रोटरी क्लब अफ दमौलीद्वारा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

- भञ्ज्याङ समाचारदाता (दमौली)
रोटरी क्लब अफ दमौलीले बुधवार विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । क्लबले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका-२ टक्सार स्थित चन्द्राज्योति प्रथामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरेको हो ।
विद्यालयमा अध्ययनरत ३४ जनाविद्यार्थीलाई ट्रयाकसुट, जुत्ता, स्टकिङ्ग, मोजा लगायतका विद्यालय पोशाक, शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरिएको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले बताए ।
विद्यार्थीहरुका लागि जुत्ता र स्टकिङ्ग व्यापारी सुकनारायण मल्लले सौजन्य गरेका हुन भने अन्य सहयोग सामग्री क्लबकै तर्फबाट व्यवस्थापन गरिएको अध्यक्ष भण्डारीले बताए । कार्यक्रममा मध्यनेपाल-२ का वडाअध्यक्ष पदमबहादुर थापाले सहयोग प्रतिआभार व्यक्त गर्दै स्थानीय सरकारले गनुपर्ने काम क्लबले गरेको बताए । ‘वडाको शैक्षिक बिकासका लागि हामीले गनुपर्ने काम हो तर तपाईहरुले सघाउनुभयो’, थापाले भने । त्यस्तै प्राप्त सहयोगको सही सदुपयोग गर्न विद्यालय, अभिभावक र विद्यार्थीलाई थापाले सुझाव दिएका थिए ।
कार्यक्रममा रोटरी क्लबका अध्यक्ष दामोदर भण्डारीले नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई पूर्ण साक्षरता बनाउने लक्ष्य लिएकोमा सरकारको यस अभियानलाई सघाउन रोटरीले विगतदेखि नै विद्यालय र विद्यार्थीलाई सहयोग गर्दै आएको बताए ।
विद्यार्थीहरु विद्यालयमा आउन नसक्नुका कारणहरु पहिचान गरी विद्यालय आउन सहज वातावरण निर्माण गराइ हामीले सरकारको अभियानलाई सफल बनाउन सहयोग गरेको भण्डारीले बताए । क्लबले विद्यालयसँग समन्वय गरी विद्यालयकै आवश्यकताका आधारमा शैक्षिक सामग्रीहरु सहयोग गर्दै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा रोटरीका निवर्तमान अध्यक्ष सुरजकुमार मल्ल, पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठ, डिल्लीराम सुनार, वर्ष २०२१/०२२ का अध्यक्ष दिनेशकुमार श्रेष्ठ, वडा सदस्य आशा बर्यालकोटी, मंगला माविका प्रधानाध्यापक बिष्णुहरि बास्तोला, विद्यालयका प्रधानाध्यापक मनबल्लब खनाल, शिक्षक बसन्त गिरी लगायतले सहयोगको सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए ।