चुनावको बेला भ्रम छर्नेहरुसंग सचेत हुनुपर्छ : एमाले गुरुङ
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण गुरुङले चुनावको बेला भ्रम छर्नेहरुसंग सचेत हुनुपर्नेमा जोड दिएका छन् । भिमादको वडा नं. १ र २ का मतदाताहरुसँग विहीबार भेटघाट तथा कोणसभालाई सम्बोधन गर्दै उनले चुनावकाबेला हुने भ्रमप्रति सचेत हुनुपर्ने बताएका हुन् ।
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङले भने, ‘ठूला आश्वासन र योजना लिएर गाउँ पुग्नेहरु काम गर्दैनन् । उनीहरुको ध्यान केबल मतकोलागि मात्र हुन्छ । त्यसैले मंसिर ४ मा न्यायपूर्ण ढंगले मतदान गर्नुहोला । ठूला आवश्वासन र योजना बाड्नेहरुप्रति मतदाताहरु सजग हुनुपर्छ ।’
उनले नेकपा एमालेले जिते मात्र स्थिर सरकार बन्ने प्रष्ट पारे । ‘चुनावअघिनै ५ दल छन्, उनीहरुको भावी प्रधानमन्त्रीको टुंगो छैन’, उनले थपे, ‘निर्वाचनको नतिजापछि सबै भताभुंग हुन्छ ।’ उनले स्थिर सरकार भएमा विगतमा एमाले नेतृत्वको सरकारले जसरी विकास निर्माणले गति लिने बताए ।
यस्तै, तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले प्रदेश सभामा गएर जनताको आवाज सशक्त रुपमा बुलन्द गर्ने बताए । ‘हामी गण्डकी सरकारको नेतृत्व गर्दा गठबन्धनको जस्तो विवाद हुँदैन’, उनले भने, ‘जनताले निर्वाचित गरेर पठाएका हामीलाई जनताकै पक्षमा नीति नियम बनाउछौं ।’
उनले २०७४ को निर्वाचनपछि भएका विकास निर्माण र आगामी गरिने कामको योजनाकासाथ मतदाताकोबीचमा पुगेको प्रष्ट पारे । विहीवार उम्मेदवारहरुले गिद्देभन्ज्याङ, फुलनथान, बन्दिछाप, जौपानी, बोक्सान लगायतका क्षेत्र घरदैलो गरेका थिए ।










