दमौली अस्पताललाई डायलासिस सेवाको स्वामित्व हस्तान्तरण
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालमा सञ्चालन हुँदै आएको शत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्र दमौली अस्पताललाई स्वामित्व हस्तान्तरण गरिएको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रले अस्पताललाई डायलासिस सेवाको स्वामित्व हस्तान्तरण गरेको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा ऋषिकुमार काफ्लेले अस्पतालका अध्यक्ष देवेन्द्र थापालाई डायलासिस सेवा सञ्चालनको स्वामित्व हस्तान्तरण गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका सचिव डा विश्वबन्धु बगाले, राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी उपनिर्देशक तोयानाथ दवाडी, प्रशासन प्रमुख सुमन राउत, सिनियर मेडिकल अफिसर डा कमला थापा लगायतको टोलीले एक कार्यक्रमका बीच दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापा र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा दिवस ढकाललाई डायलासिस सेवा हस्तान्तरण गरेका थिए ।
केन्द्रले उपकरण, कर्मचारीसहित डायलासिस सेन्टर अस्पताललाई हस्तान्तरण गरेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका सचिव डा बगालेले जिल्ला अस्पताललाई १५ शययाबाट वृद्धि गरी मंसिरसम्ममा ५० शययाको बनाउने प्रतिबद्धता जनाएका छन्।
उनले १५ शयया भनेको नगर अस्पताल जस्तो भएको र प्रदेशको अस्पताल सकेसम्म एक सय शययाको नभए पनि ५० शययाको बनाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको हुँदा यसलाई मंसिरभित्र ५० शययाको बनाउने जानकारी गराए ।
डायलासिस तालिम केन्द्र दमौली अस्पताललाई बनाउनुपर्नेमा जोड दिंदै उनले भने, ‘हाम्रो प्रदेशको आवश्यकतामा पर्दछ । त्यो व्यवस्था गर्नेछौँ । राष्ट्रिय मिर्गाैला केन्द्रको सहकार्यमा तालिम केन्द्र बनाउनुपर्छ र तालिम सञ्चालन गर्नुपर्छ ।’
उनले यहाँको समस्या समाधानका लागि प्रदेशले एउटा डायलसिस मेसिन उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थापाले दमौली अस्पताल पोखरा पछि सबैभन्दा धेरै बिरामी आउने अस्पताल भएकाले विशिष्टीकृत सेवा प्रदान गर्न तत्कालै क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले अस्पतालको क्षमता र सेवा विस्तारका लागि गण्डकी प्रदेशको राजधानी पोखरा पछि दोस्रो बढी जनघनत्व रहेको तनहुँमा नगर अस्पतालको जत्तिकै शयया रहेकाले वृद्धि गर्न आवश्यक सहयोग गरिदिन अनुरोध गरे ।
वि.सं. २०७२ मंसिर २ गतेदेखि एक करोड २५ लाख रुपैयाँको लागतमा डायलासिस सेवा दमौली अस्पतालमा सञ्चालनमा ल्याइएको थियो । हाल डायलसिस केन्द्रमा ५७ जना बिरामी उपचाररत रहेको शत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्रका प्रशासन प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए ।
उनका अनुसार मिर्गौला रोगका बिरामीको विसं २०७२ देखि विसं २०७९ कात्तिक २१ गतेसम्म २२८ जनाको ४२ हजार ५८९ पटक डायलासिस गरिएको छ । अस्पतालमा ७० जना मिर्गौलाका बिरामी डायलासिस गर्ने पालोको पर्खाइमा रहेका पण्डितले बताए । दमौली अस्पतालमा डायलासिस उपचार केन्द्र सञ्चालन पश्चात तनहुँ लगायत लमजुङ, गोरखा, कास्की जिल्लाका मिर्गाैलाका बिरामीलाई डायलासिस सेवा लिन सहज भएको छ ।










