धान खेतीमा मेली बग रोग लागेर पहेलिएपछि कृषक चिन्तित
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिका-७ स्थित पयेरमा रहेको धान खेतीमा मेली बग रोगको संक्रमणले धान खेतीमा असर पारेको छ । करिव ३०० रोपनी क्षेत्रफलमा लगाइएको धान खेतीमा यो रोगले असर पारेको हो ।
झट्ट हेर्दा खैरे रातो रोग जस्तो देखिने भएता यसको रोकथामका लागि जिङ्ग सल्फेट विषादीको प्रयोग गरिएपनि केही सुधार नभएको कृषकहरुले बताएका छन् ।
धान खेतीमा रोगलागे र पहेलै हुँदै गएपछिछ कृषकले गाउँपालिकालाई जानकारी गराएको थियो । कृषकको गुनासो आएपछि गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, वडा नं. ७ का अध्यक्ष वसन्त कुमार श्रेष्ठ र कृषि प्राविधिकको टोलीले सो धान खेतीको निरिक्षण गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद खुमल्टार भैरहवाको परामर्शमा गाउँपालिकाको कृषि शाखाले कृषकलाई धानखेतीमा छर्कनका लागि औषधी उपलब्ध गराएको छ। धान खेतीमा यो औषधी छर्किसकेपछि केही सुधार भएता पनि निराकरण नभएको कृषक अम्विका वाग्लेले वताए ।
करिव ५० जना कृषकले ३०० रोपनी क्षेत्रफल खेतमा लगाईएको धान खेती मध्ये १७० रोपनी जग्गामा लगाईएको धानखेतीको १५ लाख बराबरको नोक्सान भएको कृषक वाग्लेले वताए । धानवालीको सुधारका लागि अर्को विषादीको प्रयोग गर्ने तयारी भएको कृषि शाखाका प्रमुख रुक्मित घिमिरेले बताईन् ।
धान काट्ने बेलामा रोग लागेपछि कृषकलाई समस्या परेको छ । यसको मुल्याङ्कन गरी यथोचित राहत उपलब्ध गराउन गाउँपालिकाले पहल गर्ने उपाध्यक्ष घिमिरेले बताए । यो रोगले म्याग्देमा मात्र नभई सुनसुरी, चितवन लगायत जिल्लामा पनि देखिएको बताईएको छ ।