सामाजिक संघसंस्थाको सहकार्यबाट प्रदेशलाई समृद्ध बनाउँछौं : मुख्यमन्त्री पोख्रेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सामाजिक संघसंस्थाको सहकार्यबाट प्रदेशलाई प्रदेशलाई समृद्ध बनाइने बताएका छन् । रोटरी क्लब अफ दमौलीको आयोजना र ताइवनका चिकित्सकको सहयोगमा दमौलीमा मंगलबारदेखि सुरु बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सरकारको एकल प्रयासबाट मात्र विकास सम्भव नरहेकाले सबैसँग सहकार्य गरिने बताएका हुन् ।

‘समृद्ध नेपाल : सुखी नेपाली’ नारालाई सार्थक दिन सामाजिक संघसंस्थासँग सहकार्य गर्न प्रदेश सरकार तत्पर रहेको मुख्यमन्त्री पोख्रेलको भनाइ थियो । नेपालको स्वास्थ्य, शिक्षा, खानेपानीलगायत थुप्रै क्षेत्रमा रोटरी क्लबको सहयोग अतुलनीय रहेको बताउँदै मुख्यमन्त्री पोख्रेलले भने, ‘रोटरी क्लबले आयोजना गरेको स्वास्थ्य शिविरले दुइ देशबीचको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

मुख्यमन्त्री पोख्रेलले सदरमुकाममा रहेको दमौली अस्पताललाई एक सय शय्यामा विस्तार गर्न प्रदेश सरकार सहयोगका लागि तयार रहेको बताए ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रोटरी क्लबले स्वास्थ्य, शिक्षा क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको बताए । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, दमौली अस्पतालका अध्यक्ष देवेन्द्र थापा लगायतले दुइ दिने स्वास्थ्य शिविरले ग्रामीण भेगका जनतालाई सेवा दिन सक्नुपर्ने बताए ।

ताइवनका चिकित्सकको सहभागितामा सुरु शिविर बुधबारसम्म चल्नेछ । दमौलीलगायत आसपास जनघनत्व बढ्दै गएको र दमौलीमा सुविधासम्पन्न स्वास्थ्य सेवा नहुँदा सर्वसाधारण पोखरा जानुपर्ने बाध्यता रहेकाले बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष एवं कार्यक्रमका संयोजक रजिनलाल श्रेष्ठले बताए ।

स्वास्थ्य शिविरमा ताइवनबाट आएका २६ जना चिकित्सकले सेवा दिनेछन् । यसका अतिरिक्त दमौली अस्पताल र पोखराबाट आएका चिकित्सकले विशेषज्ञ सेवा प्रदान गर्ने कार्यक्रमका सहसंयोजक एवं क्लबका पूर्वअध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।

शिविरमा दाँतको विशेषज्ञ सेवा, हाडजोर्नी तथा चिकित्सा सेवा, आँखासम्बन्धी विशेषज्ञ चिकित्सा सेवा, स्त्री तथा प्रसूति रोग सेवा, यौनरोग विशेषज्ञ सेवा, प्रयोगशाला परीक्षण सेवा, बालरोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे सेवाका साथै निःशुल्क औषधि वितरण गरिने क्लबले जनाएको छ । शिविर सञ्चालनका लागि व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले आर्थिक सहयोग गर्नेछन् । शिविर सञ्चालनका क्रममा करिब रु १९ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

औषधि वितरणमा रु छ लाख, चिकित्सकको आवासका लागि रु चार लाख, अन्य व्यवस्थापनका लागि रु सात लाख खर्च हुने अनुमान गरिएको छ । दुइ दिने शिविरमा पाँच हजारभन्दा बढीले स्वास्थ्य सेवा लिने लक्ष्य राखिएको छ । ‘दमौलीका अलवा ग्रामीण क्षेत्रबाट पनि सर्वसाधारण स्वास्थ्य सेवा लिन आउनेछन’, क्लबका अध्यक्ष रामलाल श्रेष्ठले बताए ।

यस्तै, रोटरी क्लब अफ ताइवानले व्यास नगरपालिकालाई स्वास्थ्य तथा शैक्षिक सामग्री सहयोग गरेको छ । क्लबले नगरपालिकालाई १२ थान हृविलचियर, शिक्षण सिकाइ सामग्री, स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त सामग्री नगरप्रमुख न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker