म्याग्दे गाउँपालिका : अनुदान वितरणका लागि कृषकका १२२ व्यवसायिक फर्मको अनुगमन
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले व्यवसायिक कृषि पेशा अंगालेका कृषकहरुलाई अनुदान वितरणका लागि कृषि फर्मको अनुगमन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितिले १२२ वटा कृषकका फर्म अनुगमन गरेको हो ।
समितिले पालिकाभित्र दर्ता गरी सञ्चालनमा रहेका व्यवसायिक फर्मको अनुगमन तथा निरिक्षण गरिएकोमा संयोजक घिमिरेले बताए । अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, सदस्यद्वय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेल लगायतका टोलीले व्यवसायिक फर्मको अनुगमनमा सहभागि भएका थिए ।
कृषकलाई कृषि र उत्पादनमा अभिप्रेरित गर्नका लागि अनुदानको व्यवस्था गरिएको पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । अनुदान वितरणका लागि पालिकाले पालिका भित्रका व्यवसायिक फर्मको लागि निवेदन माग गरेको थियो । जसमध्ये १२२ जना कृषकले अनुदान पाउनका लागि पालिकामा निवेदन दिएका छन् ।
अनुगमनमा पुगेका टोलीसंग नवदुर्गा कृषि फर्मका संचालक युवराज शाहीले व्यवासायमा बैकंवाट ऋण लिएर ठुलो लगानी गरेको तर उत्पादित उपजको बजारीकरण हुन नसकेको गुनासो गरेका थिए । बजारको व्यवस्थापन नहुँदा आफुले उत्पादन गरेको दुधले बजार नपाएको गुनासो गर्दै उनले भने, ‘वास्तविक किसान मर्कामा परेको तर अनुदान तथा राहत अरुले नै पाउने गरेकाले अनुगमन समितिले यस तर्फ ध्यानदिनु पर्दछ ।’
गाउँपालिकाले व्यवसायिक कृषकलाई अनुदानमा चालु आर्थिक वर्षका लागि ३ लाख ५० हजार रुपैयाँको बोका, औजार च्याप कटरमा १ लाख, माछाको भुरा खरिदका, गोठ खोर निर्माणका लागि ४ लाख, लोकल कुखुराका लागि १ लाख विनियोजित गरेको छ । सोही बजेट वितरणका लागि आवश्यकतामा आधारित रहेर कृषकलाई अनुदान वितरण गर्न लागिएको अनुगमन समितिका संयोजक घिमिरेले बताए।
अनुगमन समितिले पालिकाका सातैवटा वडामा गएर व्यवसायिक फर्म अनुगमन तथा निरिक्षण गरी कृषकको वर्गीकरण र फर्मको आवश्यकता हेरेर अनुदान वितरण गर्ने तयारी गरेको छ । अनुदानका क्रममा पालिकाले कुखुरा तथा पशुपंक्षि पालन, माछापालन, वंगुर पालन, भैसीपालन, मौरी पालन, कुखुरा पालन, गाई फर्म, बोका निरिक्षण लगायतका व्यवसायिक फर्मको निरिक्षण गरेको थियो । वजेटका शिर्षक हेरेर त्यही सिमा भित्र रहेर कृषकलाई चाडै नै अनुदान उपलव्ध गराउने संयोजक घिमिरेले बताए ।
यस्तै, वास्तविक कृषक पहिचानका लागि अनुगमन तथा निरिक्षण गरिएको पालिकाका अध्यक्ष श्रेष्ठले बताए । ‘अनुदानका लागि धेरै जनाको आवेदन परेको हुँदा वास्तविक कृषकको पहिचान गर्न हामी फर्म निरिक्षणमा गएका हौं’, उनले भने, ‘अब अनुदानको प्रक्रिया अगाडी बढाउँछौं । कृषकको मागको हैन, आवश्यकताको आधारमा हामीले अनुदान दिनेछौ, जसले गर्दा वास्तविक किसानलाई अनुदानले व्यवसाय विस्तार र उत्पादनमा राहत मिल्ने हामीले विश्वास गरेका छौं ।’










