‘रेड लेडी’ मेवाको व्यवसायीक खेती

गोरखाको पालुङ्टार नगरपालिका–७ का कृषक रमेश श्रेष्ठले करिब २० रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा गरेको मेवा खेती । कृषक श्रेष्ठले पहाडी क्षेत्रमा व्यावसायिक रूपमा ‘रेड लेडी’ जातको मेवा खेती गरेर नयाँ सम्भावनाको ढोका खोलेका छन् । सामान्यतया मेवा खेती तराई क्षेत्रमा मात्र राम्रो हुने भन्ने धारणा रहेको अवस्थामा उनले पहाडी भूगोलमै आधुनिक प्रविधिसहित सफल खेती गरेर उदाहरण प्रस्तुत गरेका छन् ।
प्लास्टिक मल्चिङ प्रविधि अपनाई व्यवस्थित रूपमा रोपिएको मेवाखेतीमा बिरुवाको कृषि विकास कार्यालय गोरखाका वरिष्ठ कृषि विकास अधिकृत कुल प्रसाद तिवारीले स्थलगत अवलोकन गरी आवश्यक परामर्श दिएका थिए ।

उनका अनुसार ‘रेड लेडी’ मेवा हाइब्रिड जातको मेवा हो । यो जातका बिरुवाले रोपेको छोटो समयमै फल दिन सुरु गर्ने, एउटै बोटमा धेरै फल लाग्ने र बजारमा राम्रो मूल्य पाउने विशेषता बोकेको मानिन्छ । व्यावसायिक उत्पादन र आम्दानीका दृष्टिले यो जात किसानमाझ आकर्षक बन्दै गएको छ ।
पहाडी तथा मध्यपहाडी क्षेत्रमा समेत मेवा खेती सफल हुन सक्ने विश्वासका साथ व्यावसायीक खेती विस्तार गरेका कृषक श्रेष्ठले उचित व्यवस्थापन, सिँचाइ र पोषण उपलब्ध गराउन सके पहाडी हावापानीमा पनि मेवाको राम्रो उत्पादन लिन सकिने अनुभव सुनाएका छन् । करिब ४ लाख रुपैयाँको लागतमा गरिएको मेवा खेतीबाट २० लाख रुपैयाँसम्म आम्दनी लिन सक्ने लक्ष्य कृषक श्रेष्ठको रहेको छ । तस्विर : भञ्ज्याङ










