प्राकृतिक श्रोतमा आधारित विकासको अपरिहार्यता

एकराज सिग्देल

शुक्लागण्डकी नगरपालिकामा क्रियासिल शुक्ला सरोकार मञ्चको आयोजनामा हालै शुक्लागण्डकी नगरपालिकाको सभाकक्षमा शुक्लाको दिगो बिकासमा प्राकृतिकश्रोत संरक्षण र दिगो उपयोगको महत्वको सम्बन्धमा बृहत छलफल कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख, उप-प्रमुख, जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, सरकारी कर्मचारीहरु, निजी क्षेत्र, नागरिक समाज, शिक्षक, महिला, युवा र विद्यार्थीले नगरपालिको सुदुर भविष्यका लागि आगामी दिनमा अबलम्बन गर्नुपर्ने रणनीति एवं क्रियाकलापका बारेमा बिस्तृत रुपमा छलफल भएको थियो ।

यो लेखकद्वारा प्रस्तुत प्राकृतिक श्रोतमा आधारित दिगो विकास अवधारणाको कार्यपत्र माथि केन्द्रित छलफलमा नगरपालिकाको आगामी आर्थिक वर्षको कार्ययोजनामा प्राकृतिक श्रोत र स्थानीय जनता, खासगरी गरिब, महिला र दलित समुदायको बीचको अन्तरसम्बन्धलाई यथोचित सम्बोधन गर्नका लागि कुल बाषिर्क बजेटको कम्तिमा १०% जैविक बिबिधता तथा प्राकृतिक श्रोतको संरक्षण र दिगो उपयोग, प्रदुषण नियन्त्रण, जलवायु परिवर्तन न्यूनीकरण तथा विपद व्यवस्थापन जस्ता क्रियाकलापमा बिनियोजन गर्ने प्रतिबद्धता नगरका प्रतिनिधिहरुले ब्यक्त गरेका थिए । नगरपालिकाको योजना तर्जुमा प्रक्रियाको पुर्व-सन्ध्यामा आयोजित उक्त कार्यक्रमबाट प्राप्त सुझाबलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको खण्डमा शुक्लागण्डकीको दिगो बिकासको यात्रा सहज हुने बुझाई आम सहभागीको रहेको थियो ।

छलफल कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमा शुक्लागण्डकीको सुदुर भविष्यको लागि दिगो बिकासका बैकल्पिक आधारहरु, अवसरहरु, चुनौती र भाबि रणनीतिलाई समेटिएको थियो । नगरपालिकाको भू-अवस्थिति, भू-बनोट, जैविक बिबिधता, प्राकृतिक श्रोत, सेती जलाधार र नदि प्रणालीको जगमा पर्यटन, व्यपार, वन तथा कृषिजन्य उद्यमको विकास, प्रवर्द्धन तथा बजारीकरण गरी शुक्लागण्डकी नगरपालिकालाई सम्बृद्ध बनाउन सकिने सम्भावनालाई कार्यपत्रमा उल्लेख गरिएको थियो । बाघ र गैंडा जस्ता बिश्वबाटै लोप हुँदै गइराखेका बन्यजन्तुहरुको वासस्थान र समुदायमा आधारित जैविक बिबिधता संरक्षणको नमुना क्षेत्र क्रमशः चितवन राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रको मध्यभाग तथा विश्वमै सु-प्रशिद्ध पर्यटकीय गन्तब्य स्थल लुम्बिनी, चितवन र पोखराको बीचभागमा अवस्थित शुक्लागण्डकी नगरपालिका दिगो पर्यटन बिकासका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो ।

जलाधारमा आधारित एकीकृत बिकास योजना बनाई स्थानीय जनता, निजी क्षेत्र र सरकारी निकायको साझेदारी, समन्वय र सहकार्यलाई सवलिकरण गरी कार्यान्वयन गर्ने, भू-क्षमतामा आधारित भू-उपयोग योजना तयार गरी सो को अधिनमा रही एकीकृत जलाधारको अवधारणामा विकासका गतिबिधी अगाडी बढाउने, समग्र नगरपालिकालाई चार तहमा विभक्त गरी केन्द्रमा ब्यपारिक क्षेत्र, केन्द्र भन्दा बाहिर दोश्रो तहमा आवाश क्षेत्र, तेश्रो तहमा बन सम्पदामा आधारित उद्यम बिकास र सबै भन्दा बाहिर अर्थात चौथो तहमा ग्रामीण वा पर्या-पर्यटनको बिकास गर्न कार्यपत्रले सुझाएको थियो । विषयगत योजनाहरु जस्तै जल जमिन तथा वन संरक्षण तथा दिगो सदुपयोग, यातायात गुरुयोजना, राष्ट्रिय भवन सम्पदा मापदण्ड, पर्यटन योजना, नगर पार्शवचित्र आदि बनाउने र सबैलाई समेट्ने गरी एकीकृत प्राकृतिक श्रोत ऐन बनाई कार्यान्वयन गर्न कार्यपत्रले सुझाएको थियो ।

छलफलका सहभागीहरुका अनुसार शुक्लागण्डकीमा प्राकृतिक श्रोतमा आधारित एकीकृत नमुना बिकास गर्नका लागि थुप्रै चुनौतीहरु रहेका छन् । प्रस्तुत भएका प्रमुख चुनौतिहरुमा :

१) ग्रामीण बस्तिबाट सहरतर्फो बसाइसराइ,
२) अव्यवस्थित बस्ति बिकास तथा सहरीकरण,
३) प्राकृतिक श्रोत खासगरी ढुंगा गुट्टी वालुवा जस्ता खानीजन्य पदार्थको अत्याधिक दोहन,
४) जल, जमिन, हावा तथा ध्वनी प्रदुषण,
५) चितुवा, बाँदर तथा दुम्सी जस्ता बन्यजन्तुहरुबाट मानब तथा कृषिबालीमा दिन प्रतिदिन बढ्दो क्षयीकरण,
६) बन डढेलो तथा जलवायु परिवर्तनका कारण जाने बढी तथा पहिरो,
७) परापुर्वकालदेखि संरक्षण गरिदै आएका पोखरीहरु सुख्दै जानु,
८) प्राकृतिक श्रोतको उत्पादकत्व घट्दै गई मानब स्वास्थ्य तथा अर्थोपार्जनका अवसरहरुको विविधिकरण हुन नसक्नु,
९) गरिब, महिला, तथा सिमान्तकृत समुदायहरु अर्थोपार्जनको अवसरबाट बन्चित हुनु रहेको छ ।

शुक्लागण्डकीको नगरपालिकाको दिगो बिकास सुनिस्चिताताको लागि समुहगत छलफलबाट केही ठोस सुझाबहरु प्रस्तुत भएका थिए । प्रस्तुत भएका सुझाबहरु बुँदागत रुपमा निम्नानुसार रहेका थिए ।

१) समुदायमा आधारित फोहोरमैला व्यवस्थापन पद्दती अबलम्बन गरी फोहोरलाई नगरपालिकाको अर्थोपार्जनको प्रमुख श्रोत बनाउने ।
२) सवारी साधन तथा उद्योगहरुबाट उत्सर्जित फोहोरका कारण जल तथा जमिनमा हुने प्रदुषण न्यूनीकरणका लागि फोहोरको श्रोतमै सुद्धिकरण गर्ने प्राबधान राख्ने,
३) पानीका मुहानहरु संरक्षण गर्ने,
४) वातावरण लाई पूर्वाधार निर्माणको सुरुवाती चरणमै समाहित गर्ने,
५) वातावरणीय अध्ययन प्रतिबेदनको गुणस्तर तथा कार्यान्वयनको सुनिस्चिताताको लागि बाध्यकारी कानुन बनाउने र कार्यान्वयन गर्ने,
६) नदीजन्य पदार्थ जस्तै ढुंगा, गिट्टी र वालुवाको उचित व्यवस्थापन गर्ने,
७) वैज्ञानिक एबं एकीकृत कृषि नीति -कृषक सुचिकृत, उत्पादनमा जोड, बजारीकरण, सित भण्डार, हाट बजार संचालन) अबलम्बन गर्ने,
८) स्थानीय पाठ्यक्रममा वातावरण बिषय समाबेस गर्ने,
९) खुल्ला र्सार्वजनिक स्थल र नदी तटीय क्षेत्रमा फलफुल तथा घाँस खेतीलाई प्रोत्साहन गर्ने,
१०) वातावरणमैत्री क्रियाकलापको प्रभावकारी कार्यान्वयन सुनिस्चिताताको लागि अनुगमन संयन्त्र बनाई परिचालन गर्ने,
११) प्राकृतिक श्रोतमा निर्भर सिमान्तकृत समुदाय लक्षित प्राकृतिक श्रोतमा आधारित रोजगार तथा आयआर्जनको अवसर श्रीजना गर्ने, र
११) वातावरणमैत्री क्रियाकलापको प्रभावकारी कार्यान्वयन सुनिश्चितताको लागि सार्बजनिक तथा निजीक्षेत्रको सहकार्यका साथै स्थानीय, प्रदेश र संघको बीच समन्वय र सहजीकरणमा जोड दिनुपर्ने ।

अन्तमा, प्राकृतिक श्रोतमा आधारित दिगो विकासको आबश्यकता र औचित्यलाई आत्मसाथ गरी नगरपालिकाका जनप्रतिनिधिले आगामी आर्थिक बर्षको बिकास योजनामा जलवायु परिवर्तन, बन व्यवस्थापन, विपद व्यवस्थापन, जस्ता वातावरणमैत्री क्रियाकलापहरुलाई प्राथमिकताका साथ समाहित गर्ने र कुल बार्षिक बजेटको कम्तिमा १०% रकम उक्त क्रियाकलापहरुमा बिनियोजन गर्ने प्रतिबद्धता जाहेर गरेबाट उक्त छलफल फलदायी रहेको अनुभूति भएको थियो । छलफलमा उपलब्ध नगर प्रमुख, उप-प्रमुख लगाएत जनप्रतिनिधिहरुबाट ब्यक्त प्रतिबद्धतालाई कार्यरुप दिनको लागि आगामी दिनमा शुक्ला सरोकार मञ्चको सहजीकरण र समन्वयकारी भूमिका अझ महत्वपूर्ण र निर्णायक हुने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker