तनहुँमा खोप अभियान : २१ घण्टा पैदल हिडेर गाउँमा खोप
भञ्ज्याङ समाचारदाता/दमौली
कर्णालीको पहिचान पाएको तनहुँको दुर्गम क्षेत्र कोटा, बैदी, छिपछिपेका बासिन्दाले सधै सास्थि झेल्नुपरेको छ । आधारभूत आवश्यकाता समेत सहज रुपमा उपभोग गर्न नपाएका यस क्षेत्रका बासिन्दालाई अहिले बाढीपहिरोले थप दुःख दिएको छ ।
अहिले सरकारले मुलुकभर कोरोना विरुद्धको खोप अभियान चलाएको छ । तनहुँमा पनि ५५ वर्ष माथिका र शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई खोप अभियान चलाइरहेको छ । सरकारले उपलब्ध गराएको खोप सहज रुपमा उपलब्ध गराउन तनहुँका ग्रामीण क्षेत्रमा घण्टौ हिडेर खोप पुर्याउनुपर्ने बाँध्यता छ । ठाउँठाउँमा गएको पहिरोका कारण सावरी साधन चल्न नसक्दा कोरोना विरुद्धको खोप अभियान सञ्चालनमा समेत असहज भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले बताए । उनले भने, ‘देवघाट-२ बैदी र वडा-३ छिपछिपेमा १८ देखि २० घण्टा हिडेर कोरोना भाइरस विरुद्धको खोप पुर्याउनु परेको छ ।’
देवघाट गाउँपालिका-२ बैदीका २६ वर्षीय बाबुराजा मल्ल गाउँगाउँमा कोरोना विरुद्धको खोप पुर्याउने अभियानमा जुटेका छन् । गाउँपालिकामा कार्यालय सहयोगीको रुपमा कार्यरत मल्ल कार्यालयको कामसंगै आवश्यक समयमा बालबालिका, गर्भवती महिलाहरुलाई लगाउने खोप गाउँगाउँमा पुर्याउने गर्छन् । अहिले गाउँपालिकाका वडाक्षेत्रमा खोप पुर्याउन मल्ल व्यस्त छन् । अविरल झरीसंगै आएको बाढीपहिरोका कारण अधिकांश ग्रामीण क्षेत्रका सडकखण्डहरु अवरुद्ध छन् । जसका कारण सवारी साधन मात्र नभई कति ठाउँमा मानिसलाई पैदल यात्रा गर्न समेत मुस्किल छ ।
ठाउँठाउँमा सडक पहिरोले पुरिएर सवारी साधन चल्न नसक्ने अवस्था भएको छ । यो जटिल अवस्थामा कोरोना बिरुद्धको खोप गाउँगाउँमा पुर्याउन मल्ल दिनरात नभनि खटिएका छन् । पहिरोका कारण यातायातका साधान नचलेपछि मल्लले कोल्डबक्समा कोरोना विरुद्धको खोप पिठियुमा बोकेर गाउँगाउँका स्वास्थ्य चौकीहरुमा पुर्याएका छन् । सदरमुकाम दमौली आएर पुनः गाउँ र्फकदा करिव २१ घण्टा पैदल यात्र गरी गाउँमा खोप पुर्याएको उनले सुनाए ।

‘पैदलै बैदीबाट दमौली बजार पुगेर खोप बोकी पुनः गाउँ फर्किएको छु’, उनले भने, ‘बैदीबाट दमौली पुग्न १० घण्टा लाग्यो, पुनः दमौलीबाट खोप बोकेर बैदी आइपुग्न मलाई ११ घण्टा लाग्यो । पहिरो माथीमाथी कोल्डबक्स लिएर हिड्न गाह्रो हुँदो रहेछ ।’
‘गाउँका स्वास्थ्य चौकीमा फ्रिज छैन त्यसैले चैतदेखि यता तीन पटक दमौली पुगेर गाउँमा खोप ल्याएको छु’, उनले भने, ‘सडक अवरुद्ध नहुँदा मास्दीसम्म गाडी चल्थ्यो । सवारी साधान चल्दा ३ घण्टा हिड्नुपर्ने बाटो पहिरोले गर्दा ११ घण्टा हिड्नुपर्ने बाँध्यता छ । हामी ग्रामीण क्षेत्रका बासिन्दाको समस्या कस्ले देख्छ र ?’ पैदल हिडेर नै कार्यलय सहयोगी मल्लले बैदीमा २१० र छिपछिपेमा १७६ मात्रा खोप पुर्याएका छन । उनले भने, ‘यो विषम् परिस्थितिमा जोकोहीले पनि सहयोग गर्नुपर्छ । अझ स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीले जस्तोसुकै परिस्थितिमा पनि काम गर्नुपर्दो रहेछ ।’
तनहुँका दशवटै पालिकामा कोरोना विरुद्धको खोप अभियान सञ्चालन भैरहको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा जाने सडक पहिरोका कारण अवरुद्ध भएकाले समयमै खोप पुर्याउन समस्य आएको छ, यातायातका साधान सहज रुपमा नचलेपनि स्वास्थ्यकर्मीहरुले बोकेरै स्वास्थ्य चौकीसम्म खोप पुर्याउनुभएको छ ।’










