दसैँलाई लक्षित गरी टोलमा पुगेर भत्ता वितरण

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो ।

ज्येष्ठ नागरिकलाई सहज रुपमा भत्ता उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले वडाामा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिनुभयो । पालिकाले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्रत्येक वडाको विभिन्न ठाउँमा पुगेर वितरण गरेको उहाँले बताउनुभयो ।

तिमिल्सिनाले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकका कर्मचारी खटिनुभएको छ । यसले गर्दा ज्येष्ठ नागरिकलाई बैंकसम्म आउनुपर्ने बाध्यता हटेको छ ।” ज्येष्ठ नागरिकलाई बजारसम्म झरेर बैंकमा लाइन बसेर भत्ता लिन असहज हुने भएकाले पालिकाले घरटोलबाट वितरण गर्ने अभियानलाई निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी जनताको सेवाका लागि आएका हौँ । जसरी सहज हुन्छ त्यसरी नै सेवामा समर्पित हुने प्रयास गर्दैछौँ ।” ज्येष्ठ नागरिकलाई झन्झटरहित सेवा दिन टोलमा पुगेर भत्ता वितरण गरिएपछि उहाँहरू खुसी हुनुभएको उहाँको भनाइ छ । चुमानले भन्नुभयो, “घरदैलोमा नै पुगेर भत्ता वितरण गर्दा ज्येष्ठ नागरिकको अनुहारमा खुसी देख्दा हामीलाई आनन्द आउँछ ।”

गाउँपालिकाले सबै वडाका टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको छ । अन्तिम दिन शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ को अदुवाखर्क, घोक्रिङ खर्क, सहकारी टोलमा भत्ता वितरण गरिएको छ । त्यस्तै आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुगाउँ, कोटगाउँ, धारापानीमा भत्ता वितरण गरिएको छ ।

वडा नं १ स्थित देवीडाँडा आमा समूहको भवन र समस्तीपुर, वडा नं २ स्थित एक्लेफाँट, पौवा, खोलागाउँ, तिलबारी, नयाँगाउँ, डुम्रीखर्क, ढापटार, नारीघाँट, खानीखोला, ढकालटार, वडा नं ४ स्थित घ्याङ्सिङ, भाँगे, लोप्राङ, अक्लाङ, काफलडाँडा, आमडाँडा, बेसी, खस्राङ, पूर्ववेसी, दुवावेसी, साँखर, बेनीटार, वडा कार्यालय भवन, वडा नं ५ स्थित लाब्दी, भेटेसरा, वडा कार्यालय भवन, घुमाउने, बरालुङबेसी, वडा नं ६ स्थित पर्लुङ, जालभञ्ज्याङ, हिलेखर्क, घलेडाँडा, प्यूघरमा पुगेर भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले विभिन्न बैंकमार्फत ६८ वर्षमाथिका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्ग (क) वर्ग, अशक्त अपाङ्ग (ख) वर्ग, पाँच वर्षमुनिका बालबालिकालाई घरदैलोमा पुगी भत्ता वितरण गर्दै आएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker