भानु नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगितमा प्रभात मावि च्याम्पियन

भानु : तनहुँको भानु नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता–२०८२ को उपाधि प्रभात माध्यमिक विद्यालय, भानु–६ सिम्पानीले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा प्रभात माविले सरस्वती मावि भानु–१२ घलेछापलाई २५–१६, २५–१८ र २५–१७ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रथम हुने प्रभात माविले रु २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । सोही क्रममा उपविजेता सरस्वती माविले रु २० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा सीमित रह्यो । सहभागी १५ टिममध्ये त्रिभुवन माविले तृतीय स्थान हात पार्दै रु १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी गोठेरी खेलमैदानमा आयोजित शिक्षक तथा कर्मचारी–जनप्रतिनिधि बीचको मैत्रीपूर्ण भलिबल खेलमा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिको संयुक्त टिमले ३–१ को सेटमा शिक्षक टिमलाई पराजित गरेको छ ।
महिला शिक्षक तथा विद्यालयका महिला कर्मचारीबीच भएको २०० मिटर दौडमा जनसहयोगी माविकी रोजिना प्रथम, होरालो माविकी राधिका कुमाल द्वितीय तथा शान्ति आधारभूत विद्यालयकी निरुता विक तृतीय बनेका छन् । विजयीले क्रमशः रु ३,०००, रु २,५०० र रु २,००० पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको पुरस्कार वितरण समारोह नगर खेलकुद विकास समिति संयोजक तथा वडा–३ अध्यक्ष तुलकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा नगर उप–प्रमुख उमा गौतमले पालिकामा खेलकुद पूर्वाधार तथा प्रतिभा विकासका लागि नगरपालिका योजनाबद्ध रूपमा अगाडि बढिरहेको बताइन् ।










