तनहुँको सराङघाट सबस्टेसन उद्घाटन

दुइ वर्षभित्र सबै नेपालीको घरमा विद्युतको पहुँच पुग्छ : कार्यकारी निर्देशक घिसिङ

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको बन्दिपुर गाउँपालिका-६ मा निर्माण गरिएको ३३/११ केभीको सराङघाट सबस्टेसन एक कार्यक्रमका बीच सोमबार उद्घाटन गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुश्वाले संयुक्त रुपमा सबस्टेसनको उद्घाटन गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको सराङघाट सबस्टेसन उद्घाटन गर्दै कार्यकारी निर्देशक घिसिङले करिब दुइ वर्षभित्रमा सबै नेपालीको घरमा विद्युतको पहुँच पुर्‍याउने गरी काम भइरहेको बताए ।

‘सबै नेपालीको घरमा विद्युत् पुर्‍याउने नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा छौं’, उनले भने, ‘यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन्, योसँगै विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौं ।’

उनले विद्युतीकरणमा एसियाली विकास बैंकको ठूलो सहयोग रहेको उल्लेख गर्दै सबस्टेसन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । नेपालले पछिल्लो एक दशकमा विद्युतीकरणमा उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गर्दै नेपाल आवासीय नियोग प्रमुख कुश्वाले भने, ‘विश्वको विद्युत् पहुँचको वाषिर्क बृद्धिदर औसतमा ०.८ प्रतिशत रहेकोमा यसको तुलनामा नेपालको धेरै तिब्र दर अर्थात ४.३ प्रतिशत रहेका छ, विद्युत प्राधिकरणको नेतृत्वमा भइरहेको यो कामको हामी प्रशंसा गर्दछौं ।’ उनले नेपालको पूर्वाधार क्षेत्रमा एडिबीको लगानी निरन्तर रहने बताए ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’ मार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेसन गत महिना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।

आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेसनदेखि बन्दिपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दिपुर गाउँपालिका-५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्‍याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये एक हजार १३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो । आयोजना अन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका-५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेसन यसअघिनै निर्माण सम्पन्न भई सञ्चालित छन् ।

सराङघाट सबस्टेसनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रुपमा विद्युत आपर्ूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको छ । सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दिपुर र देवघाट गाउँपालिकामा विद्युत आपूर्ति भइरहेको छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताहरुले भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति सेवा पाएका छन् ।

दुइ वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५ को मंसिरमा ठेक्का सम्झौता भएको थियो । करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपर्ूण्ा ऋणमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाबाट २२० किलोमिटर फिडर लाइन र ३५० किलोमिटर वितरण लाइन निर्माण गरिएको छ ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सोमबार स्थलगत निरीक्षण गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका अध्यक्षसमेत रहेका घिसिङले जलविद्युत् आयोजनाको हालसम्मको प्रगति विवरणबारे जानकारी लिएका थिए । सो अवसरमा घिसिङले निर्धारित मितिभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे ।

महत्वपूर्ण दातृ निकायको ऋण सहभागितामा निर्माणाधीन आयोजना समयमै सकेर उदाहरण प्रस्तुत गर्नुपर्नेमा घिसिङको भनाइ थियो । उनले भने, ‘महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ ।’

कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरण श्रेष्ठ र आयोजना प्रमुख राजाभाइ शिल्पकारले आयोजनाको प्रगतिबारे जानकारी गराएका थिए । आयोजनाले तीन वटै प्याकेजका कामलाई तीव्रता दिएको छ । आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । सोअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति लगायतका काम भइरहेका छन् ।

आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य केइसी, भारतले गरिरहेको छ। आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले हालसम्म रु १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार खर्च गरेको छ । आयोजनाको प्याकेज १ अन्तर्गत हेडवर्क्स निर्माण कार्यका लागि सोङ दा कर्पोरेशन, भियतनाम, कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो । यो प्याकेजअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डार्इभर्सन सुरुङ १ र २ को निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

बाँधको माथिल्लो भागको स्लोप खन्ने काम अन्तर्गत हालसम्म इलिभेसन तह पाँच सय ४४ मिटरबाट चार सय ८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण कार्य सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ ।

प्याकेज १ अन्तर्गतको कार्य विसं २०८३ जेठ १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएका हालसम्म रु दुइ अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भई समग्र भौतिक र वित्तीय प्रगति क्रमशः १२ दशमलव ६८ र ११ दशमलव ६७ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको प्याकेज २ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेशनसँग विसं २०७५ असोज १५ गते अमेरिकी डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र नेपाली रुपैयाँ रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेदेखि आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

यो प्याकेजअन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत गृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको श्रेष्ठले बताए ।

आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकबाट खन्न सुरु गरिएकामा मंसिर मसान्तसम्म छ सय ८० मिटर खन्ने काम सकिएको छ । आयोजनाको दुइ सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खन्ने कार्य सकिएको छ । प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ वटा टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । २६ वटा टावर जडान कार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ । चौँतीस दशमलव सात किमि प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ ।

प्रशारण लाइन निर्माणको काम २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker