प्रम रोजगार कार्यक्रममा रु सात करोड बजेट

- रासस (दमौली)
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले तनहुँका दश स्थानीय तहलाई रु सात करोड नौ लाख ३८ हजार सात सय बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/७८ को लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जिल्लाका लागि उक्त बजेट विनियोजन गरेको हो । यस कार्यक्रममा सशर्त अनुदानको रुपमा हस्तान्तरण हुने रकम ज्यालाको लागि मात्र हुने भएकाले श्रममूलक आयोजना छनोट र सञ्चालन गर्दा लागतमा साझेदारी गर्नुपर्ने भएमा स्थानीय कानून बमोजिम व्यवस्थापन वा संशोधन गरी आयोजना सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । सशर्त अनुदानको रुपमा प्राप्त रकम श्रमिकको ज्यालामा मात्रै खर्च गर्नुपर्ने र ज्याला भुक्तानी गर्दा सरकारले तोकेको न्यूनतम पारिश्रमिक रु पाँच सय १७ का दरले प्रदान गरिनेछ ।
मन्त्रालयका शाखा अधिकृत किसान न्यौपानेका अनुसार रोजगार कार्यक्रम सञ्चालनका लागि तनहुँका स्थानीय तहलाई रु सात करोड नौ लाख ३८ हजार सात सय बजेट विनियोजन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा तीन हजार ४७ बेरोजगार सूचीकृत भएका छन् । त्यसमध्ये चालु आर्थिक वर्षमा एक हजार ४८७ जनाले रोजगारी पाउनेछन् । सरकारले भानु नगरपालिकालाई रु ५१ लाख ९२ हजार, भीमाद नगरपालिकालाई रु ७३ लाख ६४ हजार, व्यास नगरपालिकालाई रु ८८ लाख ६३ हजार, शुक्लागण्डकी नगरपालिकालाई रु ९८ लाख ९७ हजार, आँबुखैरेनी गाउँपालिकालाई रु ९६ लाख ९० हजार, ऋषिङ गाउँपालिकालाई रु ६१ लाख २३ हजार, घिरिङ गाउँपालिकालाई रु ६८ लाख ४७ हजार, देवघाट गाउँपालिकालाई रु ६९ लाख ५० हजार, म्याग्दे गाउँपालिकालाई रु ८५ लाख एक हजार र बन्दीपुर गाउँपालिकालाई रु ७६ लाख ७४ हजार बजेट विनियोजन गरेको छ ।
भीमाद नगरपालिकामा ३२७ सूचीकृत भएकामा १४२, व्यास नगरपालिकामा ४८६ सूचीकृत भएकामा १७१, शुक्लागण्डकी नगरपालिकामा ५८९ सूचीकृत भएकामा १९१, आँबुखैरेनी गाउँपालिकामा ५६९ सूचीकृत भएकामा १८७, ऋषिङ गाउँपालिकामा १९६ सूचीकृत भएक्शामा ११८, घिरिङ गाउँपालिकामा २७२ सूचीकृत भएकामा १३२, देवघाट गाउँपालिकामा २८६ सूचीकृत भएकामा १३४, म्याग्दे गाउँपालिकामा ४४८ सूचीकृत भएकामा १६४, बन्दीपुर गाउँपालिकामा ३६० सूचीकृत भएकामा १४८ जना र भानु नगरपालिकामा १०० जनाले रोजगारी पाउनेछन् ।
जिल्लाको म्याग्दे र बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिसकेका छन् । म्याग्दे गाउँपालिकाले रोजगार कार्यक्रममार्फत् डडुवा गाउँको पैदलमार्ग मर्मतमा बेरोजगारलाई रोजगारी दिएको गाउँपालिकाका रोजगार संयोजक पविन्द्रकुमार शाहीले जानकारी दिनुभयो । सात वटा वडा रहेको गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फ् बेरोजगार सूचीमा रहेकालाई प्राथमिकतामा आधारमा रोजगारी दिइनेछ । बन्दीपुर गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् साइकल लेन निर्माण भइरहेको छ । गत आर्थिक वर्षदेखि शुरु भएको साइकल लेन निर्माण कार्यलाई बन्दीपुर गाउँपालिकाले चालू आर्थिक वर्षा पनि निरन्तरता दिएको हो ।
मुकुन्देश्वरीदेखि रामकोट जोड्ने गरी साइकल लेनको काम भइरहेको गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले जानकारी दिनुभयो । बेरोजगार सूचीमा प्राथमिकता क्रममा परेका अति विपन्न श्रमिकलाई गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रम अन्तर्गतका आयोजनामा परिचालन गरी रोजगारी प्रदान गर्ने गाउँपालिकाका रोजगार संयोजक गुरुङले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको थियो । गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायतका काम गरिएका थिए । रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् ।










