लागत अनुसार दूधको मूल्य वृद्धि गर्न माग

भञ्ज्याङ न्यूज

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले लागत अनुसार दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । दूधको लागत मुल्यको तुलनामा बिक्री मुल्य कम भएको भन्दै संघले पत्रकार सम्मेलन गरी दूधको मुल्य बढाउन सरकारसंग माग गरेको हो।

दूधको मुल्य वृद्धि गर्न सरकारलाई पटक पटक अनुरोध गर्दा पनि गम्भिर नभएको बताउँदै केन्द्रीय दुग्ध सहकारी संघ मार्फ कृषि मन्त्रालयलाई मुल्य वृद्धि गर्न फागुन १ गतेसम्म अल्टिमेटम दिईएको संघले जनाएको छ । उक्त समयभित्र सरकारले दूधको मुल्य वृद्धि नगरेमा डेरी उद्योगहरुको समन्वयमा संयुक्त रुपमा मुल्य वृद्धि घोषणा गर्ने संघले चेतावनी दिएको छ ।

आन्दोलनमा जानु अघि केन्द्रीय समितिको आव्हानमा अन्तिम पटक शुक्रवार ६४ जिल्लामा एकैसाथ पत्रकार सम्मेलन मार्फ माग प्रस्तुत गरिएको संघका केन्द्रीय अधयक्ष अम्मर बहादुर कुँवरले बताए । उनले भने, ‘दूधको मुल्य वृद्धि गरी कृषकहरुलाई प्रोत्साहन गर्न सरकार असफल भएमा केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा दुग्ध उत्पादक सहकारी संघ संस्था एवं दुग्ध उत्पादक कृषकहरु आन्दोलित हुनेछन्।’

दूधको मूल्य तत्कालै प्रति लिटर न्युनतम २० रुपैयाँ बृद्धि हुनुपर्ने संघको माग छ । दिइएको समयभित्र मुल्य वृद्धि गर्न पहिला सरकारलाई अवसर दिने र यस पटक पनि विभिन्न बाहनामा भाका सारे चरणबद्ध आन्दोलनमा उत्रने उनले चेतावनी दिए ।

बिगतदेखि राज्यले नै दूधको मुल्य घोषणा गर्दै आइरहेकाले त्यसलाई सम्मान गर्दै यसपटक पनि सरकारबाट किसानका पीडालाई सम्बोधन हुने आशमा पटक-पटक अनुरोध गरिएको बताउँदै अध्यक्ष कुवँरले भने, ‘सरकारले नगरे दूग्ध उत्पादक सहकारीले आफैं मुल्य घोषणा गरी लागु गर्दछ । हामी किसानका उत्पादनलाई सडकमा फालेर नष्ट गर्दैनौं तर सरकारलाई दबाब सिर्जना गर्न आन्दोलन गर्र्छौ ।’

किसानले ४ फ्याट र ८ एसएन एफमा हुँदा दूधको मुल्य मात्र ६४ रुपैयाँ पाउने गरेका छन्। तीन बर्षपहिलेदेखि कायम भएको यो मुल्य हालसम्म पनि यथावत् रहेको बताइएको छ ।

पशुलाई खुवाउने पराल, दाना, चोकर, औषधि लगायतको मूल्य अत्यधिक वृद्धि भएको छ तर दूधको मूल्य वृद्धि नभएका कारण किसान मर्कामा परेको अध्यक्ष कुवँरले बताए। दूधको मूल्य वृद्धि नहुने हो भने दूग्ध क्षेत्र नै धराशायी हुने र डेरी उद्योगीहरूले दूध नपाएर विदेशबाट आयात गर्नपर्ने अवस्था आउन सक्ने भन्दै संघले दूधको मुल्य बढाउन कृषि मन्त्रालयसँग माग गर्दै आएको छ ।

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले यसअघि प्रतिदिन १४ हजार लिटर दूध उत्पादन गर्दै आएकोमा विविध कारणले अहिले ४ हजार ५ सय लिटर मात्र दूध उत्पादन गर्न सकेको सहकारीका व्यवस्थापक राजु भुजेलले बताए । कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा पुग्नु, पशुवस्तु अनुत्पादक रहनु, कृषकहरुले उद्योगबाट समयमा भुक्तानी नपाउनुको कारणले पनि दूध उत्पादनमा ह्रास आएको उनले बताए ।

संघले अघिल्लो आर्थिक वर्ष१७ लाख लिटर दुध उत्पादन गरी १४ करोड आम्दानी गरेको भुजेलले बताए । आम्दानी मध्ये १० करोड उत्पादक किसानहरुले पाएको र संघ अर्न्तर्गत जिल्लामा १५ वटा सहकारी सञ्चालन भइरहेका छन । जसमा १ हजार १५४ जना किसानहरुको आवद्धता रहेको संघले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker