फागुन २१ बाट तनहुँको डुम्रेमा चौथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रेमा यही फागुन २१ गतेबाट चौथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८१ गरिने भएको छ ।
तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाको व्यापारिक केन्द्रका रुपमा रहेको डुम्रे बजारमा आर्थिक मन्दीले व्यवसाय सुस्ताएपछि चलायमान बनाउन महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।
डुम्रे बजार नजिकै भानु नगरपालिका–१ पुलचोकमा तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार एकाइले महोत्सव सञ्चालन गर्न लागेको हो । “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने नारासहित सञ्चालन हुने महोत्सव यही फागुन २१ देखि चैत्र ३ गतेसम्म सञ्चालन गरिने भएको छ ।
कोभिड–१९ पछिको आर्थिक मन्दीले बजारमा व्यापार घट्दै जाँदा व्यावसायी पलायन हुने क्रम बढेको, किसानले उत्पादन गरेको समान बिक्री गर्न समस्या परेको तथा होमस्टेको प्रचारप्रसार नहुँदा पाहुना बढाउन नसकिएकाले चलायमान बनाउन महोत्सवको आयोजना गर्ने निर्णय गरिएको महोत्सवका प्रवक्ता तथा तनहुँ उद्योग वाणिज्य संघका महासचिव सुवोध अधिकारीले बताए ।
उनले भने, ‘‘कोभिड–१९ ले शिथिल बनाएको र हाल आर्थिक मन्दीले व्यावसायी संकटमा परेकाले आर्थिक चलायमान बनाउन महोत्सव गर्ने निर्णय गरेका हौं ।’’
महोत्सवले व्यापार तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन महोत्सवले योगदान दिने बन्दीपुर गाउँपालिका–४ बन्दीपुर केवलकार प्रवेश स्थलमा बिहीबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सवमा व्यापारिक एवं सेवामूलक उद्देश्यका १२५ वटा स्टल राखिने छ । जसमा स्थानीय रैथाने सामग्री र कृषि उत्पादन, शैक्षिक तथा विज्ञान प्रदर्शनीलाई निःशुल्क स्टलको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल समारोह समितिका संयोजक हेमलाल विकेले बताए ।
सामान खरिद बिक्री हुने सांस्कृतिको संरक्षण हुने होटल रेस्टुराँमा आर्थिक कारोबार बढ्ने भएकाले महोत्सवको आयोजना गरिएको महोत्सवका निर्देशक तथा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष घनश्याम देवानले बताए ।
बन्दीपुर गाउँपालिका १ र ४ स्थित डुम्रे तनहुँको मात्रै नभई गोरखा, लमजुङ र मनाङ जिल्लाको समेत व्यापारिक नाका भएकोले यहाँको आर्थिक तथा सामाजिक समुन्नतीमा संगठित रूपमा प्रयत्न गर्न महोत्सव गरिएको उनले बताए ।
कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मभूमिको प्रचार प्रसार गरी पर्यटक भित्र्याउन मद्दत पु¥याउने उद्देश्यले महोत्सव टेवा पुग्ने विश्वास लिइएको बताए ।
बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष पञ्चमाया गुरुङले बन्दीपुर बजार मात्रै नभई बन्दीपुरका ग्रामीण क्षेत्रहरूमा पर्यटकको भुल्ने रमणीय स्थान थुप्रै भएकोले महोत्सवले ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा लिइएको बताइन् । बन्दीपुर केवलकारका रोमनमान श्रेष्ठ यहाँको पर्यटन प्रवर्द्धनका लागि महोत्सव कोशे ढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
महोत्सवले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने उद्देश्य लिएको महोत्सव मुल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार एकाइका अध्यक्ष एवं महोत्सव संयोजक भिकेले बताए । उनका अनुसार महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने छ ।
महोत्सवको स्टल बुकिङ भई सकेको छ । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ ।










