म्याग्देमा घुम्ती शिविर : घर नम्बर प्लेट टाँस्न सुरु
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर सुरु गरेको छ । गाउँपालिकाले वडा नं. १ स्थित मान्हौबाट घुम्ती शिविर सुरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले ओमबहादुर आलेको घरमा डिजिटल घरनम्वर टाँसेर शिविरको शुभारम्भ गरेका छन् । गाउँपालिकालाई डिजिटाइलेजशन गर्ने उद्देश्यसहित प्रत्येक जनताका घरमा नम्बर टाँस गर्ने गरी वडा नं. १ बाट घर नम्बर प्लेट टाँस गर्न सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
स्थानीय तह निर्वाचनबाट निर्वाचित अध्यक्ष श्रेष्ठले पहिलो निर्णयका रुपमा निःशुल्क रुपमा घर नम्बर प्लेट वितरण गर्ने निर्णय गरेका थिए। घरनक्सा पास भएका घरमा एकपटकका लागि निःशुल्क नम्बर प्लेट वितरण गरिने जनाइएको छ । सोही बमोजिम अब प्रत्येक नागरिकका घरमा नम्बर प्लेट टाँस गरिनेछ ।
गाउँपालिकाका सबै वडाका करिब तीन हजार दुइ सय भन्दा बढी घरमा नम्बर प्लेट टाँस गरिनेछ । घर नम्बर प्रणालीको विकासले घर पत्ता लगाउने समस्याको अन्त्य भई स्मार्ट सिटीको परिकल्पनालाई सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ ।
यस्तै, पालिकाले वडावासीको सहजतालाई मध्यनजर गरी गरिएको एकीकृत घुम्ति शिविरमा योजना सम्झौता, सुझाव तथा परामर्श, समान्य स्वास्थ्य परिक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधी वितरण, क्षयरोग स्कृनिङ, सुगर परिक्षण, पोषण सेवा, भिआईए स्कृनिङ, प.नि. सेवा तथा परामर्श र कोभिड-१९ विरुद्धको खोप संचालन गरिएको थियो ।
यस्तै, शिविरबाट व्यवसाय दर्ता, जन्मदर्ता, डिजिटल घर नम्वर प्लेट, जेष्ठ नागरिक कार्ड, उपभोक्ता समितीसंगको सम्झौता, महिलाहरुको पाठेघर जाँच, परिवार नियोजन सम्वन्धी जानकारी, रक्तचापको जाँच, कृषि वीउ विजन वितरण, पशुको गोवर परिक्षण, क्रयास्टेशन लगायतको सेवा दिईएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनताको सहजताका लागि घुम्तिशिविर शुरु गरिएको र पालिकाका सबै वडा र टोल टोलमा शिविर सञ्चालन गरिने बताए ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले एकीकृत घुम्ति शिविरले जनतामा उत्साह छाएको बताए । सेवाग्राही ओमबहादुर आलेले सेवाका लागि वडा र पालिकासम्म जानुपर्नेमा घरदैलोसम्म आएर सेवा दिएकोले जनताहरु खुशी भएको बताए । गाउँपालिकाले असोज ३१ गतेसम्म घुम्ति शिविर सञ्चालन गर्ने भएको छ ।