, यही गुणादीका घरमा पानी पुगेको छैन, तैपनि दमौली र गुणादीको सम्बन्ध बिगार्ने पक्षमा छैनौ ।’

तनहुँ सदरमुकाम दमौली आधुनिक शहर बनेसँगै गुणादीको पानीले यहाँको प्यास मेट्दै आएको छ । दमौलीलाई पानी दिंदै आएका गुणादीका बासिन्दाले भने वरिष्ठ नेता पौडेलले दिएको उक्त अभिव्यक्तिले आफूहरुको अपमान भएको बताएका छन् ।

उक्त भनाइलाई लिएर गुणादीवासीले पौडेलको आलोचना गरिरहेका छन् । मुहान बन्द गरेका युवाहरुले पौडेलले माफी नमागेसम्म पानी नखोल्ने अडान लिएका छन् । गुणादीवासीको यो अडानले दमौलीमा खानेपानीको हाहाकार भएको छ ।

दमौलीले तीन दशकदेखि गुणादीकै पानी खाने गरेको भन्दै उनीहरुले पौडेलको अभिव्यक्तिले गुणादीवासीको भावनामा चोट पुगेको बताएका छन् । ‘काकाकुल बनेको दमौलीलाई पानी खुवाउन भनेर हामीले हाम्रो खेत सुख्खा राखेर पानी दियौं,’ गुणादीका अनिल अधिकारीले भने, ‘धन्यवाद पाइएला भन्दा उल्टै लान्छना लाउने काम छ ।’

खानेपानी बन्द गरिँदा दमौलीवासीलाइ पर्न जाने असुविधाप्रति क्षमा माग्दै पौडेलले यथास्रि्र गुणादी आएर माफी माग्नुपर्ने अडान लिएका छन् । पानीको विवाद बढेपछि दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष वृषराज श्रेष्ठ, उपाध्यक्ष माधव अधिकारी, सचिव गौकुमारी न्यौपाने लगायत आइतबार गुणादी पुगेका थिए । त्यसक्रममा श्रेष्ठले गुणादीको पानी खाएर कोही पनि बिरामी नपरेको बताए । उनले भने, ‘जहाँसम्म पौडेल दाईले बोल्नुभएको कुराको सन्दर्भ छ, म उहाँलाई यसबारेमा जानकारी गराउँछु ।’

समितिको अध्यक्ष श्रेष्ठका अनुसार समितिले गुणादी मुहनाबाट ६ इन्च र ४ इन्चको गरी दुइ वटा पाइपमा नियमित पानी ल्याएर दमौलीका ३ हजार ६०० बढी उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । दमौलीको खानेपानीको प्यास मेटाउने मुख्य स्रोत गुणादीको मुहानबाट पानी आउन बन्द भएको र मादी नदीको पानी तान्ने ज्यानेटरमा पनि समस्या आएकाले नियमित पानी वितरणमा समस्या आएको अध्यक्ष श्रेष्ठले बताए ।

अभिव्यक्तिको गलत अर्थ लगाइयो : कांग्रेस

घटनामा पौडेलले माफी माग्नुपर्ने भन्दै सामाजिक सञ्जालमा विरोध भएपछि कांग्रेस तनहुँले विज्ञप्ति निकालेर अभिव्यक्तिलाई गलत रुपमा अर्थ्याइएको बताएको छ । पार्टी जिल्ला सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा पौडेलले गुणादीको पानी चुन्याहा र अपर्याप्त भएकाले त्यसको बदलामा मादी नदीको स्वच्छ पानीको योजना बनाउने कार्यमा पार्टीको सहयोग रहेको बताएको तर त्यसलाई झुटो प्रचार गरिएको उल्लेख छ ।

विज्ञप्तिमा गुणादीबाट दमौलीमा आइरहेको पानी अपर्याप्त भई त्यो पानी चुन्याहासमेत भएकाले बैकल्पिक श्रोतको रुपमा मादी नदीको स्वच्छ पानीको योजना बनाउने कार्यमा नेपाली कांग्रेसको सहयोग रहेको भनी बोल्नुभएको विषयलाई चुर्ना परेको पानी भनी अन्यथा प्रचार भएको विषयमा ध्यानाकर्षण भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker